१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २९ मंगलबार १५:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एचआरसीसँग नेपालको गुनासो- साउदीबाट शव पठाउने प्रक्रिया झन्झटिलो भयो 

मावन बेचबिखनविरुद्ध सचेतना बढाउन १४ देशका राजदूतसँग एचआरसीको छलफल

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २९ मंगलबार १५:४३:००

नेपालले साउदी अरबको मानव अधिकार आयोग (एचआरसी)सँग नेपाली श्रमिकले भोग्नुपरेका समस्याका विषयमा छलफल भएकाे छ। 

साउदी अरबको मानव अधिकार आयोग (एचआरसी)ले आयोजना गरेको मानव बेचबिखनविरुद्ध सचेतना अभियानसम्बन्धी छलफलमा सहभागी नेपालका प्रतिनिधिले सो कुरा उठाएका हुन्।

बैठकमा सहभागी नेपाली राजदूतावास साउदी अरबका मिसन उपप्रमुख (डिसिएम) डा. डम्बरुबल्लभ पौडेलले नेपाली श्रमिकले रोजगारीको क्रममा साउदी अरबमा भोग्नुपरेको विभिन्न समस्याबारे कुरा राखेको बताए।

रोजगारीका क्रममा आएर यहाँ मृत्यु भएकाको शव नेपाल पठाउन निकै झन्झटिलो भएको कुरा आयोगसँग राखेका डा. पौडेलले बताए।

नयाँ पत्रिकासँग कुराकानी गर्दै दूतावासका उपप्रमुख (डिसिएम) डा. पौडेलले नेपालीलाई विभिन्न विषयमा पक्राउ गरेको सूचना समयमा नदिने गरेको कुरा बैठकमा राखेको बताए । ‘नेपालीको शव घर पठाउने प्रक्रिया झन्झटिलो भयो,’ उपप्रमुख पौडेलले भने, ‘हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ।’

त्यससँगै साउदी अरबको विभिन्न जेलमा तोकिएको कैद सजाय भुक्तान गरेका नेपालीलाई पनि रिहाइ गर्न ढिलाइ गरेको कुरा, हराएको नेपालीहरूको विषयलगायत श्रमसँग सम्बन्धित कुराहरू राखेको डा. पौडेलले बताएका छन् । बैठकमा उपप्रमुख डा. पौडेलको नेतृत्वमा द्वितीय सचिव टीकाराम उपाध्याय र देवेन्द्र कार्की सहभागी भएका थिए।

एचआरसी र मानव बेचबिखन नियन्त्रण समितिका अध्यक्ष डा. हला अल तुवैजरीले नेपालसहित विभिन्न १४ देशका राजदूत र दूतावासको प्रतिनिधिहरूसँग यस सम्बन्धमा छलफल गरेकी छिन्। 

राजधानी रियादस्थित एचआरसीको मुख्यालयमा भएको छलफलमा मानव अधिकार संरक्षणमा साउदी अरबले निर्वाह गरेको भूमिका र मानव बेचबिखनविरुद्धमा लड्न थालिएको अभियानलाई अझ् व्यापक बनाउने विषयमा केन्द्रित रहेको थियो।

मानव बेचविखनविरुद्धको अपराध रोक्न सशक्त भूमिका निर्वाह गर्न नेतृत्व विकास र मानव बेचबिखन अपराधबारे सचेतना अभिवृद्धि गर्न, त्यससम्बन्धी सूचकहरू पहिचान गर्न र रिपोर्टिङ संयन्त्रहरूमा सुधार गर्न कूटनीतिक नियोगहरूबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहने अध्यक्ष डा. तुवैजरीले उल्लेख गरिन्।

उक्त बैठकमा मानव बेचबिखन उन्मूलन र साउदी अरबमा कार्यरत श्रमिकको अधिकार अभिवृद्धिसँगै साउदी अरबले पछिल्लो समय गरेको सकारात्मक सुधारका प्रयासबारे छलफल भएको थियो। 

मानव बेचबिखन अपराध र राज्यले अपराधीहरूलाई गरेको कारबाहीसँगै पीडितहरूको अधिकारको रक्षा गर्न प्रयोग भएको रणनीति तथा प्रक्रियाका विषयमा मानव अधिकार आयोगका अध्यक्ष डा. तुवैजरीले राजदूतलाई जानकारी दिएकी छिन्।

मानव बेचबिखन नियन्त्रण समितिले मानव बेचबिखन पीडितहरूको पहिचान गर्ने, सम्बन्धित निकायहरूलाई जानकारी दिने र मानव बेचबिखनविरुद्धको अपराधबारे सचेतना जगाउनेजस्ता काम गर्दै आइरहेको अध्यक्ष डा. तुवैजरीले बताइन्।

बैठकमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशलगायतका १४ देशका राजदूतावासका प्रतिनिधिकाे सहभागिता रहेको थियो।