१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २६ शनिबार १६:२९:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

फेरि छुटे किसान आन्दोलनमा सहादत पाएका मुखलाल

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २६ शनिबार १६:२९:००

सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ। विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नामसमेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ।

प्रकाशित नामावलीअनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन्। जितपुर सिमरा उपमहानगरपालि र कलैया उपमहानगरपालिकामा एक–एकजना सहिदको सूचीमा समावेश भएका छन्।

सरकारले देशभरका दुई हजार ६७४ जनाको नाम सहिदको सूचीमा थप गर्दा किसान आन्दोलनका क्रममा बाराको नेतृत्व गरेका कलैया उपमहानगरपालिका– १५ बकुलहरका मुखलाल महतोको नाम भने यसपटक पनि समावेश गरेको छैन। १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चर्किँदै गएको किसान आन्दोलनको क्रममा तत्कालीन शाही सेनाबाट मुखलाल महतो मारिएका थिए।

सरकारले मुखलाललाई सहिद घोषण नगरे पनि उनलाई बाराका जनताले भने बिर्सेका छैनन्। बाराका किसानले हरेक वर्ष माघ १६ गते सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्दै आएका छन्।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भने, ‘मुखलाललाई सहिद घोषणा गर्न सरकारलाई पटक-पटक अनुरोध गरे पनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ति उनको शालिक बनाएर करैयामाई गाउँपालिकाको नरही चोकमा सहिद मुखलाल महतो पार्क निर्माण गरेका छौँ। मुखलाल कुनै पार्टी विशेषका व्यक्ति नभएकाले उनको नाम अपेक्षामा परेको पौडेलले बताए।

सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल सहिद घोषण हुन नसकेका करैयामाई गाउँपालिका– ६ का किसान राजु पटेलको भनाइ छ। उनी किसान र गरिबका मानिस भएकाले राज्यले पक्षपात गरेको उनले बताए।

यसरी भएकाे थियाे किसान आन्दोलन
तराईमा गरिब किसानमाथि साहु र जमिनदारको ज्यादतीविरुद्ध आन्दोलन भइरहेको थियो। बारामा त्यसको नेतृत्व तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले गरेका थिए। नेतृत्वकर्तालाई कमजोर बनाउँदा आन्दोलन कमजोर हुने रणनीतिसहित गडहलका जिम्दार हृदय नारायणले सिंहलाई घरमा थुनेर राखेका थिए।

यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाल महतोलाई दियो। मुखलालसहित बारा, पर्सा र रौतहटका करिब १० हजार किसानले गडहलमा घेरा हालेर सिंहको रिहाइको माग गरे।

दुई दिनसम्म किसानले पूरै गाउँमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर गएपछि वीरगन्जबाट तत्कालीन शाही सेनालाई गडहलमा परिचालन गरियो। तर, पूरै गाउँलाई घेरा हालेका किसानले सेनालाई गाउँ प्रवेश गर्न दिएनन्। जिम्दार भने प्रहरीको सुरक्षामा थिए।

सेनालाई सिंहलाई वीरगन्ज ल्याउनू भन्ने आदेश थियो। तर, किसानले गाउँ प्रवेश गर्न नदिएपछि बडाहाकिम (तत्कालीन सेनाको पद)ले गोली चलाउने आदेश दिएका थिए। सोही क्रममा शाही सेनाको गोली लागेर दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। तीमध्ये एक सिघार कम्रेड थिए। सेनाले सिघार कम्रेडको शव लगेपछि उनको सनाखत भएन। मारिएका अर्का व्यक्ति मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो।

आन्दोलनका क्रममा करिब तीन सय किसान गिरफ्तार भएका थिए। ७० जनालाई नक्खु जेलमा लगिएको थियो। किसानका निम्ति १६ वर्षको उमेरमै सहादत प्राप्त गरेका मुखलाललाई लामो समय बितिसक्दा पनि सहिद घोषणा नगर्दा बाराका किसान निराश छन्।