मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ६ मंगलबार १६:३१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा डोजर आतंक : निर्माण व्यावसायीको मनलाग्दी ,अनुमति लिँदैनन् र सूचना दिदैनन्

पछिल्ला बर्ष दुई बिद्यार्थी सहित थुप्रैले ज्यान गुमाए

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार १६:३१:oo

आइतबार स्कुल हिडेकी इस्मा गाउँपालिका–२ की ८ बर्षीया बिष्णु कुमाल पुग्नै पाइनन् । परिवार शोकमा छ । कुमाल परिवारमा फक्रिदै गरेको एउटा मुना डोजरले पल्टाएको ढुङ्गाले बिचमै चुडेर लग्यो । गरिवको बोल्दिने कोहि छैनन् । गाउँमा कमाईखाएको गरिव परिवारमा परेको बज्रपात पैसामा थामथुम भएको छ । १० लाख २५ हजारमा मिलापत्र भएपछि बालिकाको अत्येष्टी गरियो । कुरा एउटा बालिका, डोजर र निर्माण व्यावसायीको मात्र रहेन् ।

देशको राज्य संयन्त्र, विकास निर्माण प्रक्रिया र सामाजिक मनोबृतिको हो । बिद्यालय हिडेको एउटा निर्दोष बिद्यार्थी बाटोमै ठहर्रै पर्छ । बिद्यार्थीले झोलाभरि सपना बोकेर बिद्यालय जाँदा बाटोमै ज्यान गुमाउन परेको इस्माको बिष्णु कुमाल पहिलो पात्र होइनन् । दुई बर्ष पहिले मुसिकोट नगरपालिका–२ का १४ बर्षीया गगन रायमाझीले झोला बोकेर घरबाट बिद्यालय निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर ज्यान गुमाए । उनले मुिसकोट नगरपालिका–३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे ।

घटनाले आमा कल्पना रायमाझी मुर्छा परिन् । हुर्केको एक्लो छोरा गुमाउँदा बुबा हरि बहादुर रायमाझी बिक्षिप्त बने । घटनाले सिंङ्गो बिद्यालय शोकमा डुब्यो । यो घटनाले सिकाएन । बरु त्यहि बिडम्बना दोहोरिएको छ । 

सडक निर्माणको क्रममा निर्माण व्यावसायीको लापरबाहीको कारण थुप्रैले ज्यान गुमाएका छन् । गत ३ पुस ०७७ मा चन्द्रकोट गाउँपालिका–८ की ५ बर्षीया जस्मिन कुमालको पनि डोजरले फालेको ढुङ्गाले लागेर ज्यान गयो । घरमै खेल्दै गरेकी कुमालको लु १ क २३६२ नम्बरको डोजरले पल्टाएको ढुङ्गाले लागेपछि ज्यान गएको थियो । त्यस्तै १२ कार्तिक ०७७ मा धुर्कोट गाउँपालिका ३ की ४१ बर्षीया सेक कुमारी मुखियाको पनि डोजरले पल्टाएको ढुङ्गाले लागेर ज्यान गएको थियो ।

घाँस काट्दै गरेकी मुखियालाई लु १ क १३०३ नम्बरको डोजरले पल्टाएको ढुङ्गाले लागेर मृत्यु भएको थियो । ०७४ कार्तिका मुसिकोट–४ का भूमिश्वर अर्यालको जेसिबीले पल्टाएको ढुङ्गाले लागेर मृत्यु भएको थियो । ०७४ सालमै रेसुंगा नगरपालिका–४ का राम बहादुर दर्लामीको पनि जेसिबीले पल्टाएको ढुङ्गाले लागेर ज्यान गएको थियो । 

जिल्लामा निर्माण व्यावसायीको निकै मनलाग्दी छ । नियमन गर्ने निकाय उसकै पक्षमा लुतपुत गर्ने प्रवृतिको कारण घटना दोहोरिदै आएका छन् । आइतबार छल्दी–ठाढुङ्गा सडकमा पनि बिद्यालय हिड्ने समयमा डोजर चलेको थियो । बिद्यार्थी बिद्यालय आउ–जाउ गर्ने समय आफैमा संवेदनशिल हो । तर, त्यसलाई निर्माण व्यावसायीले बेवास्था गर्छन् । छल्दी–ठाढुङ्गा सडकमा काम भइरहेको बारेमा जिल्ला प्रशासन कार्यालयमा कुनै जानकारी छैन् ।

