१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Monday, 04 November, 2024
डा. कृष्णराज पन्त
२o८o फाल्गुण ४ शुक्रबार o६:५४:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

संरचनात्मक परिवर्तनको खाँचो

अर्थतन्त्रका हरेक क्षेत्रमा ज्ञान र प्रविधिको प्रयोग तथा नवप्रवर्तन र व्यापारीकरणको प्रवद्र्धनबाट गतिशील आर्थिक वृद्धि हासिल गर्न सकिन्छ

Read Time : > 5 मिनेट
डा. कृष्णराज पन्त
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o६:५४:oo

हरेक मुलुकको संरचनात्मक रूपान्तरणसहितको दिगो विकासका निम्ति संरचनात्मक परिवर्तन ज्यादै महत्वपूर्ण छ । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डानी रोड्रिक भन्छन्– आधारभूत संरचनात्मक परिवर्तनबाटै दिगो आर्थिक वृद्धि र विकास सम्भव छ । यसका निम्ति आर्थिक क्रियाकलाप (अर्थात् उत्पादन र श्रम दुवै) परम्परागतबाट आधुनिक संरचनातर्फ परिवर्तित हुनुपर्छ । किनकि, आर्थिक विकासको परम्परागत मोडेलमा उत्पादनका साधन (पुँजी र श्रम दुवै) को भरपूर उपयोग हुन सक्दैन र नतीजास्वरूप उत्पादन न्यून हुन पुग्छ । अर्थतन्त्रको यस्तो संरचनात्मक परिवर्तनको प्रभाव भने चक्रीय हुन्छ । 

सन् १९७० को दशकअघिदेखि नै जापान, दक्षिण कोरिया, ताइबान, चीनजस्ता धेरै एसियाली र दक्षिण–पूर्वी एसियाली मुलुकले औद्योगिक विकास गरे । आदर्शवादभन्दा पनि व्यवहारवादप्रतिको उनीहरूको विश्वास, इच्छाशक्ति र निर्यातमुखी औद्योगीकरणतर्फको तेज गतिले नै तिनलाई सफल बनायो । तर, कतिपय ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकले निर्यात प्रवद्र्धनभन्दा आयात प्रतिस्थापनतर्फ जोड दिएका कारण ‘वासिंटन कन्सेन्सस’जस्ता उदारवादी विचारमा अचाक्ली भर गरेका कारण र उक्त मोडेलअनुरूप संरचनात्मक परिवर्तनमार्फत अर्थतन्त्रको संरचनात्मक रूपान्तरण स्वतः हुन्छ भन्ने विश्वासका कारण पछि परे । नेपालमा पनि अहिलेको आर्थिक अस्तव्यस्तता, पुँजी र श्रम पलायनको स्थितिजस्ता समस्याबाट मुक्ति पाउन र दिगो आर्थिक विकासका निम्ति विद्यमान अर्थतन्त्रमा संरचनात्मक परिवर्तनको खाँचो छ ।

के हो संरचनात्मक परिवर्तन ? :  विकास अर्थशास्त्रअनुसार संरचनात्मक परिवर्तन भनेको उत्पादनको एक क्षेत्रबाट उत्पादनका साधन –पुँजी, श्रम र प्रविधि) को अर्को क्षेत्रमा अवस्थानान्तरण हो, जसले कुल गार्हस्थ उत्पादनमा क्षेत्रगत योगदानको सम्मिश्रणमा समेत परिवर्तन ल्याउँछ । विकास अर्थशास्त्रीका अनुसार कुनै पनि अर्थतन्त्रको संरचनात्मक परिवर्तनले उच्च उत्पादकत्व र बढ्दो प्रतिफल दिने खालका नयाँ गतिविधि पैदा गर्ने क्षमता राख्छ र उत्पादनमा समेत वृद्धि गर्छ । संरचनात्मक परिवर्तनको शास्त्रीय पद्धतिले आर्थिक वृद्धिमा मात्र जोड दिन्छ, जुन अन्तरउत्पादन क्षेत्र (कृषि क्षेत्रबाट औद्योगिक उत्पादनको क्षेत्रतर्फ) श्रमको स्थानान्तरणमा सीमित छ । 

