१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० चैत ७ बुधबार ०७:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तत्काल पाठ्यपुस्तक ढुवानी गर्न जनक शिक्षालाई मन्त्रालयको निर्देशन : अझै १४ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० चैत ७ बुधबार ०७:१६:००

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पाठ्यपुस्तक ढुवानी गर्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । यसअघि १५ चैतदेखि ढुवानी गर्नुपर्ने तालिका तयार पारिएको थियो । तर, पाठ्यपुस्तक सम्बन्धित स्थानीय तह तथा विद्यालयमा पुग्न समय लाग्ने भन्दै मन्त्रालयले मंगलबार पत्र काट्दै केन्द्रलाई तत्काल पाठ्यपुस्तक ढुवानी थाल्न निर्देशन दिएको हो । 

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार ढुवानी गर्न समय लाग्ने र दुर्गम क्षेत्रमा ढुवानीमा थप समय लाग्ने भएकाले तत्कालै ढुवानी सुरु गर्न निर्देशन दिएको हो । ‘नयाँ शैक्षिक सत्र सुरु हुन धेरै समय छैन, अझै पाठ्यपुस्तक छाप्न बाँकी छ, पालिका–पालिकामा पुर्‍याउन समय पनि लाग्छ,’ उनले भने, ‘सोही कारण ढुवानी छिटो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरेका हौँ ।’ उनका अनुसार पुरानो समय तालिकाअनुसार १५ चैतदेखि पाठ्यपुस्तक ढुवानी गरिने योजना थियो । तर, त्यसरी ढुवानी गर्दा कतिपय स्थानमा ढिलो पाठ्यपुस्तक पुग्ने भएकाले तत्काल वितरण गर्न निर्देशन दिइएको छ । 
मन्त्रालयले निर्देशन दिए पनि कक्षा पाँचको केही पाठ्यपुस्तक छापिन भने अझै बाँकी छ । मन्त्रालयका सचिव अधिकारीका अनुसार १४ लाख पाठ्यपुस्तक छापिन बाँकी छ भने केन्द्रले दैनिक एक लाख प्रति छापिरहेको जनाएको छ । तर, अब ढुवानी थाल्दै गर्दा चैत महिनाभरि सबैतिर पाठ्यपुस्तक पुगिसक्ने मन्त्रालयले जनाएको छ । जनक शिक्षाले स्थानीय तहहरूमा पाठयपुस्तक पु¥याउनेछ । यसपटक १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक निजी छापाखाना र त्यसभन्दा माथिल्लो तहको पाठयपुस्तक जनक शिक्षालाई छाप्न जिम्मा दिइएको थियो ।

पाठ्यपुस्तक छपाइमा साढे दुई अर्ब
मन्त्रालयको निर्देशनपछि पाठ्यक्रम विकास केन्द्रले पनि जनक शिक्षा सामग्री केन्द्रलाई पाठ्यपुस्तक छपाइमा तीव्रता दिन र ढुवानी गर्न निर्देशन दिएको छ । यस वर्ष १ देखि १२ कक्षासम्मको पुस्तक छपाइमा साढे दुई अर्ब रुपैयाँ खर्च हुने अनुमान छ भने सो तहमा दुई करोड ६० प्रति थान किताब प्रकाशन गरी वितरण गरिँदै छ ।

पाठ्यपुस्तकमा ठूलो लगानी हुने भएकाले पुस्तकलाई जतन गर्न बालबालिकालाई सिकाउन आवश्यक रहेको पाठ्यपुस्तक विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको भनाइ छ । ‘पाठ्यपुस्तक छपाइमा तीव्रता छ भने ढुवानी पनि तीव्र रूपमा हुन्छ, पाठ्यपुस्तकमा राज्यको लगानी ठूलो छ, तर दोहोर्‍याएर पढ्न मिल्ने पुस्तक विद्यार्थीले धुजाधुजा पार्छन्, पुस्तक जतन गर्न जान्दैनन्,’ उनले भने, ‘त्यसकारण यसबारेमा विद्यार्थीलाई जानकारी दिन सके राज्यको लगानी जोगिन सक्छ ।’

उनका अनुसार यस वर्ष चैतको अन्तिमसम्म पुस्तक स्कुल–स्कुलमा पुगिसक्छ । हाल सरकारी विद्यालयको बालविकास तहदेखि कक्षा १२ सम्म ५६ लाखभन्दा बढी विद्यार्थी छन् । मन्त्रालयले दुर्गम क्षेत्रलाई ध्यानमा राखेर पाठ्यपुस्तक ढुवानी गर्नेछ । दुर्गम क्षेत्रमा ढुवानी गर्न समय लाग्छ भने सहरी क्षेत्रमा पाठ्यपुस्तक वितरण गर्न सहज छ । सोही कारण मन्त्रालयले सर्वप्रथम दुर्गम क्षेत्रमा पाठ्यपुस्तक वितरण गर्न जनक शिक्षालाई निर्देशन दिएको हो । यसअघि आइतबार शिक्षामन्त्री सुमना श्रेष्ठ पाठ्यपुस्तक छपाइको अवस्था बुझ्न जनक शिक्षा सामग्री केन्द्र पुगेकी थिइन् ।