१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
देव गुरुङ, महासचिव, माओवादी
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २२ मंगलबार ०८:१९:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेतृत्वको विषयमा नेताहरूबीच  जे सहमति हुन्छ, त्यो अक्षरश: लागू हुन्छ : देव गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २२ मंगलबार ०८:१९:००

नयाँ गठबन्धन बन्ने आधार कसरी बन्यो ? 
मुख्यतः कांग्रेससँग राजनीतिक विषयमै समस्या उत्पन्न भयो । राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने, प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने अहिलेको मुख्य कार्यभार हो । समाजवादमा त जुनसुकै धर्मलाई पनि समान रूपमा स्वतन्त्रता दिनुपर्छ । तर, मध्यगुगीन सामन्ती हिन्दुराज्य कायम राख्न चाहने प्रवृत्तिले अहिलेको गणतन्त्रको रक्षा गर्छ ? त्यसले अहिलेको परिवर्तनको रक्षा गर्ला भन्ने कल्पना गर्नै मिल्ने विषय परेन ।

दोस्रो, अहिलेको परिवर्तनको जग भनेको १० वर्षे जनयुद्ध हो । त्यसैको आधारमा यो परिवर्तन भएको हो । जनयुद्धलाई नकारात्मक ढंगले टिप्पणी गर्नेले त्यसको परिणामको रक्षा गर्ला भनेर कसरी विश्वास गर्ने ? जगचाहिँ बेठीक हुने, परिणामचाहिँ ठीक हुने भन्ने त हुँदैन । जग बेठीक भएपछि परिणाम पनि बेठीक भन्ने निष्कर्षमा ढिलोचाँडो पुग्छ नै ।

तेस्रो, मुलुकको स्वाधीनता रक्षा गर्दै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने हो । शीतयुद्धको माहोल चलिराखेको वेलामा नेपालमा तेत्रो सैन्य अभ्यास गर्नु भनेको भूमण्डलीकृत शक्तिराष्ट्रहरूको सैन्य क्रीडास्थलको इपिसेन्टर बनाउन खोजेको त प्रस्टै छ त । सुरुमा गठबन्धन गर्ने वेला गणतन्त्रको रक्षा गर्ने, राष्ट्रियताको रक्षा गर्ने भनिए पनि घटनाक्रममा त्यस्तो देखिएन । परिस्थिति त्यसको विपरीत देखिन थाल्यो । तैपनि हामीले गठबन्धन परिवर्तन गरिहाल्नुपर्छ भनेको त होइन । हामीले सबैलाई समेट्नुपर्‍यो भनेका हौँ । प्रतिपक्षलाई पनि समेटेर लानुपर्छ भन्न खोजेको हो । तर, कांग्रेस छिर्दा एमाले आउट हुने, एमाले छिर्दा कांग्रेस आउट हुने स्थिति बन्यो ।

प्रधानमन्त्रीमा आलोपालो कि पूरै कार्यकाल प्रचण्ड नै ? 
नेताहरूबीच जे सहमति हुन्छ, त्यो अक्षरशः लागू हुन्छ । सहमतिबाट अगाडि बढ्नुको विकल्प छैन । 

गठबन्धनको स्थायित्वको आधार के छ ?
सबैभन्दा पहिला राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । राष्ट्रिय सहमति जुट्न सकेन भने पनि जति दलहरू सहमत हुन्छन्, सहमति जुटाएर लैजाने हो । र, मुलुकमा स्थायित्व, स्थिरता, लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने हो । स्रोत र साधनको अधिकतम प्रयोग गरेर आर्थिक समृद्धिका लागि प्रयास गर्ने हो । कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रलाई नियन्त्रण गरेर सुशासन कायम राख्न कोसिस गर्ने हो । र, सामाजिक न्यायका लागि प्रयास र पहिल गरिराख्ने हो । यिनै मुद्दाका प्रयास गर्दै लैजाने कुरा हुन् ।