
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको बुटवल–नारायणगढ सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामाग्री ल्याउने शिवम् सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ । एनएल०१ एएच ५१७९ नम्बरको भारतीय हेवी ट्रकमा क्षमताभन्दा बढी भार बोकाएर सामग्री ल्याएको कारण पुल भाँचिएको भन्दै शिवम् सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको हो ।
शिवम् सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन ईन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए ।
शिवम सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको उनले जानकारी दिए । गत २६ पुसमा गह्रौं भारसहितको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।
पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराएको सडक डिभिजन भरतपुरका ईन्जिनियर आषिश नेपालले जानकारी दिए ।
क्षतिपूर्ति तिरेसँगै अबदेखि पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको नेपालले जानकारी दिए । ८६ लाखले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम् सिमेन्ट सस्तोमा परेको छानबिन समितिका संयोजक पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको उनको भनाइ छ ।