दिगो आर्थिक विकासका निम्ति दिगो आर्थिक वृद्धि आवश्यक हुन्छ र त्यसका निम्ति अर्थतन्त्रमा अन्तरक्षेत्र मात्र होइन, क्षेत्रभित्रै पनि विविधीकरण (डाइभर्सिफिकेसन), तुलनात्मक लाभ (कम्पेरेटिव एड्भान्टेज), प्राविधिक स्तरोन्नति (टेक्नोलोजिकल अपग्रेडिङ) र नवप्रवर्तन (इन्नोभेसन) जस्ता पक्षमा हुने परिवर्तन महत्वपूर्ण हुन्छ । विभिन्न अध्ययनले संरचनात्मक परिवर्तनका मुख्य चालकका रूपमा व्यापार उदारीकरण, मागको संरचनामा परिवर्तन, मागको लचकता, प्रविधिमा आएको परिवर्तन र नीतिगत हस्तक्षेप (विनिमय दरमा हेरफेर, संरक्षणका नीति, औद्योगिक नीति) लाई चित्रित गरेका छन् । संरचनात्मक परिवर्तनलाई विशुद्ध प्राविधिक प्रक्रियाका रूपमा मात्र हेरिनुहुन्न । 

कसरी गर्ने संरचनात्मक परिवर्तन ? :  दिगो आर्थिक वृद्धिसहित मुलुकको अर्थतन्त्र रूपान्तरणका निम्ति अन्तरउत्पादन क्षेत्र मात्र नभई उत्पादनका हरेक क्षेत्रभित्रै संरचनात्मक परिवर्तन आवश्यक छ । यसका लागि उत्पादनको विविधीकरण गर्दै उत्पादन पद्धति (श्रम, पुँजी, प्रविधि र उत्पादनको सम्मिश्रण) लाई गतिशील तुलनात्मक लाभतर्फ उन्मुख गराउनुपर्छ । रोड्रिक भन्छन्– आफूलाई संरचनात्मक रूपान्तरण गर्न चाहने मुलुकले पहिले आफ्नो संरचनात्मक परिवर्तनका समस्या र बाधक के–के हुन्, त्यसको अध्ययन गरी निक्र्योल गर्नुपर्छ ।

नेपालमा अहिलेको आर्थिक अस्तव्यस्तता, पुँजी र श्रम पलायनको स्थितिजस्ता समस्याबाट मुक्ति पाउन र दिगो आर्थिक विकासका निम्ति विद्यमान अर्थतन्त्रमा संरचनात्मक परिवर्तनको खाँचो छ 
 

अपूर्ण श्रमबजार, सीमित ऋणग्राह्य क्षमता, कमजोर वित्तीय बजार, लगानी निरुत्साहित गर्ने खालको राजनीतिक संस्था वा अन्य के–के समस्या छन्, पहिचान गर्नु आवश्यक हुन्छ । समस्याबमोजिम रणनीति प्रतिपादन र प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकको अर्थतन्त्रलाई संरचनात्मक परिवर्तन गरी श्रमप्रधान आर्थिक क्रियाकलाप र न्यून उत्पादकत्वको अवस्थाबाट सीपप्रधान क्रियाकलाप र उच्च उत्पादकत्वतर्फ रूपान्तरण गर्न सकिन्छ । यसैगरी, अर्थतन्त्रका हरेक क्षेत्रमा ज्ञान र प्रविधिको प्रयोग, नवप्रवर्तन र व्यापारीकरणको प्रवद्र्धन गरेर मात्र अर्थतन्त्रको गतिशील आर्थिक वृद्धि हासिल गर्न सकिन्छ । यसका निम्ति अर्थतन्त्रभित्रका विभिन्न अवयव (जस्तै– व्यक्ति, फर्म र राज्य) बीच बलियो सञ्जाल विस्तारमा जोड र विविध अभ्यासबाट खारिएका नियम कानुन, मापदण्ड र संगठनसमेतको संस्थागत विकास आवश्यक छ ।

