१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२७:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

४० हजार कर्जाले सुरु भएको मायावतीको व्यवसाय फक्रिँदै

लघुवित्त सम्मेलन विशेष

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२७:oo

दाङको गढवा गाउँपालिकाकी मायावती यादवको परिवारले ०७१ अघि सामान्य ढंगले भैँसीपालन व्यवसाय गर्दै आएको थियो । उनको परिवारले दुईवटा भैँसी पालेको थियो । त्यसको दूध बिक्रीसहित सामान्य खेतीबाट हुने आम्दानीले उनको परिवारको गुजारा चल्दै आएको थियो । तर, त्यसबाट हुने आम्दानीले उनको परिवारको आवश्यकता पूरा गर्न धौ–धौ भएको थियो । तसर्थ, यादव परिवारलाई भैँसीपालन व्यवसाय विस्तार गरेर आम्दानी बढाउने चाहना थियो । तर, लगानी गर्ने पैसा नहुँदा व्यवसाय विस्तार गर्न सकेका थिएनन् । 

यसैक्रममा उनको गाउँमा छिमेक लघुवित्त वित्तीय संस्थाको भालुभाङ शाखाका कर्मचारी सदस्य समूह बनाउन आइपुगे । त्यहाँ आबद्ध हुँदा व्यवसाय गर्नेलगायतका प्रयोजनका लागि कर्जा पाइन्छ भन्ने जानकारी पाएपछि मायावती यादव छिमेक लघुवित्तमा सदस्य बनिन् । लगत्तै उनले लघुवित्तबाट ४० हजार रुपैयाँ ऋण ल्याएर भैँसीपालनमा लगानी गरिन् । पहिला उनको गोठ (फार्म)मा दुईवटा मात्रै भैँसी थिए । कर्जा ल्याएपछि उनले थप दुईवटा भैँसी किनिन् । यसरी चारवटा भैँसीको दूध बिक्री गर्नेलगायतको माध्यमबाट हुने आम्दानीले उनले लघुवित्तको ऋण तिर्ने र पैसा बचत गर्ने गरिन् । त्यसपछि पनि उनले कहिले ५० हजार, कहिले ६० हजार, कहिले एक लाख, कहिले चार लाख गर्दै १० पटकमा गरेर कुल १६ लाख ३२ हजार कर्जा ल्याइन् । पछिल्लोपटक उनले लघुवित्तबाट पाँच लाख कर्जा ल्याएर भैँसीपालनमा लगानी गरेकी छिन् । उनको भैँसीपालन व्यवसायलाई २९ वर्षीय माइला छोरा हिमाल यादवले अघि बढाएका छन् । साथै, एकजनालाई रोजगारीसमेत दिएका छन् । 

अहिले उनको फार्ममा १२ वटा भैँसी छन्, त्यसमा अहिले चारवटा दुहुना छन् । ती चारवटा भैँसीले दैनिक २० लिटरसम्म दूध दिन्छन् । त्यो दूध उनले प्रतिलिटर ९०–१०० रुपैयाँसम्ममा धानखोल बजारमा बिक्री गर्छन् । यादव परिवारले आफ्नो भैँसीको मात्रै होइन, गाउँमा रहेका अन्य फार्मका भैँसीको दूध पनि खरिद गरेर बजारमा बिक्री गर्छन् । यो व्यवसायबाट मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको मायावतीका छोरा हिमाल यादवले बताए । त्यसमा खर्च भने एकदमै कम हुने गरेको उनको भनाइ छ । 

‘गाउँकै एकजना व्यक्तिलाई खाने–बस्ने सुविधासहित रोजगारी दिएका छौँ, त्यसमा तलब खर्च धेरै छैन । साथै, भैँसीलाई चाहिने दाना आफ्नै खेतमा उत्पादन गर्छाैँ । आफ्नै जग्गाको घाँसले पुग्छ । त्यसले गर्दा हाम्रो खर्च धेरै छैन,’ उनले भने, ‘तसर्थ, हामी यो आम्दानीबाट सन्तोष नै छौँ । यद्यपि, व्यवसाय विस्तार गर्ने योजनामा छाँै ।’ उनका अनुसार झन्डै १२ कट्ठामा जग्गामा फार्म बनेको छ । त्यसबाहेक तीन बिगा जग्गामा धान, मकै, तोरी, मसरुम, तरकारी खेती गरेका छन् । त्यहाँबाट उत्पादन हुने मकैजस्ता अन्नबाट दाना बनाएर भैँसीलाई खुवाइन्छ । घाँस पनि त्यहीँबाटै पुग्ने गरेको यादवले बताए । भैँसीको मल (गोबर) पनि त्यही खेत (जग्गा)मै खपत हुने गरेको छ ।

