मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ६ मंगलबार o६:२६:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बलात्कारपछि जनप्रतिनिधिकै रोहवरमा मिलापत्रको प्रयास, मृत्युपछि जाहेरी फेर्न प्रहरीको दबाब

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार o६:२६:oo

सामूहिक बलात्कारपछि किशोरीको शंकास्पद मृत्यु प्रकरण

सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्युजस्तो गम्भीर घटना दबाउन जनप्रतिनिधि र प्रहरी नै लागेको खुलेको छ । रिंकुलाई २७ माघमा घरबाटै अपहरण गरी तीन युवकले सामूहिक बलात्कार गरेको जघन्य अपराधलाई आर्थिक लेनदेनमा मिलाउन वडासदस्य नथुनी साहको रोहवरमा गाउँ पञ्चायत बसेको तथ्य बाहिरिएको छ । त्यस्तै, त्यहीबिचमा किशोरीको शंकास्पद मृत्यु भएपछि पीडित परिवार न्यायिक प्रक्रियामा जाँदा प्रहरीले दुईपटकसम्म जाहेरी फेर्न दबाब दिएर मुद्दा कमजोर बनाएको पनि सार्वजनिक भएको छ । 

पीडित किशोरीले स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेको सम्बन्धमा २८ माघमा आमा सीतादेवीलाई सुनाएपछि घटना बाहिरिएको थियो । श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले सीतादेवीले जेठाजु (रिंकुका ठुलाबा) रामसेवक सदायलाई भनिन् । रामसेवकले न्यायका लागि गाउँमा हारगुहार गरे । वडासदस्य नथुनी साहले पनि घटनाबारे थाहा पाए । तर, अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भूमिका खेल्नुपर्ने जनप्रतिनिधि साहकै रोहवरमा २९ माघमा पञ्चायत बसेर आर्थिक लेनदेनमा घटना सामसुम पार्ने प्रयास भयो । वडासदस्य नथुनीसहित ३०–३५ जनाको उपस्थितिमा बसेको पञ्चायतमा पीडित पक्षबाट किशोरी रिंकु, आमा सीतादेवी र ठुलाबा रामसेवक सहभागी थिए ।

रामसेवकले त्यस दिन बसेको पञ्चायतका निर्णयबारे भने, ‘२९ माघको दिउँसो छिमेकी सुरेन्द्र दासको घरमा वडासदस्य नथुनी साह, स्थानीय अगुवाहरू रामप्रित साह, रामकृपाल मण्डल, रामपुकार मण्डलसहित करिब ३०–३५ जनाको उपस्थितिमा पञ्चायत बस्यो । त्यहाँ छोरी (रिंकु)ले आफूमाथि तीनजना (रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल)ले राति शौच गर्न निस्किएका वेला अपहरण गरेर गाउँबाहिर पु¥याई बलात्कार गरेको घटना सुनाएपछि पञ्चहरूले रूपेशलाई एक लाख ५० हजार तिर्नुपर्ने निर्णय सुनाए । त्यसपछि रूपेशका बुबा देवो मण्डलले रकम बढी भयो, १० हजार छाडिदिनुप¥यो भने । त्यहाँबाट पञ्चहरू हिँडेपछि अगुवा रामपुकार मण्डलले बुहारी (सीतादेवी)लाई जरिवाना रकम पाएपछि आफूलाई ५० हजार दिनुपर्ने, नत्र जे पनि हुन सक्ने भन्दै धम्क्याए छन् ।’ 

रिंकुले बलात्कारमा तीनजना संलग्न रहेको नामै किटेर पञ्चायतमा सुनाएकी थिइन् । तर, रूपेशलाई मात्रै जरिवाना तोकेकोमा उनका बुबा देवो असन्तुष्ट थिए । उनले ३० माघमा फेरि गाउँमै पञ्चायत राखे । बिहानै पीडितको घरमा पुगेर ‘मैले पञ्चायत राखेको छु, केटीले पनि बयान दिनुपर्छ, कतै नपठाउनू’ भन्दै खबर पनि गरेका थिए । तर, उक्त पञ्चायतमा रिंकु गइनन् । पीडित पक्षबाट रामसेवक र सीताकुमारी मात्र उपस्थित थिए । देवोले घटनामा संलग्न तीनैजनाले रकम तिर्नुपर्ने माग गरे । त्यसपछि घटनामा संलग्न युवकका परिवारबिच नै कुटाकुट भएको र पञ्चहरू त्यत्तिकै उठेर हिँडेको रामसेवकले बताए । 

आर्थिक लेनदेन गरेर अपराध सामसुम पार्न खोज्दै गर्दा विक्षिप्त बनेकी रिंकु त्यसै दिन साँझ घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् । ‘रकम कसले तिर्ने भनेर पञ्चायतमा कुटाकुट हुँदा छोरी घरमै थिइन् । पञ्चायतबाट बुहारी घर फर्किँदा दुवै कोठाको ढोका बन्द रहेछ, ढोका खोल्दा छोरी झुन्डिरहेको देखेपछि अत्तालिएर हारगुहार गरिछिन्, त्यतिवेलासम्म छोरीले प्राण त्यागिसकेकी रहिछिन्,’ रामसेवकले भने । 

रिंकुले समाजको अन्याय सहन नसकेर आत्महत्या गरिन् या घरमा कोही नभएका वेला उनको हत्या भयो भन्ने अनुसन्धानको विषय हो । तर, प्रहरीले नै यो जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिन खोजेको छ । पीडितले चारजनाविरुद्ध किटानी जाहेरी दिएकामा दुईपटकसम्म जाहेरी सच्याउन लगाएर अन्तिममा आफैँले भनेअनुसार जाहेरी दिन लगाएर एकजनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी मात्रै दर्ता गरेको छ ।

