१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ७ बुधबार ०९:०९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ७ बुधबार ०९:०९:००

विशेष अदालतले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ । अध्यक्ष न्यौपानेमाथि कसुर कायम गरे पनि यसै मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पाँच महिनाअघि दायर मुद्दामा यस्तो फैसला गरेको हो ।

विशेष अदालतले न्यौपानेमाथि कसुर कायम गर्दै सजाय निर्धारणका लागि १५ चैतको पेसी तोकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्दै न्यौपाने र नेपालमाथि अनुसन्धान सुरु गरेको थियो । जसपछि दुवैले सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित यसै वर्ष १३ कात्तिक उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो ।

विभागले रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष पदमा रहँदा न्यौपाने र नेपाल मिलेर करोेडौँ रकम ‘इन्साइडर ट्रेडिङ’बाट कमाएको खुलेको थियो । न्यौपानेले उक्त कम्पनीको सेयर खरिद–बिक्री गरेको भेटिएको थियो । अर्का प्रतिवादी नेपालले भने यस कार्यमा न्यौपानेलाई सहयोग गरेको दाबी विभागको थियो । उनीहरू दुवैको मिलेमतोमा १९ चैत ०७७ देखि २४ साउन ०७८ सम्म सेयर खरिद–बिक्रीबाट अवैध आय गरेको भेटिएको थियो । यस क्रममा एक करोड ९९ लाख रुपैयाँभन्दा बढी आर्जन गरेको दाबी विभागले गरेको थियो । 

नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै न्यौपानेमाथि कारबाहीसमेत गरेको थियो । बोर्डको अनुसन्धानले आरोप पुष्टि भएपछि न्यौपानेलाई १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीमा सञ्चालक हुन नपाउने गरी कारबाही गरेको थियो । मंसिर ०७९ मा निर्णय गर्दै बोर्डले न्यौपानेलाई ७५ हजार रुपैयाँ जरिवाना हुनेसमेत जनाएको थियो । न्यौपानेमाथि इन्साइडर ट्रेडिङको अभियोगमा जिल्ला अदालत काठमाडौंमा समेत मुद्दा विचाराधीन छ ।

व्यापारी नरेश अग्रवालसहित चारविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
सम्पत्ति शुद्धीकरण गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चारजनाविरुद्ध मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीलाई प्रतिवादी कायम गरेर मंगलबार मुद्दा दायर गरेको हो । गैरकानुनी स्रोत रूपान्तरण र हस्तान्तरण गरेको, निषेधित कसुरबाट प्राप्त रकमको कारोबार गरेको देखिएको विभागको आरोप छ ।

कसुरबाट आर्जित सम्पत्ति विभिन्न व्यक्तिमार्फत बैंक खाता तथा नगदसमेत प्राप्ति गरेको, बैंक खातामा जम्मा र खर्च गरेको, मौज्दात राखेको र त्यसबाट लाभसमेत लिएर प्रयोग गरेको देखिएको विभागको दाबी छ । सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने र प्राप्ति एवं प्रयोगसमेत गरी गराई सम्पत्ति शुद्धीकरण गरेको ठहर विभागको छ ।

विभागले यस प्रकरणका प्रमुख नरेश अग्रवालविरुद्ध आठ करोड ३२ लाख ८५ हजार रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, दीपक शाह ठकुरीविरुद्ध आठ करोड ८२ लाख ३९ हजार ५६५, दिवस कार्कीविरुद्ध सात करोड १२ लाख २० हजार २९२ र मनमोहन साह कलवारविरुद्ध तीन करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो दाबी गरेको छ ।