१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १० शनिबार १६:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय राजदूतावासमा ५९औँ आइटेक दिवस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १० शनिबार १६:२३:००

काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार ५९औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ। कार्यक्रममा भारतमा विगतमा अध्ययन गरेका संसद् सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाई (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्वनेपाली विद्यार्थी गरी करिब ३०० जना सहभागी थिए।

कार्यक्रममा बोल्दै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए।

सन् २०२३–२०२४ मा नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै उनले नेपालका सरोकारवालाहरूको रुचिलाई ध्यानमा राख्दै आइटेकअन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरू ल्याउन लागिएको जानकारी दिए।

राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अवकाश प्राप्त सचिव दिनेश घिमिरे, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोषकुमार ढकालले आ–आफ्नो आइटेक अनुभव सुनाएका थिए। कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मंडलीले ओडिसी नृत्य प्रस्तुत गरेको थियो।

एम्सका पूर्वविद्यार्थी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव सुनाएका थिए।

सन् २०२३–२०२४ मा नेपालका ४४४ पेसाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूमा विभिन्न कोर्समा तालिम दिइएको छ। जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन आदि विविध विषयमा दुईवर्षे एम.टेक. अध्ययन गर्न नेपाल सरकारका ३० जना इन्जिनियर भारतीय प्रौद्योगिकी संस्थान रुड्कीमा भर्ना भएका छन्।

आइटेकअन्तर्गत नेपालका युवा थिंक ट्यांक-अनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टिफन्स कलेजमा नेबरहुड–फर्स्ट फेलोसिप कार्यक्रममा भाग लिएका थिए। ५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका १५ जना सदस्य, नेपाल पुलिसका १८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्सको व्यवस्था गरिएको थियो।

विगत १५ वर्षमा नेपालका दुई हजारभन्दा बढी अधिकारीलाई आइटेकअन्तर्गत तालिम दिइएको छ। नेपाललगायत १६० भन्दा बढी साझेदार देशहरूलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरूमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरूमा संलग्न गराई आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकाससम्बन्धी विशेषज्ञताको विशाल एवं समृद्ध सञ्जाललाई समेटेको छ।

यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो। यसलाई विश्वभरका दुई लाखभन्दा बढी सरकारी अधिकारी, पेसाकर्मी र वरिष्ठ उद्योग प्रतिनिधिहरूले उपयोग गरेका छन्।