अर्थतन्त्रका कृषि, उद्योग र सेवा तीनवटै क्षेत्रमा मागमा आधारित (वस्तु तथा सेवा उत्पादन र विविधीकरण) र आपूर्तिमा आधारित (उत्पादनका साधनको पुनः बाँडफाँड) दुवैखाले संरचनात्मक परिवर्तनको सम्मिश्रण जरुरी छ । उत्पादनका सबै क्षेत्रमा वैदेशिक लगानीको आकर्षण र समुचित प्रयोगको नीति अवलम्बन आवश्यक छ । 

कृषि क्षेत्रमा संरचनात्मक परिवर्तन : आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण, विशिष्टीकरण र व्यवसायीकरणका माध्यमबाट कृषि क्षेत्रलाई निर्वाहमुखी प्रणालीबाट निर्यातमुखी प्रणालीतर्फ रूपान्तरण र परम्परागत श्रमप्रधानबाट आधुनिक पुँजीप्रधान प्रणालीतर्फ परिवर्तन गर्न सकिन्छ । यसका निम्ति उच्च मूल्य र तुलनात्मक लाभका वस्तु उत्पादन, भूगोल र मौसमी विविधतामा आधारित बाली प्रणाली, कृषि पाठशालाको व्यवस्था, गुणस्तरीय कृषि सामग्री र प्राविधिक सेवाको आपूर्ति, स्वस्थ र गुणस्तरीय उत्पादन, प्रशोधन, ब्रान्डिङ र बजारीकरणको व्यवस्था, निश्चित अवधिका निम्ति उत्पादनको समर्थन मूल्य, कृषि क्षेत्रमा नयाँ सूचना प्रविधिको व्यापक प्रयोग, अनुसन्धानमा आधारित कृषि उत्पादन प्रणाली, स्वदेशी उत्पादनको संरक्षण र प्रयोग, उच्च मूल्यका कृषि वस्तु निर्यात प्रोत्साहनजस्ता नीतिहरूको अवलम्बन गर्न जरुरी छ । यस्ता सुधारमार्फत कृषि कर्मलाई गरिमायुक्त बनाई कृषि भूमिको निष्प्रयोग, निरन्तर स्वामित्व हस्तान्तरण र खण्डीकरणजस्ता कारणबाट कृषि उत्पादनमा हुने ह्रासको न्यूनीकरण र रोजगारी प्रवद्र्धनतर्फ जोड दिनुपर्छ ।

औद्योगिक क्षेत्रमा संरचनात्मक परिवर्तन :  कृषिमा जस्तै अर्थतन्त्रको औद्योगिक क्षेत्रमा पनि संरचनात्मक परिवर्तन जरुरी छ । अन्तरउद्योग संरचनात्मक परिवर्तनस्वरूप ठूला उद्योगको विविधीकरण, श्रम प्रधानबाट उच्च दक्षता, पुँजी र प्रविधि प्रधानतर्फ परिवर्तन, आधारभूत वस्तु उत्पादन उद्योगबाट उच्च गुणस्तरीय र मूल्यवान् वस्तुहरूको उत्पादनतर्फ स्तरोन्नति, इन्पुट–आउटपुट लिंकेजको अवधारणाका आधारमा परम्परागत क्षेत्रबाट आधुनिक क्षेत्रमा उद्योगको अवस्थानान्तरणजस्ता औद्योगिक संरचनात्मक सुधारको माध्यमबाट दिगो आर्थिक विकास हासिल हुन सक्छ ।