बलात्कारमा परेकी छोरीको शंकास्पद मृत्युसमेत भएपछि विक्षिप्त बनेकी बुहारी सीतादेवीलाई लिएर रामसेवक १ फागुनमा किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय, लहान पुगेका थिए । सामूहिक बलात्कारको आरोप लागेका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल तथा पञ्चायतपछि कमिसन मागेर धम्क्याउने रामपुकारविरुद्ध सीतादेवीले जाहेरी दिइन् । तर, मुद्दा फाँटमा रहेका हवल्दार जयकृष्ण कुर्मीले चारजनाविरुद्धको जाहेरी हुँदैन, दुईजनाको नाममा मात्रै दिनु भनेर सच्याउन लगाएको रामसेवकले बताए । त्यसपछि, रूपेश र रामपुकारको नाम मात्र राखेर जाहेरी दिँदा फेरि पनि दर्ता नगरेको र हवल्दार कुर्मी नै लेखापढी फर्ममा बसेर रूपेशको नाममा मात्रै, त्यो पनि आत्महत्या दुरुत्साहन आरोपमा जाहेरी लेख्न लगाएको उनको गुनासो छ ।

‘सामूहिक बलात्कारमा रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल तथा पञ्चायतपछि कमिसन मागेर धम्क्याएकोमा रामपुकारविरुद्ध सीतादेवीले जाहेरी दिइन् । तर, चारजनाविरुद्धको मुद्दा कमजोर हुन्छ, दुईजनाको मात्र दिनु भनेर मुद्दा फाँटमा रहेका हवल्दार जयकृष्ण कुर्मीले भने । त्यसपछि जाहेरी सच्याएर बलात्कारमा रूपेश र धाकधम्कीमा रामपुकारको नाम राखेर दियौँ,’ रामसेवकले भने, ‘तर, कुर्मीले यसलाई पनि फेरि सच्याउन लगाए । आफैँ लेखापढी फर्ममा बसेर रूपेशको नाममा मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लेख्न लगाएर दर्ता गरे ।’ 

जघन्य अपराधलाई सामसुम पार्न खोजेको विषय सञ्चारमाध्यममा आएपछि जिल्ला प्रहरी कार्यालय सिराहाले चासो दिएको छ । तर, घटनामा संलग्न तीन युवा अहिले पनि फरार छन् । कार्यालयका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले सामूहिक बलात्कार, त्यस विषयमा बसेको गाउँ पञ्चायत, जरिवाना र पीडितको आत्महत्यासम्मको घटना सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयबाट आएको टोलीसहित आफूहरू फिल्डमा पुगेर अनुसन्धान गरिरहेको बताए । 

‘गाउँ पुगेर आइतबार पीडित पक्षलाई पूरक जाहेरी दिन आग्रह गरिएको छ । कुनै कारणले जाहेरी नदिए पोस्टमार्टम रिपोर्टअनुसार अनुसन्धान त हुन्छ नै, त्यसबाहेक पत्रपत्रिकामा आएका समाचारको आधारमा पनि सूक्ष्म अनुसन्धान गरी घटनामा संलग्न जो–जो दोषी छन्, कारबाही गर्छौँ भन्ने कुरामा प्रतिबद्ध छौँ,’ उनले भने, ‘गाउँमा पञ्चायती भएको विषयमा मान्छेहरू प्रहरीसँग खुलेर कुरा गर्न डराइरहेका छन् । प्रहरीले जाहेरी फेर्न लगाएको विषय पीडित पक्षले उठायो भने त्यसमा पनि विभागीय छानबिन गर्छौँ ।’

सिराहा घटनामा प्रशासनले आँखा चिम्लिएकोमा सांसदहरूको आपत्ति, दोषीलाई कडा कारबाहीको माग
सिराहामा १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्यु घटनामा अनुसन्धान र दोषीमाथि कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन् । सामूहिक बलात्कारजस्तो जघन्य अपराधलाई पनि पञ्चायत बसेर मिलापत्र गराइएकोमा पनि सांसदहरूले विरोध जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा जसपा सांसद वीरेन्द्रप्रसाद महतोले रिंकुकुमारीको सामूहिक बलात्कारपछि मृत्यु घटनामा संलग्नलाई कारबाहीको माग गरे । ‘न्याय नपाएको कारणले पीडित रिंकुकुमारीले घरमै आत्महत्या गर्नुपरेको छ । यस्तो जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मूकदर्शक भएर बस्न मिल्छ ?’ महतोले सोधे, ‘अझ यस्तो संवेदनशील घटनामा पनि स्थानीय पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख लिने सहमति भएको कुरा बाहिरिएको छ । जघन्य अपराधमा संलग्न दोषीमाथि कडाभन्दा कडा कारबाही होस् ।’

जघन्य अपराध हुँदा पनि सिराहामा प्रहरीले जाहेरी दरखास्त नलिएको भन्दै एमाले सांसद सम्झना थपलियाले पीडकलाई तुरुन्तै कानुनी कठघरामा ल्याउन माग गरिन् । ‘बलात्कार गर्ने, अपराध ढाकछोप गर्न पञ्चायत बस्ने र आत्महत्या गर्न दुरुत्साहन गर्ने कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । पीडित परिवारलाई पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जाहेरी दरखास्त लिने भनेर प्रहरीले फर्काएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म प्रहरी मौन र निष्क्रिय छ । म गृहमन्त्री र प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु– यस्ता जघन्य अपराधमा संलग्न अपराधी गाउँमा निर्धक्क हिँडिरहेका छन् । सरकार टुलुटुलु हेरेर बसिरहेको छ । पीडकलाई तुरुन्तै कानुनी कठघरामा ल्याई सजाय दिइयोस् ।’