काठमाडौं महानगरपालिकाले १ फागुनदेखि सुरु गरेको लक्षित वर्ग निःशुल्क उपचारअन्तर्गत २६ फागुनसम्म ११ जनाले सेवा लिएका छन् । जसमध्ये पाँचजना उपचारपछि डिस्चार्ज भइसकेको महानगरपालिकाले जनाएको छ । महानगरले निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, ०८० अनुसार महानगरपालिकाभित्रका अस्पतालहरूलाई पत्र पठाएको थियो । सेवा व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
हाल कुन अस्पतालमा कति लक्षित वर्गले उपचार सेवा लिइरहेका छन् त्यसको जानकारी अनलाइनमा राखिएको छ । निःशुल्क उपचारका लागि सबैभन्दा पहिला काठमाडौं मोडेल अस्पतालले प्रणालीमा बिरामीको नाम दर्ता गराएको थियो । महानगरका जनस्वास्थ्य निरीक्षक घनेन्द्र श्रेष्ठका अनुसार कालीकोटको रासकोट नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका, धादिङको ज्वालामुखी गाउँपालिका, नुवाकोटको तारकेश्वर गाउँपालिका, चितवनको भरतपुर महानगरपालिकाका सेवाग्राहीले यसअन्तर्गत सेवा लिएका छन् ।
यस्तै, महानगरभित्रको वडा नम्बर ३१ को शान्तिनगर, वडा नम्बर १६ को सोह्रखुट्टेका सेवाग्राहीले पनि सेवा लिएका छन् । यसरी आएका सेवाग्राहीलाई काठमाडौं मोडेल अस्पताल, पिपुल्स कलेज एन्ड डेन्टल हस्पिटल, नेसनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाडौं हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसेलाई शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिएको छ । प्रणालीमा ५२ वटा अस्पताल आबद्ध छन् । यसमा ३७४ शड्ढया निःशुल्क उपचारका लागि
उपलब्ध छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे)का लागि हो ।
उपचार सेवा पाउने विधि
लक्षित वर्गले तीनवटा विधिमध्ये कुनै एकबाट सेवा लिन सक्छन् । पहिलो विपन्न परिचयपत्र छ भने सीधै उपचार पाउँछ, दोस्रो विपन्न परिचयपत्र छैन भने बसोवास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन सक्छ । तेस्रोमा यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्नुपर्नेछ । प्रमाणित भए एकाइले सिफारिस गर्नेछ ।