
रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुसी सेनामा भर्ती भएका नेपाली युवाले स्वदेश फर्किन अनिच्छा देखाएको बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको बताएका हुन् ।
‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,’ राजदूत नोभिकोभले भने ।
भेटमा नेपालको जलविद्युत् र मल कारखानामा रुसी लगानी भित्र्याउन पहल गर्न आग्रह गरेका अर्थमन्त्री पुनले छुट्टै प्रसंगमा द्विपक्षीय सम्झौताविना नै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए ।
उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरेका थिए । यस्तै, उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराएका थिए ।
‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तैपनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु,’ मन्त्री पुनले भनेका थिए ।
जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको तथा रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क गर्दै भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको बताएका थिए ।