
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यसबिचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युतकाे सुविधा पुर्याउन सफल भएको बताए । ‘निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौँ रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो,’ घिसिङले भने, ‘यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ ।’
आव ०७२/७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब ३५ अर्ब रहेको र सोही आवको मात्रै घाटा करिब नौ अर्ब रहेकोमा आव ०७३/७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आव ०८०/८१ सम्ममा सञ्चित नाफा करिब रु. ४७ अर्ब पुगेको उनले जानकारी दिए । आव ०७२/७३ मा प्राधिकरणको कुल सम्पत्ति करिब २११ अर्ब रुपैयाँ रहेकामा हाल करिब ६४४ अर्ब रुपैयाँ पुगेको छ । यो नाफा महसुल वृद्धि गरेर भएको हाेइन, बरु यस अवधिमा पटक–पटक गरी तीनपटकमा करिब २५ प्रतिशत महसुल घटाउँदा पनि भएको नाफा हो ।
प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकमा आव ०७२/७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भुक्तानी गरेकामा पछिल्लो आठ वर्षमा साँवा, ब्याज, कर तथा रोयल्टीसमेत गरी कुल ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
पछिल्लो आठ वर्षमा प्राधिकरणले मात्र करिब एक खर्ब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ भने सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रुपैयाँ लगानी गरेको घिसिङले जानकारी दिए । वर्षायाममा समेत विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत तीन वर्षदेखि वर्षायाममा भारतमा विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको उनको भनाइ छ ।
गत आवबाट विद्युत् आयातभन्दा निर्यात बढी गरी करिब १७ अर्बको विद्युत् निर्यात भएको थियो । साथै नेपालसँग सीमा नजोडिएको तेस्रो देश बंगलादेशसम्म पनि गत नोभेम्बरबाट ४० मेगावाट विद्युत् निर्यात गर्न सुरु भएको छ । आव ०७२/७३ मा करिब २६ प्रतिशत विद्युत् प्रणालीको चुहावट रहेकामा आव ०८०/८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्त भएको जानकारी दिँदै घिसिङले यसबाट प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठुलो योगदान पुगेको बताए।