१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चैत ३ मा समाजवादी मोर्चाको अन्तरक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१५:oo

समाजवादी मोर्चाले ३ चैतमा काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । बुद्धनगरमा सोमबार बसेको चार दलीय मोर्चाको सचिवालय बैठकले अन्तरक्रियाको मिति तय गरेको हो ।

चारवटै दलका शीर्ष नेताको उपस्थितिमा अन्तरक्रिया गर्ने निर्णय भएको माओवादीका महासचिवसमेत रहेका मोर्चाका सचिवालय सदस्य देव गुरुङले जानकारी दिए । अन्तरक्रियामा नेपाली विशेषताको समाजवादबारे मोर्चाका शीर्ष नेता र विषयविज्ञबीच विचार–विमर्श हुनेछ । ‘शीर्ष नेताहरूको उपस्थितिमा अन्तरक्रिया गर्ने निर्णय भएको छ’ उनले भने, ‘अन्तरक्रियामा बौद्धिक वर्ग, नागरिक समाजलगायत सबै पक्षलाई बोलाउने निर्णय भएको छ ।’

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया हुने जानकारी दिए । उनले भने ‘वामपन्थी शक्तिहरू एक हुनुपर्छ भन्ने हाम्रो मूल नीति नै हो । मोर्चालाई बृहत बनाउने विषयमा गम्भीर ढंगले सोचिरहेका छौँ ।’

यसअघि गत शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजक नेत्रविक्रम चन्दको अध्यक्षतामा बसेको मोर्चाको बैठकले अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन आग्रह गर्ने, देशव्यापी भित्तेलेखन, ब्यानरलगायत प्रचार गर्ने, मुखपत्र प्रकाशित गर्नेलगायतका निर्णय भएको थियो । प्रदेशमा पनि अन्तरक्रिया गर्ने तयारी छ । तर, मिति भय भइसकेको छैन । सचिवालयमा गुरुङसहित, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सदस्य छन् ।

मोर्चाका संयोजक एवं नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्णय कार्यान्वयनमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफलमा विप्लवले मोर्चाको कार्यक्रममा इमान्दारितापूर्वक लाग्न निर्देशन दिएका हुन् । उनले मोर्चामा भएका पछिल्ला निर्णयबारे जानकारी गराउँदै कार्यान्वयनमा जोड दिएका हुन् । समाजवादी मोर्चालाई कमजोर पार्न चलखेल भइरहेको भन्दै उनले सचेत रहनुपर्ने आवश्यकता औँल्याए । अन्य वामपन्थी शक्तिलाई मोर्चामा सहभागी गराउन प्रयत्न भइरहेको पनि उनले बताए ।

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित हुने प्रतिबद्धता मोर्चाको छ ।

ad
ad