नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । उपप्रधानमन्त्रीले एनआरएनले अहिले पनि योगदान गरिरहेको भन्दै त्यसलाई अझ बढाउन आग्रह गरेका हुन् ।
एनआरएन अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । उक्त अवसरमा डा। केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए । सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीले नेपालका लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए । त्यस्तै, गैरआवासीय नेपालीका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानका बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।
श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए । यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन् । उनीले बिहीबार रुसी समकक्षी लाभारोभसँग रुसी सेनामा अलपत्र परेका नेपालीको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अलपत्र परेका नेपालीको उद्धार तथा सहयोगका लागि आग्रह गर्दै आएको थियो ।