यस क्रममा, औद्योगिक क्षेत्रलाई प्रतिस्थापक उद्योग मात्र नभई निर्यातमूलक उद्योगतर्फ, पुँजी सञ्चय वा प्राविधिक परिवर्तनमार्फत नक्कलभन्दा नवप्रवर्तनतर्फ र वृद्धिशील (इन्क्रिमेन्टल) भन्दा विस्थापनकारी (डिसरप्टिव) नवप्रवर्तनतर्फ उन्मुख गराइनु आवश्यक छ । यसका साथै, साना तथा मझौला उद्योगको विकास र ठूला उद्योगसँगको मूल्य तथा आपूर्ति शृंखलामा तिनको आबद्धताको पक्ष पनि औद्योगिक क्षेत्रको दिगो विकासका निम्ति महत्वपूर्ण हुन्छ । विश्वव्यापी अनुभवलाई हेर्दा मिडिल इन्कम ट्र्याप (मध्यम आयस्तरमा अल्झिरहने) र लो इन्कम ट्र्याप (निम्न आयस्तरमा अल्झिरहने) को अवस्थाबाट उम्कन सफल मुलुकले यस्तैखाले संरचनात्मक परिवर्तनमार्फत सफलता हासिल गरेको पाइन्छ । 

सेवाक्षेत्रको संरचनात्मक परिवर्तन :  समग्र अर्थतन्त्रको रूपान्तरणका निम्ति कृषि र औद्योगिक क्षेत्रसँगै सेवाक्षेत्रमा पनि संरचनात्मक परिवर्तनको खाँचो छ । यस सन्दर्भमा, सेवाक्षेत्रलाई न्यून उत्पादकत्व भएको (गैरव्यापारयोग्य) बाट सीपप्रधान र उच्च–उत्पाकत्व भएको (व्यापारयोग्य) सेवाक्षेत्रतर्फ परिवर्तन गरिनुपर्छ । त्यसैगरी, रोजगार सिर्जनाका निम्ति श्रमबजारको माग र आपूर्ति दुवैमा हस्तक्षेप आवश्यक छ ।

परम्परागत अभ्यासबाट फड्को मार्दै सेवाक्षेत्रको औद्योगीकरण र व्यापारीकरणतर्फ अघि बढ्नुपर्छ । कृषि र वस्तु उत्पादन (म्यानुफ्याक्चरिङ) दुवै क्षेत्रको उत्पादकत्व वृद्धिका निम्तिसमेत सेवाक्षेत्रको प्रभावकारी र नवप्रवर्तक उपयोग आवश्यक छ । यस सन्दर्भमा डिजिटल प्रविधि प्रयोगमार्फत न्यून श्रमनिवेश (लो लेबर इन्पुट) र स्वचालन (अटोमेसन) युक्त उत्पादन प्रक्रियातर्फ परिवर्तन र विश्वव्यापीकरणसहित व्यापार लागतमा न्यूनीकरण (अर्थात् प्रत्यक्ष लागत घटाउने) जस्ता कदम प्रभावकारी हुन्छन् ।

सेवाक्षेत्रको अभिवृद्धिका निम्ति सेवा व्यापारलाई बहुराष्ट्रिय/बहुक्षेत्रीय (मल्टिकन्ट्री/मल्टी सेक्टर) मोडेलमा विकसित गरिनुपर्छ । साथै, समग्र सेवाक्षेत्रलाई सीपमुखी प्राविधिक विकासतर्फ र कार्याभ्यासबाट सिक्दै (लर्निङ बाई वर्किङ) थप नयाँ आविष्कारतर्फ निरन्तरउन्मुख गराइरहने नीति आवश्यक हुन्छ । प्रमुख ठूला सेवाक्षेत्रका रूपमा रहेका व्यापार, पारवहन, भ्रमण (पर्यटन) र अन्य व्यावसायिक सेवा (दूरसञ्चार, सूचना प्रविधिजस्ता) उपक्षेत्रमा जोड, वित्तीय सेवाको पहुँच विस्तार, विप्रेषणको उत्पादनमुखी उपयोग र अनुसन्धान र विकास, इन्जिनियरिङजस्ता उत्पादक क्षेत्रसँग सम्बन्धित सेवामा लगानी केन्द्रित गर्नु आवश्यक हुन्छ । यसमध्ये पनि दूरसञ्चार र आइसिटी सेवा निर्यातमा जोड, साना व्यवसायमा इ–कमर्सको प्रयोग र साइबर सेक्युरिटी व्यवस्था, ‘प्याटेन्ट राइट प्रोटेक्सन’जस्ता नीति मुलुकको आर्थिक विकासका निम्ति झनै महत्वपूर्ण र समय सान्दर्भिक हुन्छन् । 

