जडित क्षमता तीन हजार मेगावाट, उत्पादन आठ सय मेगावाटभन्दा कम
चालू आव ०८०/८१ को ६ महिनामा राष्ट्रिय ग्रिडमा एक सय ४४ मेगावाट विद्युत् थपिएको छ । निजी क्षेत्रका विभिन्न १० आयोजनाबाट सोबराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
योसँगै विद्युत्को जडित क्षमता दुई हजार नौ सय तीन मेगावाट पुगेको छ । गत असारसम्म विद्युत्को जडित क्षमता दुई हजार सात सय ५९ मेगावाट थियो । चालू आवको ६ महिनामा एक सय ४४ मेगावाट क्षमताका आयोजना प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकले देखाएको छ । गत आवको पहिलो ६ महिनामा भने एक सय ७६ मेगावाट क्षमताका आयोजनाहरू राष्ट्रिय ग्रिडमा थपिएका थिए ।
यस अवधिमा ०.९७ मेगावाटको घट्टे खोला स्माल, ३३.४० मेगावाटको लिखु–२, १०.३० मेगावाटको डाउन पिलुवा र ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना प्रणालीमा जोडिएका छन् । यसैगरी, १०.७० मेगावाटको अपर सानीगाढ, १४ मेगावाटको घार खोला, १४.८० मेगावाटको अपर सान्जेन, ३.२ मेगावाटको गेलुङ र सात मेगावाटको अपर सुरी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएको छ । बाँकेस्थित पियोर इनर्जीको सोलार प्लान्टको पहिलो ब्लकबाट १० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।
यसबाहेक माघयता पियोर इनर्जीकै सोलार प्लान्टको दोस्रो ब्लकबाट थप १० मेगावाट र रानी जमरा–कुलरिया सिँचाइ आयोजनामा रहेको ४.७१ मेगावाटको पावर प्लान्ट पनि राष्ट्रिय प्रणालीमा जोडिएका छन् । तर, यससम्बन्धी विवरण प्राधिकरणले सार्वजनिक गरेको छैन । सरकारले चालू आवमा कुल नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने घोषणा गरेको छ । तर, असारसम्म पुग्दा ५–६ सय मेगावाट हाराहारीमा मात्रै विद्युत् थपिने देखिएको प्राधिकरणका अधिकारी बताउँछन् ।
क्षमताको ३० प्रतिशत मात्रै उत्पादन
राष्ट्रिय प्रणालीमा आयोजना अर्थात् विद्युत्को जडित क्षमता बढे पनि हिउँदे विद्युत्को उत्पादनमा निराशा देखिएको छ । गत हिउँदमा विद्युत्को जडित क्षमता २४–२५ सय मेगावाट हाराहारी थियो । अहिले विद्युत्को जडित क्षमता झन्डै तीन हजार मेगावाट पुगेको छ । यसरी जडित क्षमता बढे पनि त्यसअनुसार हिउँदे विद्युत्को उत्पादन बढ्न नसकेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ बताउँछन् ।
गत वर्ष फागुन ४ गते औसतमा सात सय ७४ मेगावाट विद्युत् उत्पादन भएको थियो । पछिल्लो एक वर्षमा विद्युत्को जडित क्षमता पाँच सय मेगावाट बढेको छ । तर, यो वर्ष फागुन ४ गते पनि गत वर्षको सोही दिनकै हाराहारीमा अर्थात् औसत सात सय ८८ मेगावाट मात्रै विद्युत् उत्पादन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
अहिले क्षमताको ३० प्रतिशत हाराहारीमा मात्रै विद्युत् उत्पादन भइरहेको घिसिङले बताए । कतिपय आयोजनाले क्षमताको १० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्न सकेको उनको भनाइ छ ।
‘काबेली करिडोरमा दुई सय मेगावाट क्षमताका आयोजना छन् । तर, त्यहाँबाट २० मेगावाट हाराहारीमा विद्युत् उत्पादन भइरहेको छ । चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट ६०–६५ मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ,’ उनले भने, ‘यीलगायतका केही आयोजनाले क्षमताको १० प्रतिशत हाराहारीमा मात्रै विद्युत् उत्पादन गर्न सकेका छन् ।’
नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना छन् । त्यो अवस्थामा बर्खामा जडित क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । हिउँदमा खोलामा पानीको बहाव कम हुँदा विद्युत् उत्पादन पनि स्वतः घट्छ । तर, यो वर्ष अस्वाभाविक रूपमा सुक्खा मौसम भएपछि विद्युत् उत्पादन थप प्रभावित भएको घिसिङ बताउँछन् । जलवायु परिवर्तनका कारण यस्तो समस्या आएको उनको भनाइ छ ।
‘विद्युत्को जडित क्षमता बढ्दै गएको छ । तर, जलवायु परिवर्तनका कारण खोलामा पानीको बहाव घट्दै छ । यसपालि न झरी पर्यो, न हिउँ पर्यो । एक–दुई दिन मात्रै पर्ने झरी र हिउँले खासै ठूलो योगदान दिँदैन,’ उनले भने, ‘जलवायु परिवर्तनको असर हेर्दा हिउँदे विद्युत्मा आत्मनिर्भर हुन ठूलो चुनौती छ । यो समस्या समाधान गर्न स्टोरेज जलविद्युत् आयोजना बनाउनैपर्छ ।’ गत बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि कार्यकारी निर्देशक घिसिङले जलवायु परिवर्तनको असर ठूलो चुनौतीका रूपमा आएको बताएका थिए ।
उल्टै आयात बढ्दै
स्वदेशी उत्पादन घटेपछि विद्युत् आयात पनि बढ्दै गएको देखिन्छ । बर्खामा भारतमा बिजुली बिक्री गर्ने नेपालले हिउँदमा भने आयात नै गर्नुपर्छ । आयोजना थपिँदै जाँदा त्यसरी आयात गरिने विद्युत्को परिमाण घट्नुपर्ने हो । तर, उल्टै आयात बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ । गत वर्ष फागुन ४ गते चार सय ३२ मेगावाट विद्युत् आयात भएको थियो । यो वर्ष फागुन ४ गते पाँच सय ६३ मेगावाट विद्युत् आयात भएको देखिन्छ ।
स्रोत : नेपाल विद्युत् प्राधिकरण