१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२०८० चैत १२ सोमबार ०६:१५:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दलहरू उपनिर्वाचनतिर : त्रिपक्षीय भिडन्तको सम्भावना

४ मंसिर ०७९ को चुनावपछि सत्तासमीकरणमा पटक–पटक भएको हेरफेर र आफ्नो जनाधार सुरक्षित बनाइराख्न पुराना दलहरूमाथि दबाब बढिरहेका वेला हुन लागेको उपनिर्वाचन भविष्यको राजनीतिका लागि संकेत पनि हुन सक्छ

Read Time : > 5 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० चैत १२ सोमबार ०६:१५:००

प्रमुख दलहरू १५ वैशाखका लागि इलाम २ र बझाङ प्रदेश सभा ‘१’ मा तोकिएको उपनिर्वाचनतिर होमिएका छन् । सत्तागठबन्धनबाट संयुक्त उम्मेदवारी नहुने देखिएपछि इलाम २ मा मूलतः एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

निर्वाचन आयोगले २४ चैतमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ । यसको पूर्वसन्ध्यामा प्रमुख दलहरू उम्मेदवार छनोट प्रक्रियामा प्रवेश गरेका छन् । उपनिर्वाचनका लागि एमालेले उम्मेदवारको टुंगो लगाएको छ भने कांग्रेसमा नाम सिफारिस भए पनि निर्णय हुन बाँकी छ । 

सरकारको नेतृत्व गरेको माओवादी र अर्को सत्तारूढ दल जसपाले उम्मेदवारी दिने–नदिने निर्णय लिएका छैनन् । एकीकृत समाजवादीले सोमबार यसबारे निर्णय लिँदै छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै निर्वाचन लड्ने भएको छ । स्वतन्त्र उम्मेदवारी पनि घोषणा भइसकेका छन् । 

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि र बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा ५ असारमा गाडी दुर्घटनामा परी निधन भएपछि सिट रिक्त छ । 

एमालेले इलाम २ को संघीय उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले जितका लागि सुहाङ नै उपयुक्त भएको निष्कर्ष निकाल्दै पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र हुन् । 

गत २६ भदौमा हृदयाघातबाट सुवासको निधन भएपछि इलाम २ रिक्त थियो । पछिल्लो निर्वाचनमा सुवास कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए । सुवासले ३० हजार २० मत प्राप्त गरेका थिए । 

पारिवारिक विरासतसहितका युवा उम्मेदवार अगाडि सारेर एमालेले एकातिर सहानुभूतिको मत बटुल्न खोजेको छ भने अर्कोतर्फ नयाँ दलहरूमाथि पनि दबाब बनाएको छ । एमालेले इलाम २ मा रास्वपाबाहेक सत्तागठबन्धनका अन्य दलको समर्थन जुटाउने प्रयास गर्नेछ । 

बैठकमा ओलीले सुहाङलाई नै उम्मेदवार बनाउँदा उपयुक्त हुने कारणसहित प्रस्ताव राखेका थिए । सुवास नेम्वाङको निधनपछि इलाममा हुन गइरहेको उपनिर्वाचनमा मतदातासँग उनको भावनात्मक सम्बन्ध जोडिएकाले उनका छोरालाई नै उम्मेदवार बनाएर जाँदा पुरानो मत सुरक्षित हुँदा पार्टीको जित सुनिश्चित हुने ओलीले सुहाङको पक्षमा निर्णय गर्न बैठकसमक्ष प्रस्ताव राखेका थिए । 

त्यस्तै, सुहाङ जनजाति उल्लेख्य स्थानको जनजाति पात्र भएकाले सामुदायिक ‘सेन्टिमेन्ट’ले अन्य मत तान्न सक्ने पात्र भएको, नयाँ र युवा पुस्ताको प्रतिनिधि पात्र भएको र अन्य पार्टीको पनि मत तान्न सक्ने पात्र भएकाले निर्णय गर्नु उपयुक्त भएको भन्दै प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई बैठकमा सबैले समर्थन जनाएका थिए । 

उपाध्यक्ष युवराज ज्ञवालीले सिफारिस आएका उम्मेदवारभन्दा सुहाङले जित्ने आधार बलियो देखिएको मूल्यांकनसहित पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । ‘विभन्न कारणले उहाँले जित्ने आधार बलियो देखियो, यसको अर्थ सिफारिसमा रहेका अन्य उम्मेदवार कमजोर भन्ने होइन,’ उनले भने । 

