१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ २ बुधबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नौ वर्षपछि नेपाली कन्टेनर खासाको रमिते जाँदै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४१:oo

विनाशकारी भूकम्पको नौ वर्षपछि नेपाली मालवाहक कन्टेनर (भ्यान डब्बा) चीन स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट (खासाको रमिते) प्रवेश गर्न पाउने भएका छन् । नेपाल सरकारले गरेको पटक–पटकको अनुरोधपछि चीन सरकारले खासाको सम्बन्धित निकायलाई पत्राचार गरेर तातोपानी नाकालाई भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्न निर्देशन दिएको हो । 

बेइजिङको निर्देशन पूर्ण कार्यान्वयनमा आउन भने केही महिना लाग्नेछ । सोमबार खासामा भएको उच्चस्तरीय बैठकले नाकालाई थप खुकुलो बनाउने निर्णय गरेको खासामा रहेको ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले नयाँ पत्रिकालाई जानकारी दिए । नेपालका स्थानीय जनप्रतिनिधि, अध्यागमन, प्रहरी, भन्सार र विदेश विभाग हेर्ने जाङ्मुपोर्टका निकाय प्रमुख, ट्रान्सपोर्ट र ट्रेडिङ कम्पनीका प्रतिनिधि सहभागी बैठकले मार्च महिनाको अन्तिमबाट नेपाली कन्टेनर भ्यानलाई खासानजिक रमितेसम्म जान दिने निर्णय गरेका हुन् ।

सिगात्सेबाट आउने १३.७५ मिटर लामो टेलरलाई रमितेको आयात सेन्टरको यार्डमा राखेर नेपाली भ्यानमा सामान पल्टी गर्ने योजना छ । ठाउँ सानो भएकाले नेपाली कन्टेनर प्रवेश समय निश्चित गरिएको छ । दैनिक बढीमा २० वटा गाडी रमिते जानेछन् । चिनियाँ एक टेलरबराबर नेपाली तीन कन्टेनर सामान हुन्छ । नेपाली कन्टेनर रमितेसम्म जाने प्रक्रियामा छलफल जारी रहेको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिए । उनले भने, ‘केही दिनमै हामी सम्बन्धित पक्षबीच बैठक गरेर थप निर्णयमा पुग्नेछौँ ।’

तातोपानी खासा चल्ने कन्टेनर भ्यान भूकम्पपछि सबै रसुवा नाका केरुङमा दर्ता भएका छन् । अब ती गाडीको थर्ड पार्टी इन्ट्री केरुङ–खासा भनेर दर्ता गर्नुपर्नेछ । केरुङमा दुई सय ८१ र तातोपानीमा दुई सय कन्टेनर सञ्चालनमा रहेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा कम्पनी लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए । २० वर्ष पुरानो चार सयवटा भ्यानको डायल नम्बरअनुसार नयाँ कन्टेनर ल्याएर सञ्चालन गर्न आह्वान गरिएको उनले प्रस्ट्याए । खासा जानका लागि दर्ता गरेपछि रमिते पुग्ने नेपाली गाडीले प्रवेश अनुमति पाउँछन् । यसरी दर्ता भएका गाडीलाई रमिते भन्सारको गेटमा प्रवेश दिइन्छ । किनकि, गेट अटो सिस्टममा खुल्ने र बन्द हुन्छ । मितेरी पुलछेउमा रहेको अटो स्क्यानिङ मेसिनमा चेकजाँच गरेपछि नेपालपट्टि कन्टेनर पास हुन्छ । जुन ठाउँ साँघुरो भएकाले सिजनमा क्यु मिलाउन कठिन हुने अवस्था छ । 

रमितेसम्म भ्यान जान पाउने भएपछि नेपाली वस्तुको निकासी पनि बढ्नेछ । खासा, न्यालम र सिगात्सेमा बस्ने चिनियाँ नागरिकले दैनिक आठ हजार युआनसम्मको नेपाली सामान आयात गर्न पाउने नयाँ नियम पनि लागू गरिएको छ । अब खासाका बासिन्दाले अर्डर गरेको सामान तातोपानीबाट निकासी हुनेछ । रमिते क्षेत्रमा होटेल र पसल धमाधम खुल्न थालेका छन् । सीमाक्षेत्र भोटेकोसी र बाह्रबिसेका स्थानीयलाई मध्यनजर गर्दै चीन सरकारले नाकालाई सहज बनाउन लागेको हो ।

ad
ad