१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘यौन व्यवसायी’मा सिफिलिसलगायत संक्रमणदर उच्च, अधिकांशमा छैन यौनजन्य संक्रमणको ज्ञान

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२४:oo

यौनजन्य संक्रमणसम्बन्धी आधारभूत ज्ञान अभावमा अधिकांश यौन व्यवसायी सिफिलिस, एचआइभी, हेपाटाइटिस सीलगायत संक्रमणबाट पीडित बनिरहेका छन् । समयमा स्वास्थ्य परीक्षण नगराउने र संक्रमणलाई बेवास्ता गर्ने गरेका कारण उनीहरूमा यौनजन्य संक्रमण भयावह बन्दै गएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा भइरहेको एकीकृत जैविक व्यवहार निगरानी सर्भिलेन्स (आइबिबिएस)ले तीन सय ६४ जना यौन व्यवसायीमा गरेको स्वास्थ्य परीक्षणबाट उनीहरू गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेको देखाएको हो ।

पोखरामा यौन व्यवसाय गरिरहेका महिलामा गरिएको उक्त स्वास्थ्य परीक्षणले १४.८ प्रतिशतमा सिफिलिस संक्रमण देखिएको हो । यस्तै, १.१ प्रतिशतमा एचआइभी पजिटिभ र १.६ प्रतिशतमा हेपाटाइटिस सी संक्रमण देखिएको हो ।

नियमित स्वास्थ्य परीक्षण नगराउँदा महिला यौन व्यवसायीमा संक्रमण बढ्दै गएको सर्वेक्षणहरूले देखाएको छ । यौनजन्य संक्रमण न्यूनीकरणका लागि परिषद्, स्वास्थ्य क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संघसंस्थाहरूले ठूलो लगानी गरिरहे पनि यौनजन्य संक्रमण घट्नुको साटो बढिरहेको परिषद्की अनुसन्धानकर्ता प्रतिमा दवाडी बताउँछिन् । उनका अनुसार सन् २०१६ मा गरेको सर्वेक्षणले एचआइभी÷एड्स संक्रमणदर घटे पनि हेपाटाइटिस सी र सिफिलिस संक्रमण झन् बढ्दै गएको देखाएको छ । 

सन् ०१६ मा पोखरामै महिला यौन व्यवसायीहरूमा स्वास्थ्य परीक्षण गराउँदा सिफिलिस संक्रमण न्यून देखिएकोमा ०२३ को सर्वेक्षणले बढेर १४.८ प्रतिशत पुगेको देखाएको हो । एचआइभी÷एड्स संक्रमण भने ०.८ प्रतिशतले कमी आएको छ । २०१६ मा २ प्रतिशतमा एचआइभी देखिएकोमा ०२३ मा आइपुग्दा घटेर १.२ पुगेको हो । 

अधिकांशमा छैन यौनजन्य संक्रमणको ज्ञान
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्दै आएका सर्वेक्षणहरूले यौन व्यवसायीहरूमा यौनजन्य संक्रमणबारे जानकारी नै नहुनुले संक्रमणको स्थिति घट्न नसकेको जनाएको छ । धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्दा एचआइभी, हेपाटाइटिसजस्ता यौनजन्य संक्रमणको जोखिम हुने भए पनि परीक्षण नराउँदा समस्या भयावह बनिरहेको अध्ययनमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । अधिकांशले एचआइभी परीक्षण एकपटकसमेत नगराएको रिपोर्टले देखाएको हो । यस्तै, धेरैलाई हेपाटाइटिस सी र सिफिलिसजस्ता संक्रमणबारे आधारभूत जानकारीसमेत नभएको पाइएको छ । 

अध्ययन र स्वास्थ्य परीक्षणमा सहभागीमध्ये ३.९ प्रतिशतले यौनजन्य संक्रमणबारे कहिल्यै नसुनेको बताएका थिए भने २९.४ प्रतिशतले एड्स संक्रमणबाट मानिसको मृत्यु हुन सक्ने थाहा पाए पनि करिब ५४.९ प्रतिशतले एचआइभी परीक्षण नगराएको जनाएका थिए । ७६.४ प्रतिशतले हेपाटाइटिस सी र सिफिलिसबारे जानकारी नै नभएको बताएका थिए । यसबाहेक, यौनजन्य संक्रमणबारे जानकारी भएकाहरूसमेत परीक्षण नगराउने र संक्रमण भए तापनि बेवास्ता गर्ने भएकाले समेत संक्रमणदर उच्च रहेको अध्ययनका संलग्न अध्ययनकर्ताहरू बताउँछन् । रिसर्चर प्रतिमा दवाडी भन्छिन्, ‘परिषद्ले गरेको परीक्षणमा समेत बोलाइएकामध्ये जम्मा १५ प्रतिशत मात्रै सहभागी भएका थिए । परीक्षण गराउनेहरूमध्ये पनि मेडिकलमा जाने र नियमित फलो अपसमेत नगराउने धेरै छन् ।’ 