एमालेले उपनिर्वाचन घोषणापछि सुहाङलाई नै उम्मेदवार बनाउने संकेत गरेको थियो । उनलाई राजनीतिमा स्थापित गर्न एक महिनाअघि एमालेले केन्द्रीय कानुन विभागको सदस्य मनोनीत गरेको थियो । त्यस्तै, अध्यक्ष केपी ओलीले गत दसैँमा बालकोटस्थित निवासमै बोलाएर सुहाङसँग लामै भलाकुसरी गरेर तयारी अवस्थामा रहन संकेत गरेका थिए । त्यसयता उनी गृहजिल्ला इलाममा आवतजावत गर्नुका साथै काठमाडौंमा रहेका पार्टीका नेता–कार्यकर्तासँग सम्पर्कमा थिए । 

कानुनमा स्नातक सुहाङ संविधानसभा अध्यक्ष स्वर्गीय सुवासका कान्छा छोरा हुन् । कानुन विषयमा स्नातक ३२ वर्षीय सुहाङ पेसाले वकिल पनि हुन् । उनलाई एमालेले एक महिनाअघि केन्द्रीय कानुन विभाग सदस्य मनोनीत गरेको थियो । कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर नेपालमार्फत उनले वकालत पेसा गर्दै आएका थिए ।

 सुवासको निधनपछि राजनीतिमा आउने रुचि राखेका सुहाङ श्रद्धाञ्जली सभादेखि जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएका थिए । सुवासको पारिवारिक विरासतदेखि नयाँ पुस्ताको सम्म प्रतिनिधित्व गर्ने भएकाले एमालेले उनलाई अगाडि सारेको ठानिएको छ । 

त्यस्तै, बैठकले बझाङ प्रदेश सभा (१) मा पार्टी जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका ऐन महरलाई पुनः केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ । 

मतदाता कति ? 
१० वैशाख ०८० मा सम्पन्न उपनिर्वाचनसम्मको अन्तिम मतदाता नामावलीअनुसार इलाम जिल्लामा दुई लाख २७ हजार मतदाता छन् भने इलाम निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख १६ हजार मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । १५ वैशाख ०८१ मा हुने निर्वाचनको अहिले देशभर मतदाता नामावली अद्यावधिक भइरहेको छ ।

१४ वैशाखसम्म १८ वर्ष पुग्ने मतदाताको विवरण अद्यावधिक हुनेछ । अद्यावधिकको समय ५ चैतसम्म थियो । अहिले अद्यावधिक नामावलीमा त्रुटि भएको भए सच्याउने समय दिइएको छ । २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । ‘अन्तिम नामावली प्रकाशित भएपछि इलाम २ को नयाँ मतदाता विवरण सार्वजनिक हुन्छ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । अद्यावधिक अन्तिम मतदाता नामावली देशभरकै सार्वजनिक हुनेछ । नामावलीमा नाम भएको मतदाता देशभरको जुनसुकै ठाउँको भए पनि योग्यता पुगेमा इलाम २ वा बझाङ प्रदेश सभा १ ‘१’ मा उम्मेदवारी दिन पाउनेछन् । 

 ४ मंसिर ०७९ को निर्वाचनको अंकगणित के थियो ? 
४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार नौ सय ६, रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत प्राप्त गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले एक हजार तीन सय ६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले एक हजार दुइृ सय ७२, जसपाका यामप्रसाद लिम्बू सात सय २४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६ सय ८४, राप्रपाका गणेशप्रसाद दुलालले पाँच सय १० मत प्राप्त गरेका थिए । आयोगको तथ्यांकअनुसार मंसिर ४ को निर्वाचनमा इलाम २ मा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेकामा ६८ हजार नौ सय ५१ मत खसेको थियो । 

बझाङ प्रदेश ‘१’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार एक सय १२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो । यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६, राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन । बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेकोमा ६२ हजार एक सय ७६ मत खसेको थियो । 

अधिकतम लचिलो भएर पनि  ०८४ सम्म समीकरण टिकाउनुपर्छ : ओली 
एमाले केन्द्रीय सचिवालयको आइतबारको बैठकमा अध्यक्ष ओलीले अहिलेको समीकरणलाई अधिकतम लचिलो भएर भए पनि ०८४ को निर्वाचनसम्मै टिकाएर लैजानुपर्ने बताएका थिए । एमालेसहितको पछिल्लो समीकरण भत्काउन विभिन्न शक्तिकेन्द्रहरू लागिरहेकाले सचेततापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै ओलीले त्यस्तो बताएका हुन् ।