अन्य क्षेत्रमा संरचनात्मक परिवर्तन :  अर्थतन्त्रको संरचनात्मक परिवर्तनका निम्ति सामाजिक (शिक्षा र स्वास्थ्य) क्षेत्रको संरचनात्मक परिवर्तनको महत्वपूर्ण भूमिका हुन्छ । उदाहरणका लागि धेरै शिक्षित घरपरिवार उच्च उत्पादन हुने जातका बालीतर्फ आकर्षित भएको उदाहरण भारतको हरित क्रान्तिले देखाएको छ । दक्ष मानव पुँजी विकासमार्फत श्रमको उत्पादकत्व बढाएर र नयाँ प्रविधिसहित आर्थिक क्रियाकलाप विकास गरेर उत्पादन तथा रोजगारी प्रवद्र्धन गर्न परम्परागत शैक्षिक प्रणालीमा संरचनात्मक परिवर्तन अपरिहार्य छ ।

यस सिलसिलामा माग र अनुसन्धानमा आधारित नयाँ प्रविधिको उपयोगसहितको शिक्षा प्रणाली विकासका माध्यमबाट रोजगारमूलक, प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनु आवश्यक हुन्छ । त्यसैगरी, विद्यमान स्वास्थ्य प्रणालीको संरचनामा परिवर्तन गरी उपचारात्मक मात्र नभई प्रतिरोधात्मक उपायको उपयोगसँगै आधुनिक पूर्वाधार, दक्ष जनशक्ति र नयाँ प्रविधि (डिजिटल) युक्त संस्थासहितको स्वास्थ्य प्रणालीको अभ्यासतर्फ जोड दिनु जरुरी छ । सबै नीतिमा स्वास्थ्य नीति र सबैका लागि स्वास्थ्य (स्वास्थ्य स्रोत वा अधिकारमा सबैको पहुँच प्रवद्र्धन) जस्ता नीतिको प्रभावकारी अवलम्बनबाट नै स्वस्थ जनशक्ति उत्पादन र श्रम उत्पादकत्वको प्रवद्र्धन गर्न सकिन्छ । 

अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दा वातावरणीय पक्षमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । जलवायु परिवर्तनको असर र विपत्को न्यूनीकरणका निम्ति विद्यमान प्रविधिमा संरचनात्मक परिवर्तन गरी उत्पादन र उपभोगजन्य कार्बन उत्सर्जनको न्यूनीकरण र हरित प्रविधि (ग्रिन टेक्नोलोजी) को विकासतर्फ केन्द्रित हुनु जरुरी भइसकेको छ ।

अझै महत्वपूर्ण त सिंगो मुलुक हाँक्ने राजनीतिलाई सुदखोरबाट सेवामुखी, उपभोगवादीबाट उत्पादनमुखी प्रवृत्तितर्फ बदल्दै विकासको विद्यमान मोडेलमै परिवर्तन आवश्यक छ । साथै, मुलुकभित्र हाबी भइरहेको नकारात्मक सोचको विस्थापन र सकारात्मक सोचको विकाससहितको सांस्कृतिक परिवर्तनको खाँचो छ । अन्ततः नेतृत्व र नागरिकमा परिवर्तनप्रतिको दृढ इच्छाशक्ति, लगनशीलता, स्वावलम्बन र सहकार्यको भावना जागृत गर्न सकिए मात्र मुलुकमा सबैखाले संरचनात्मक परिवर्तन र रूपान्तरण सम्भव हुन्छ । 

(डा. पन्त बागमती प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन्)