आफुहरुसंग समन्वय गर्ने निर्माण व्यावसायीलाई सार्वजनिक सूचनामा अनिवार्य गर्ने गरिएको भएपनि छल्दी–ठाढुङ्गा सडकको बारेमा कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरेले बताए । उनले पछिल्लो समय अनुमति र सूचनामा निर्माण व्यावसायी चुकेको बताए । आफुहरुले बाटोको बिकल्प दिएर, ठूलो जोखिम भएमा मात्र सडक बन्दको अनुमति दिने गरेको बताउँदै गैरेले निर्माण व्यावसायीले कामको बारेमा स्थानीय स्तरमा समन्वय र सूचना गर्नु अनिवार्य रहेको बताए । 

निर्माण व्यावसायीले स्थानीय पालिकासंग पनि समन्वय गर्दैनन् ,सूचना दिदैनन् । तर, अप्ठ्यारो परे मात्रै हार गुहार गर्ने इस्मा गाउँपालिका–२ का वडाध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए । उनले छल्दी–ठाढुङ्गा सडकमा काम भइरहेको बिषयमा योजना कार्यान्वयन गर्ने पाल्पा सडक वा निर्माण व्यावसायी कसैले समन्वय वा सूचना नगरेको आचार्यले बताए । उनले योजनाको होर्डिङ्ग बोर्ड समेत नभएको गुनासो गरे ।

छल्दी–ठाढुङ्गा सडकमा मात्रै नभएर ठूलो योजनाका काम गर्ने निर्माण व्यावसायी र कार्यालयले स्थानीय तहलाई कुनै समन्वय नगर्ने बताए । ‘बिहान कुहिरोमा बिना सूचना ढुङ्गामाटो पालियो । तर, कुनै सचेतनाको काम भएन,’उनले भने,‘सूचना र समन्वयका कुरै नगरौ ।’ छल्दी–ठाढुङ्गा सडक निर्माण गरिरहेका निर्माण व्यावसायी हरि कुमार श्रेष्ठले दुर्घटना प्रति दुख व्यक्त गर्दै स्थानीयको अवरोध र सडकको डिलमा माटो फाल्न लगाएको बाध्यताको कारण ढुङ्गा पल्टिएर बालिकाको ज्यान गएको बताए । आफुहरुले समन्वय गर्दा गर्दै बालिकाको ज्यान गएको बताउँदै श्रेष्ठले आफुहरुको लापरबाही नभएको दावी गरे । 

सडक डिभिजन कार्यालय पाल्पा मार्फत इस्मा गाउँपालिका–२ को छल्दीदेखि ठाढुङ्गा जोड्ने सकड कालोपत्रे गर्न रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभीले ०७९ साल बैशाख २६ गते सम्झौता गरेको थियो । पहिलो म्याद आगामी बैशाख २५ मा सकिन्छ । समयमै सडक निर्माणको काम नहुँदा आइतबार बालिकाले ज्यान समेत गुमाइन् । तर, निर्माण व्यावसायीले ३१ प्रतिशत काम मात्रै सकेको योजना कार्यान्वयन गरिरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर राजेश अधिकारीले जानकारी दिए । निर्माण व्यावसायीले बजेट अभाव देखाएर काम नगर्ने गरेका छन् । तर, इन्जिनीयर अधिकारीका अनुसार यो बर्ष साढे तीन करोड बजेट रहेको छ ।

निर्माण व्यावसायीले समयमै काम नसकेपछि सार्वजनिक खरिद नियमावली अनुसार ०८२ कार्तिक १० सम्म म्याद थप गरेको कार्यालयले जनाएको छ । यो सडक कालोपत्रेको लागि २४ करोड ७२ लाख ६८ हजार रुपैयाँमा सम्झौता भएको थियो । समयमै सडक निर्माण नुहँदा बर्षातमा पहिरो र हिउँदमा धुलोको सास्ती स्थानीयले खेपेका छन् । बस्ती माथिबाट निर्माण गरिएको सडकको काम समयमै नहुँदा बर्षातमा घर र बारीहरु पुर्ने गरेको स्थानीय युवा अमित कुवंरले बताए । बर्षातमा थुप्रै घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।