तथ्यांकअनुसार ६५ प्रतिशतले मात्र कण्डम तथा अस्थायी साधन प्रयोग गर्न गरेका छन् । यस्तै, १०.४ प्रतिशतले लागुऔषध सेवनसमेत गर्ने गरेको र तीमध्ये पनि करिब तीन प्रतिशतले लागुऔषधकै लागि यौन व्यवसाय गर्ने गरेको पाइएको हो । 

ग्राहकबाट हिंसादर पनि उच्च
महिला यौन व्यवसायी ग्राहकबाटै हिंसाको सिकार हुने संख्यासमेत उच्च रहेको बताइएको छ । एकदमै थोरै संख्यामा अध्ययन गरिए पनि अधिकांशले हिंसा भोग्ने गरेको बताएका थिए । यौन व्यवसाय गरिरहेका अधिकांशले परिवारलाई आर्थिक सहयोग गरिरहेको, दैनिक खर्च चलाउन, खराब प्रेम–सम्बन्धबाट बच्नसमेत यो पेसामा लागेको बताएका थिए । स्वास्थ्य परीक्षणमा सहभागीमध्ये ४४.३ प्रतिशत यौन व्यवसायी दोहोरीलाई मुख्य कार्यस्थल बनाएर काम गरिरहेका थिए । यस्तै, ४४.८ प्रतिशतले दैनिक एकजना ग्राहक र ७०.३ प्रतिशतले सातामा एकदेखि पाँचजनासम्मलाई सेवा दिइरहेका थिए । 

गर्भ खेर जाने समस्या उच्च 
महिला यौन व्यवसायीमा गर्भ खेर जाने समस्यासमेत उच्च रहेको अध्ययनले देखाएको छ । पोखरामा यौन व्यवसाय गरिरहेकामध्ये अढाई वर्षयता मात्र २१ प्रतिशत महिला गर्भ खेर जाने समस्याबाट प्रभावित देखिन्छन् । असुरक्षित यौन सम्बन्धबाट बसेको गर्भ र गर्भको उपयुक्त हेरचाह नहुँदा मिसक्यारेजको समस्या उच्च रहेको पाइएको हो । मिसक्यारेज समस्या भोगिरहेका अधिकांश २० वर्षभन्दा कम उमेरका छन् । 

के हो सिफिलिस ?

डा. सन्देश पौडेल, परोपकार प्रसूतिगृह

सिफिलिस एक प्रकारको संक्रामक रोग हो । सुरुवाती चरणमा जटिलता नदेखिए पनि बिस्तारै विभिन्न चरणमा समस्या बल्झिँदै जाने गर्छ । सिफिलिस संक्रमित आमाबाट उनको गर्भमा रहेको बच्चामा समेत सर्ने गर्छ । बच्चामा बिस्तारै आँखा र कानमा समस्या देखिन सक्छ । एकभन्दा बढी व्यक्तिसँग यौन सम्बन्ध राख्ने व्यक्तिमा सिफिलिस संक्रमणको दर उच्च हुन्छ । सिफिलिस चार चरणमा देखापर्छ ।

पहिलो चरणमा यौनांग, मुख वा ओठमा नदुख्ने साना घाउ देखापर्छ । जुन तीनदेखि ६ सातामा आफैँ निको भएर जान्छ । दोस्रो चरणमा छालामा घाउ र चिलाउने खटिराहरू देखिन्छन् । साथै यौनांग र ओठ तथा मुखमा घाउ देखिन थाल्छ । ज्वरो, घाँटी दुखाइ, मांसपेशी दुखाइ, कमजोरी र थकान महसुस, टाउको दुखाइ तौल घट्ने हुन्छ । 

तेस्रो चरणमा भने लक्षणहरू नदेखिन पनि सक्छ । शरीरमा सिफिलिस वर्षौँसम्म कुनै पनि लक्षणविना रहन सक्छ । तर, अन्तिम चरणमा भने शरीरका भित्री अंगमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

मुटु र रक्तकोषिकाहरूमा बिस्तारै समस्या देखिने, जोर्नी, आँखामा समस्या, मस्तिष्क र स्नायु प्रणालीमा समेत असर गर्छ । समयमा उपचार नगराउँदा सिफिलिसका कारण मृत्यु हुन सक्ने जोखिम उच्च हुन्छ । सुरुवातीमै उपचार सुरु गरेमा रोग निको पार्न सकिन्छ ।

ad
ad