जोडे पाँच कट्ठा जग्गा र बनाए ६ कोठे पक्की घर
भैँसीपालान व्यवसाय गरेर यादवको परिवारले गाउँमै ५ कट्ठा जग्गा किनेका छन् । साथै, पहिला सामान्य प्रकृतिको कच्ची घरमा बसेको उनको परिवारले ६ कोठाको पक्की घरसमेत बनाउन सफल भएको छ । साथै, लघुवित्तमा नगद जम्मा पनि गर्दै गएका छन् । लघुवित्तको ऋणले नै आफ्नो परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिएको छोरा हिमाल यादव बताउँछन् । 

व्यवसाय थप विस्तार गर्ने योजनामा यादव परिवार
सन्तोषजनक आम्दानी भएपछि यादव परिवार भैँसीपालन व्यवसायलाई थप विस्तार गर्ने योजनामा छ । अहिले फार्ममा १२ वटा भैँसी छन्, त्यसको संख्या न्यूनतम २२ वटा पुर्‍याउने उनीहरूको परिवार छ । अधिकतम पनि ३० वटा भैँसीपालन गर्ने लक्ष्य रहेको छोरा हिमाल यादवले बताए । ‘अब १२ वटा भैँसीमा सीमित हुनुहुँदैन । अब भैँसीको संख्या बिस्तारै बढाउँदै जाने योजना छ । न्यूनतम २०–२२ देखि अधिकतम ३० वटासम्म भैँसीपालन गर्ने योजना छ,’ उनले भने, ‘त्यसपछि थप दुईजनालाई रोजगारीसमेत सिर्जना हुनेछ ।’ 

यी महिला, लघुवित्तकै कर्जाबाट व्यवसाय गर्दै छन्
यस्तै, कैलालीको गोदावरी– ८ की सीता चौधरीले पनि छिमेक लघुवित्तको गेटा शाखाबाट कर्जा ल्याएर कुखुरापालन तथा तरकारी खेती गर्दै आएकी छिन् । उनी २२ असोज ०७२ मा लघुवित्तको सदस्य बनेकी थिइन्, हालसम्म उनले आठपटक गरेर १३ लाख ३१ हजार कर्जा ल्याइसकेकी छिन् । पछिल्लोपटक उनले लघुवित्तबाट पाँच लाख कर्जा प्रयोग गरेकी छिन् । उनले यो व्यवसायबाट १८ लाख रुपैयाँ सम्पत्ति जम्मा गरेकी छिन् । 

यसैगरी, कञ्चनपुर जिल्लाको पुनर्वासकी ममता तामाङले पनि छिमेक लघुवित्तको पुर्नवास शाखाबाट कर्जा ल्याएर खाजाघर तथा खुद्रा पसल सञ्चालन गर्दै आएकी छिन् । उनले हालसम्म २१ पटक गरेर छिमेक लघुवित्तबाट १४ लाख ७७ हजार कर्जा प्रयोग गरेकी छिन् । पछिल्लोपटक उनले लघुवित्तबाट चार लाख रुपैयाँ कर्जा प्रयोग गरेकी छिन् । व्यवसायबाट उनले एक कट्ठा जग्गा जोडेकी छन् । यसैगरी कैलाली जिल्ला गौरीगंगाकी लक्ष्मीकुमारी सापकोटाले पनि छिमेक लघुवित्तको राजीपुर शाखाबाट कर्जा ल्याएर आलु खेती र मौरीपालन गर्दै आएकी छिन् । 

अबको यात्रा सदस्यहरूलाई उद्यमी बनाउने : दीपकनिधि तिवारी प्रमुख कार्यकारी अधिकृत छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड 
छिमेक लघुवित्त वित्तीय संस्था सञ्चालनमा आएको २९ वर्ष भयो । पहिलो सात वर्ष हामीले गैरसरकारी संस्था (एनजिओ)अन्तर्गत लघुवित्त वित्तीय सेवा प्रदान गरेका थियौँ । पछिल्लो २२ वर्षयता भने लघुवित्त वित्तीय संस्थाकै रूपमा काम गर्दै आएका छौँ । कर्जा लगानी गर्ने मामिलामा छिमेक लघुवित्तले दूरदराजका विपन्न गरिब परिवारलाई प्राथमिकतामा राखेको छ, त्यसमा पनि महिलालाई बढी प्राथमिकता दिएका छौँ । 

हामीबाट कर्जा लैजाने अधिकांश ग्राहक महिला नै छन् । त्यसमा पनि कृषि, पशुपालनजस्ता अन्य व्यवसाय गर्ने सदस्यलाई बढी प्राथमिकतामा राख्ने गरेका छौँ । साथै, कर्जा लगानी पनि हचुवामा गर्दैनौँ । पहिला सदस्यलाई कृषि, पशुपालनलगायतका व्यावसायिक तालिम प्रदान गर्छौँ । एउटा शाखाले वर्षमा दुईवटा तालिम दिनैपर्छ । कृषि, पशुपालन, खुद्रा व्यापारसहित धुप, मैनबत्ती, अगरबत्ती र अचार बनाउने तालिम पनि सदस्यहरूलाई दिने गर्छाैँ । त्यसपछि सोही व्यवसाय गर्न कर्जा लगानी गरिदिन्छौँ । हामीबाट वित्तीय सेवा लिएर धेरै सदस्य कृषि, पशुपालन, खुद्रा व्यापारमा स्थापित हुन सफल भएका छन् । 

