१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
झापाको कमल गाउँपालिकास्थित केर्खामा रुख हटाएर सडक विस्तारका लागि ठिक्क पारिएको ठाउँ । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्व–पश्चिम राजमार्ग विस्तार : चार हजार सात सय रुखमध्ये आधा  कटान, प्रत्येक दिन सय रुख काट्ने योजना

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३३:oo

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउन काँकडभिट्टादेखि इटहरीसम्म ठेक्कासमेत लागिसकेको छ । ठेक्का लागेको स्थानको सडकमा पर्ने रूख हटाउने काम भइरहेको हो । 

काँकडभिट्टा–लौकही सडकमध्ये पूर्वी खण्ड काँकडभिट्टादेखि केर्खासम्म र अर्को खण्ड केर्खादेखि लौकहीसम्म छ । जसमध्ये पूर्वी खण्डको काँकडभिट्टा–केर्खासम्मको ४५ किलोमिटर सडकमा पर्ने रूखमध्ये झन्डै ५० प्रतिशत रूख हटाइएको सुनीलबाबु पन्तले जानकारी दिए । उनका अनुसार काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरमा चार हजार सात सय ३० वटा रूख छन्, जसमध्ये करिब ५० प्रतिशत रूख कटान भइसकेको उनले बताए । ‘अहिले तीव्र रूपमा रूख कटानको काम भइरहेको छ,’ उनले भने, ‘प्रत्येक दिन सयभन्दा बढी रूख काट्ने योजना छ । साइड क्लियर भएपछि निर्माणको काम अघि बढ्छ ।’

यस्तै, झापाको कमल गाउँपालिकास्थित केर्खाबाट पश्चिम इटहरीसम्म पनि सडक ठेक्का लागेर सडकमा भएका रूख हटाउने क्रम जारी छ । केर्खादेखि इटहरीसम्मको ५०.७६ किलोमिटरमा ६ हजार ५०८ वटा रूख हटाउनुपर्ने काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत पञ्जापतिले जानकारी दिए । जसमध्ये बुधबारसम्म ५९४ वटा रूख काटिएको उनले बताए । 

बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टामा जोडिने एसियन राजमार्गसँग जोडिएको नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने काम तीन वर्षभित्र सक्ने सडक विभागको योजना छ । सडकलाई स्तरोन्नति गर्दै चार वर्षभित्र काम सक्न ठेक्का लगाएको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ । जसअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । उसले सडकमा पर्ने साना खोलामा पुलसमेत निर्माण गर्नेछ । यस्तै, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ । 

यस्तै, केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि इटहरीसम्मको १०.७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । यस्तै, पश्चिम खण्डमा पर्ने ठूला नदी रतुवा, बक्राह र लोहेन्द्र पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यी सबै ठेक्का १९ अक्टोबर ०२३ मा लागेको छ । सबै ठेक्काको काम तीन वर्षपभित्र सक्नुपर्ने बताइएको छ । 

वन पैदवरमा सामुदायिक वनको दाबी
पूर्व–पश्चिम राजमार्गमा पर्ने रूख कटानपछि सामुदायिक वनले विवाद झिकेका छन् । सामुदायिक वन क्षेत्रमा पर्ने राजमार्गबाट कटान भएको रूख सामुदायिक वनले नै प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन् । अहिले राजमार्गलाई क्लियर गर्दा आएको वन पैदावर डिभिजन वन कार्यालयले लिलामी गर्दै आएको छ । तर, उपभोक्ता समितिले भने आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन् । ‘वनको संरक्षण गर्ने उपभोक्ता समिति अनि प्रयोगचाहिँ सडक डिभिजनले गर्ने, यो त भएन नि !’ सामुदायिक वन उपभोक्ता महासंघ कोशीका अध्यक्ष तुलसी संग्रौलाले भने, ‘राजमार्गबाट निस्किएको वन पैदावर हामीले प्रयोग गर्न पाउनुपर्छ । होइन भने रूख कटान गर्न दिँदैनौँ । सशक्त आन्दोलन गर्छौँ । अदालतसम्म जान्छौँ । हाम्रो उद्देश्य सडक निमार्ण रोक्नुचाहिँ होइन ।’ पूर्व–पश्चिम राजमार्गलाई छुने मोरङमा मात्र १८ वटा सामुदायिक वन रहेको उनले बताए । 

झापामा भने समस्या नरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । उनले झापाको सामुदायिक वन क्षेत्रमा रूख कटान सकिएको बताए । ‘राजमार्गको दायाँ र बायाँ २५–२५ मिटर जमिन ०३४ मा आफ्नो नाममा ल्याइसकेको छ । ०५५ पछि मात्र सामुदायिक वन हस्तान्तरण भएको हो,’ उनले भने, ‘पहिला नै आफ्नो नाममा आएको जग्गामा हकदाबी गर्ने ठाउँमा छैन भनेपछि झापामा समस्या छैन ।’

सामुदायिक वनको अवरोधका कारण काँकडभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा पर्ने मोरङमा रूख कटानमा समस्या आएको काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए । ‘सामुदायिक वन उपभोक्ता समितिले वन पैदावर प्रयोग गर्न पाउनुपर्छ भनेर अवरोध गरिरहनुभएको छ । हामीले वनको विद्यमान ऐनलाई मानेर तीन जिल्लाका लागि झन्डै ६ करोड वन विकास कोषमा जम्मा गरिसकेका छौँ,’ उनले भने, ‘सामुदायिक वन उपभोक्ता समितिले डिभिजन र प्रदेशको वन मन्त्रालयसँग वार्ता गर्नुपर्ने हो । हामीलाई आएर रूख कटान रोकिएन भने जे पनि हुन सक्छ भनेर धम्की दिनुभएको छ ।’

ad
ad