सन् १८८३ मा इन्जिनियर जोन अगस्टसले न्युयोर्क सहर र लङ आइल्यान्डलाई एक–आपसमा जोड्ने गरी एक सानदार पुल बनाउने योजना अघि सारे । उनको योजना सफल भएमा त्यो पुल त्यतिवेलासम्म संसारभर बनेका पुलमध्ये भव्य, विशाल र आकर्षक देखिने थियो । जब राज्यका विशेषज्ञसामु उनको त्यो योजना प्रस्तुत गरियो, तब उनीहरूले त्यसलाई असम्भव भन्दै खारेज गरिदिए ।
अगस्टसको अन्तरात्माले भने उनको योजना सही छ र सो पुल बन्न सक्छ भनिरहेको थियो । अगस्टसको योजनामा सबै विपक्षमा थिए भने उनका इन्जिनियर छोरा जोन रोब्लिङ मात्र उनको समर्थनमा थिए । पिता–पुत्र जोडीले एकसाथ एक विस्तृत योजना तयार गरे र आवश्यक टोलीको भर्ती पनि सुरु गरे । उनीहरू सबै आफ्नो उद्देश्य प्राप्तिका लागि तयार थिए । आखिरमा पुल निर्माण सुरु भयो । तर, कार्यस्थलमा भएको एक दुर्घटनामा परेर अगस्टसको मृत्यु भयो । सामान्यतः यस्तो अवस्थामा अरू कोही भएको भए यो योजना स्थगित गर्ने थियो । तर, रोब्लिङले भने जसरी भए पनि पिताको योजनालाई पूर्णता दिइछाड्ने अठोट गरे ।
तर, काम अघि बढ्दै गर्दा दुर्भाग्यवश रोब्लिङ मस्तिष्कघातबाट पीडित भए । उनी स्थिर हुन पुगे । उनी हिँड्न, चल्न, इसारा गर्न र बोल्न नसक्ने भए । यस्तो अवस्थामा पुल निर्माण गर्न नसकिने राय दिने विशेषज्ञको टोलीले दुवै पितापुत्रलाई ‘मूर्ख’को संज्ञा दिए । यस्तो अवस्थामा आफूले केही गर्न नसके पनि रोब्लिङ योजना स्थगित गर्ने पक्षमा थिएनन् । उनी आफ्नो उद्देश्यमा स्पष्ट थिए । उनी अरूसित कुराकानी गर्न पूर्णतः पत्नीमा निर्भर थिए । उनको हातको एउटा औँला मात्र चल्थ्यो । जसको सहायताबाट उनले आफ्ना कुरा अरूलाई बुझाउने ‘कोड’ भाषाको विकास गरे ।
अरूले आफूलाई मूर्ख, पागलजस्ता अनेक नाम दिए पनि उनले हार मानेनन् । रोब्लिङले १३ वर्षसम्म पत्नीलाई निर्देश गरिरहे र पत्नीले अन्य इन्जिनियरलाई उनको निर्देशन बुझाउँदै गइन् । इन्जिनियरहरूले उनको निर्देशनअनुसार काम गर्दै गए र आखिरमा ‘ब्रुकलिन ब्रिज’ यथार्थमै तयार भयो । आज यो पुल एक सानदार र भव्य संरचनाका रूपमा सबैका लागि प्रेरणाको स्रोत बनिरहेको छ । आखिर दृढ अठोट भयो भने यो संसारमा असम्भव भन्ने के नै छ र ?