‘अहिलेको समीकरण भत्काउन विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्, त्यसैले हामी सचेततापूर्वक अगाडि बढ्नुपर्छ र यो समीकरणलाई अझ फराकिलो र बलियो बनाउँदै हामी अझ लचक बनेर भए पनि २०८४ को निर्वाचनसम्मै टिकाउने गरी लैजानुपर्छ,’ ओलीलाई उद्धृत गर्दै एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘अहिलेको समीकरण एमालेको हितमा छ, देश र जनताको, वामपन्थीहरूको हितमा छ ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा सामेल हुन प्रस्ताव गरेको पनि बैठकलाई ब्रिफिङ गरेका थिए । प्रस्ताव सकारात्मक उद्देश्यले आए पनि एमालेको ध्यान पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेतर्फ नै केन्द्रित हुनुपर्नेमा जोड दिँदै तत्काल त्यस्तो मोर्चामा पार्टी सामेल हुन नसक्ने बताएका थिए । ‘अहिले हाम्रो ध्यान एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनेतिरै केन्द्रित गर्नुपर्छ,’ संवाद र सहकार्य हुँदै जाँदा विश्वासको वातावरण बन्दै जाँदा एउटै मोर्चा बन्ने कुरा बेग्लै कुरा हो,’ बैठकमा ओलीको भनाइ थियो ।

एमालेबाट इलाम २ मा सुहाङ
 सुहाङलाई अघि सार्दा अध्यक्ष ओलीले प्रस्तुत गरेका तर्क

  • इलाम २ का मतदातासँग सुवास नेम्वाङको भावनात्मक सम्बन्ध जोडिएकाले उनका छोरा सुहाङलाई उम्मेदवार बनाउँदा मत सुरक्षित हुन्छ 
  • निर्वाचन क्षेत्रमा जनजाति मतदाता उल्लेख्य रहेकाले सोही समुदायको उम्मेदवार अघि सार्दा सामुदायिक ‘सेन्टिमेन्ट’ले अन्य मत पनि तान्न सक्ने 
  • सुहाङ नयाँ र युवा पुस्ताको प्रतिनिधि पात्र मात्रै होइनन्, अहिलेको अवस्थामा अन्य पार्टीको पनि मत तान्न सक्ने उपयुक्त उम्मेदवार

कांग्रेसबाट इलाममा सातजनाको नाम सिफारिस
कांग्रेसको क्षेत्रीय समितिले सातजनाको नाम सिफारिस गरेको छ । जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, पूर्वसांसद केशव थापा, नेताहरू भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ । केन्द्रले नाम टुंग्याउन बाँकी रहेको र केही दिनमा नाम टुंग्याउने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘क्षेत्रीय कमिटीले सिफारिस गरेको नाम जस्ताको तस्तै जिल्ला कार्यसमितिले केन्द्रमा पठाएको छ ।

पदाधिकारी बैठक बसेर हामी नाम टुंग्याउँछौँ,’ उनले भने । जिल्ला सभापति खड्काको पनि नाम सिफारिस भएकाले क्षेत्रले सिफारिस गरेको नाम जिल्लाले जस्ताको जस्तै केन्द्रमा सिफारिस गरेको उनले बताए । कांग्रेस बझाङ जिल्ला कार्यसमितिले उम्मेदवारका आकांक्षी १० जनाको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको छ । केन्द्रले सकेसम्म सर्वसम्मत र नभए तीनजनाको नाम पठाउन भने पनि सहमति नभएपछि जिल्लाले १० जनाको नाम सिफारिस गरेको हो ।

 रास्वपाबाट इलाममा तीनको दाबी, प्रदेशमा उम्मेदवारी नदिने
संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । केन्द्रमा सत्तागठबन्धनमा रहेको रास्वपाले इलाम २ मा आफ्नै उम्मेदवार उठाउने तयारी गरेको हो । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले १६ चैतमा उम्मेदवारको टुंगो लगाउँदै छ । उम्मेदवारीका लागि तीनजनाले पार्टीमा नाम दर्ता गराएका छन् । तीनमध्ये एकजनालाई पार्टीको केन्द्रीय समितिले उम्मेदवार चुन्नेछ ।

बुर्लाकोटीले दाबेदारको नाम भने खुलाएनन्, १४ चैतमा उनीहरूको नामसहित प्रारम्भिक सूची सार्वजनिक गरिनेछ । 
पार्टी प्रवक्ता डा. मुकुल ढकालले इलाम २ मा योग्यता र कार्यक्षमताका आधारमा आदिवासी जनजाति समुदायबाटै रास्वपाले उम्मेदवार उठाउने बताए ।

‘१६ चैतमा उम्मेदवार टुंगो लाग्छ,’ उनले भने, ‘१७ गते नेताहरू गएर अनुमोदन गर्नुहुन्छ ।’ उनका अनुसार १७ चैतमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सचेतक निशा डाँगीलगायत नेताहरू इलाम पुग्दै छन् । रास्वपाले बझाङ प्रदेश ‘१’ निर्वाचनमा भने भाग नलिने निर्णय गरेको छ ।