१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १५ बिहीबार १४:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालिकामाई गाउँपालिका : सात वर्षमा एउटा पनि भएन अनलाइन बोलपत्र आह्वान

Read Time : > 1 मिनेट
२०८० चैत १५ बिहीबार १४:३१:००

पर्साको कालिकामाई गाउँपालिकाले अहिलेसम्म कुनै पनि ठेक्का विद्युतीय प्रणाली (इबिडिङ अनलाइन)मार्फत बोलपत्र आह्वान नगरेको पाइएको छ। 

देशमा स्थानीय तह गठन भएको करिब ६ वर्षको अवधिमा कालिकामाईमा अहिलेसम्म एउटा पनि विद्युतीय प्रणाली (इबिडिङ अनलाइन)मार्फत बोलपत्र आह्वान नभएको पाइएको हो। 

कालिकामाईमा आर्थिक वर्ष ०७३/७४ देखि चालू आर्थिक ०८०/८१ को अहिलेसम्म विद्युतीय बोलपत्र प्रणालीमार्फत बोलपत्र आह्वान नभएको अवस्था छ।

पालिकाको वेबसाइटमा अहिलेसम्म फरक–फरक आर्थिक वर्षमा दुईवटा मात्र बोलपत्र आह्वान भएको सूचना अपलोड भएको देखिएको छ। 

पालिकाको वेबसाइटमा आर्थिक वर्ष ०७४/७५ मा लेडिज साइकिल आपूर्तिसम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। याे अवधिमा करिब दुई सय लेडिज साइकल वितरणको लागि बोलपत्र आह्वान भएको छ। 

यस्तै, आर्थिक वर्ष ०७६/७७ मा सौर्य सडक बत्तीका लागि बाेलपत्र आह्वानको सूचना मात्र छ। साे बोलपत्रमा पालिकाको वडाको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न ४९ लाख दुई हजारबराबरको बोलपत्र आव्हान भएको हो। तर, यो बोलपत्र आह्वान भएको सूचना पनि वेबसाइटमा उपलब्ध नभएको अवस्था छ। 

सरकारी वेबसाइटमा पनि सूचना उपलब्ध छैन 

सार्वजनिक खरिद ऐन, २०६३ का अनुसार २० लाखभन्दा माथिको कुनै पनि बोलपत्र आह्वान गर्दा सरकारी वेबसाइटमा हाल्नुपर्ने प्रावधान छ। तर, कालिकामाई गाउँपालिकाले अहिलेसम्म कुनै पनि बोलपत्र आह्वान गर्दा सरकारी वेबसाइटमा नराखेको पाएको छ।

ऐनको खण्ड (ढ३ ) को दफा ५२ मा बमोजिम खरिद सम्झौताका सर्त र सो सम्झौता लागू हुने तरिका उल्लेख गरेको छ। 

बोलपत्र आह्वान : (१) बोलपत्र वा पूर्वयोग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्नेछ र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशन गर्न सकिने उल्लेख छ। 

(२) उपदफा (१) बमोजिमको सूचना केन्द्रीय स्तरको सार्वजनिक निकायको हकमा सो निकाय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख्नुपर्नेछ र जिल्लास्तरीय सार्वजनिक निकायको हकमा त्यस्तो सूचना सो निकाय वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख्न सकिनेछ। 

कालिकामाई गाउँपालिकाको कुनै पनि गतिविधि वेबसाइटमा उपलब्ध नभएको स्थानीय सुजित चौरसियाले बताए। उनका अनुसार सुरुकै समयदेखि पालिकाले आह्वान गर्ने कुनै पनि बोलपत्र न त पालिकाले वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राखेको अहिलेसम्म नदेखिएको उनले बताए। 

अधिकृतको निर्देशनअनुसार मात्र राखिन्छ 

कालिकामाई गाउँपालिकाका सूचना अधिकृत अमितकुमार चौरसियाले पछिल्लो समयमा पालिकामा हुँदै आएको गतिविधिलाई वेबसाइटमा हाल्ने गरेको बताए। 

उनले पालिकाको प्रमुख प्रशासकीय अधिकृतले वेबसाइटमा हाल्नुपर्ने सूचना भनेको वेला मात्र हाल्ने गरेको बताए। पालिकामा हुँदै आएको विभिन्न कार्यको तस्बिर र हाल्नुपर्ने सूचना मात्र अधिकतम मात्रामा हाल्ने गरिएको सूचना अधिकृत चौरसियाले बताए। 

उनका अनुसार पालिकामा अधिकांश विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत हुने गरेकाले खासै सूचना वेबसाइटमा उपलब्ध नभएको अवस्था छ। 

यता पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीलाई सम्पर्क गर्दा हुन सकेन। यही सन्दर्भमा पालिकामा प्रमुख वशिष्टकुमार गुप्तासँग बुझ्न खोज्दा फोन नै उठाएनन्।