१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १ बिहीबार ०८:५५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट : आर्मी चार विकेटले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १ बिहीबार ०८:५५:००

कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई चार विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको एपिएफले १९.२ ओभरमा सबै विकेट गुमाएर १३९ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आर्मीले १८.३ ओभरमा ६ विकेटको नोक्सानीमा १४२ रन जोड्यो । समूह ‘ए’मा आर्मी अपराजित छ । सेमिफाइनलमा स्थान पक्का गरिसकेको आर्मीले सर्वाधिक ८ अंक बटुलेको छ । एपिएफले तीनमध्ये दुई खेल गुमाएको छ । एपिएफ २ अंकका साथ समूहको पाँचौँ स्थानमा छ । 

बसिर र सन्दीपको आक्रामक ब्याटिङ
१४० रनको लक्ष्य पछ्याएको आर्मीको सुरुवात कमजोर बनेको थियो । आर्मीका ओपनर इमरान शेख १.४ ओभर र सन्तोष कार्की ३.४ ओभरमा आउट भएका थिए । दुवै ओपनर गुमाउँदा आर्मी १९–२ को स्थितिमा थियो । मध्यक्रममा त्रितराज दास र रमेश भट्टले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गरे । त्रितराजले २० बलमा १६ रन बनाए ।

रमेशले ११ बलमा समान दुई चौका र छक्का प्रहार गरी २२ रन जोडे । त्यसपछि बसिर र सन्दीपले पाँचौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै टोलीलाई १४.३ ओभरमा १००/५ को अवस्थामा राखे । बसिरले ३९ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ४६ रन बनाए । सन्दीपले १५ बलमा चार चौका प्रहार गरी २६ रन बटुले । बलिङमा एपिएफका लागि भुवन कार्कीले ३.३ ओभरमा २८ रन खर्चेर दुई विकेट हात पारे । यज्ञमान कुमालले दुई विकेट हात पारे ।

 यसअघि एपिएफको ब्याटिङमा तीन खेलाडी मात्र चम्केका थिए । ओपनर सुमित महर्जनले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३३ रन जोडे । मध्यक्रमका पुरन विकले २५ बलमा २३ रन बनाउन दुई चौका प्रहार गरेका थिए । कप्तान भुवनले अन्तिमतिर १५ बलमा तीन चौका र एक छक्काको सहयोगमा २५ रन जोडेका थिए । एपिएफले १८ अतिरिक्त रन पाएको थियो । बलिङमा सुमितले २५ रन खर्चेर तीन विकेट हात पारेका थिए ।