हाम्रो उपस्थितिले महिलाको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ । २९ वर्षअघि हामीले काम सुरु गर्दा महिलालाई घरबाट निस्कनै चुनौती थियो । उनीहरूको श्रीमान् तथा परिवारका अन्य सदस्यलाई ‘कन्भिन्स’ गर्नुपर्ने थियो । उनीहरूलाई कन्भिन्स गरेपछि मात्रै महिला हाम्रो समूहमा सदस्य हुने गर्दथे । अहिले महिला आफैँ पैसा जुटाएर व्यवसाय गर्न सक्ने, आर्थिक रूपमा माथि आउने र सामाजिक रूपमा समेत अघि बढ्ने अवस्थामा पुगेका छन् । महिला सशक्तीकरणमा लघुवित्तको पनि ठूलो योगदान छ । साथै, गरिबी निवारणमा पनि लघुवित्तले योगदान दिँदै आएको छ । 

हाम्रो सेवाबाट ग्राहक पनि खुसी नै देखिन्छन् । हामीले प्रत्येक शाखा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न थालेका छौँ । केही शाखा कार्यालयमा सार्वजनिक सुनुवाइ भइसक्यो । त्यसमा ग्राहकको गुनासो नगन्य छ । जति गुनासो आएको छ, त्यसलाई सम्बोधन गर्ने गरी अघि बढेका छौँ । सार्वजनिक सुनुवाइमा अधिकांशले छिमेक लघुवित्तमा आबद्ध भएर धेरै फाइदा भएको बताएका छन् । हाम्रो कारण व्यवसायमा लगानी जुटाउन, घरपरिवार चलाउन सजिलो भएको उनीहरूको भनाइ छ । 

अब हामी सदस्यलाई मात्र नभएर उनीहरूको परिवारका अभिभावक तथा छोराछोरीलाई उद्यमशीलता सम्बन्धी तालिम दिएर व्यावसायिक तथा स्वरोजगार बनाउने योजनामा छौँ । अहिले बाराको जितपुरमा १८ सदस्यका छोरा र श्रीमान्हरूलाई पलम्बिङसम्बन्धी तीनमहिने तालिम दिइरहेका छौँ । खाना, खाजा र आवासीय सुविधासहित निःशुल्कमा रूपमा उक्त तालिम आयोजना गरिएको हो । यो तालिम अन्तिम चरणमा पुगिसकेको छ । यो तालिमप्राप्त व्यक्तिहरूलाई स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास छ ।

यस्तै, अब हामी सदस्यहरूलाई उद्यमी बनाउने योजनामा पनि छौँ । कर्मचारीहरूमा उद्यमशीलतासम्बन्धी ज्ञान नभएसम्म सदस्यहरूलाई उद्यमी बनाउन सकिँदैन । कर्मचारीहरूमा उद्यमशीलताबारे ज्ञान भए मात्रै सदस्यहरूलाई उद्यमशील बनाउन सकिन्छ जस्तो लाग्छ । तसर्थ, व्यवसायी योजना कसरी बनाउने ? कस्तो व्यावसायिक योजना बनाउने ? कुन व्यवसाय गर्ने ? भन्नेलगायतका विषयमा सदस्यलाई परामर्श दिने गरी कर्मचारीमा क्षमता विकास गर्दै छौँ । साथै, सदस्यहरूमा पनि उद्यमशीलताबारे क्षमता विकास गर्ने तालिम दिनेछौँ । समग्रमा अब हामी सदस्यहरूलाई उद्यमी बनाउने गरी अघि बढ्छौँ । 

यसबाट कर्जाको सदुपयोग पनि बढ्छ भन्ने विश्वास छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरूमा विकृति देखियो भनेर टिप्पणी भइरहेको छ । कर्जाको दुरुपयोग पनि भएका हुन सक्छन् । अब लघुवित्त क्षेत्रमा भएको विकृति हटाउने र कर्जाको सदुपयोग बढाउने गरी अघि बढ्छौँ ।

हालसम्म ६९ जिल्लामा एक सय ९७ शाखा सञ्जाल विस्तार गरिसकेका छौँ । हालसम्म आउँदा हाम्रो सदस्य संख्या चार लाख १५ हजार ६ सय ७३ र कर्जा लिने ग्राहकको संख्या दुई लाख पाँच हजार तनि सय ५६ पुगेको छ । हालसम्म छिमेक लघुवित्तले ३१ अर्ब ८८ करोड ९६ लाख निक्षेप संकलन गरेको छ भने ३३ अर्ब सात करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

ad
ad