मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Thursday, 19 December, 2024
गठबन्धन घोषणा गर्ने क्रममा सेहवाज (बसेकामध्ये सबैभन्दा दायाँ) अन्य शीर्ष नेतासँग ।
एजेन्सी इस्लामाबाद
२o८o फाल्गुण ३ बिहीबार o९:o८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नवाज होइन, उनका भाइ सेहवाज प्रधानमन्त्रीका उम्मेदवार

Read Time : > 1 मिनेट
एजेन्सी, इस्लामाबाद
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार o९:o८:oo

केही दिनको अनिश्चिततापछि पाकिस्तानको भावी प्रधानमन्त्री को हुने स्पष्ट भएको छ । मंगलबार राति ६ दलले पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)का उपनेता सेहवाज सरिफलाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनाएका छन् । अन्तिम समयसम्म दाइ तथा पिएमएल–एनका नेता नवाज सरिफका लागि बहुमत पुर्‍याउन प्रयासरत सेहवाज प्रधानमन्त्रीका ‘अनिच्छुक’ उम्मेदवार बनेका छन् । पाकिस्तानका ६ वटा प्रमुख दल (पिटिआईबाहेक) शीर्ष नेताहरूले मंगलबार राति सेहवाजलाई समर्थन गर्ने घोषणा गरे । उनीहरूले यो गठबन्धन केन्द्र र प्रदेश दुवैमा हुने पनि जानकारी गराएका थिए । 

मंगलबार राति नयाँ गठबन्धनको घोषणा गर्न राजधानीस्थित चौधरी सुजात हुसेनको घरमा भएको संयुक्त पत्रकार सम्मेलनमा सेहवाज, आसिफ जर्दारी, खालिद मकबुल सिद्दिकी, सादिक सन्जरानी र अलिम खान उपस्थित थिए । त्यहीँ नवाजले नयाँ गठबन्धनको प्रधानमन्त्री बन्न भाइलाई आशीर्वाद दिएको सार्वजनिक गरियो । प्रधानमन्त्रीबाहेक गठबन्धनले नवाज सरिफकी ५० बर्से छोरी मरियम नवाजलाई देशको सबैभन्दा ठूलो राज्य पन्जाबको मुख्यमन्त्री पदको उम्मेदवारमा अघि सार्ने सहमति भएको सार्वजनिक गरिएको छ । 

उता सरकार गठनका लागि ६ दलको गठबन्धन बनेको प्रतिक्रिया दिने क्रममा इमरान खान नेतृत्वको पिटिआईले सामाजिक सञ्जाल एक्समा एक संक्षिप्त प्रतिक्रिया जनाएको छ । पत्रकार सम्मेलनमा सहभागी ६ दलका शीर्ष नेताको तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखिएको छ ‘जनादेश चोरहरू’ । पिटिआईले नयाँ गठबन्धनलाई सबैभन्दा धेरै सिट जितेको आफ्नो दललाई सरकारबाहिर राख्ने षड्यन्त्रको रूपमा व्याख्या गर्न खोजेको छ ।

उता सेहवाजलाई साझा प्रधानमन्त्री उम्मेदवार घोषणा गर्नुपूर्व मंगलबार पाकिस्तान पिपुल्स पार्टी(पिपिपी)भित्र केही मतभेद देखिएको थियो । राजनीतिक प्रतिद्वन्द्वीलाई पनि आफ्नो क्षमताका लागि परिचित जर्दारीले औपचारिक घोषणा गरे, ‘हामी पाकिस्तानलाई कठिन समयबाट बाहिर निकाल्नेछौँ ।’ उनले राजनीतिक नेताले मिलेर सरकार बनाउने निर्णय गरेको खुलासा गरे ।

अघिल्लो दिन पिपिपी केन्द्रीय कार्यसमितिको बैठकपछि बोल्ने क्रममा पिपिपीका सहनेता बिलावल भुट्टो–जर्दारीले प्रधानमन्त्रीका लागि पिएमएल–एनका उम्मेदवारलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताएका थिए । तर, छोरा बिलावलको भनाइभन्दा फरक देखिँदै पिता आसिफ जर्दारीले वर्तमान राजनीतिक स्थितिमा वैमनस्य कम गर्नुपर्ने भन्दै मेलमिलापको सन्देश प्रवाहित गर्ने प्रयास गरे । 

सेहवाजले नयाँ गठबन्धनसँग लगभग दुईतिहाइ बहुमत रहेको उल्लेख गर्दै भने, ‘यति धेरै सांसदले विभाजित जनादेशलाई स्विकार्दै अघि बढ्न चाहेको सन्देश दिन खोजेका छन् ।’ उनले त्यस क्रममा आसिफ जर्दारी भावी राष्ट्रपति हुन सक्ने संकेत पनि गरे । एक पत्रकारले जर्दारी आगामी राष्ट्रपति हुन लागेको हो भन्ने प्रश्नको जवाफ दिने क्रममा सेहवाजले ‘हामी तपाईंलाई निराश पार्नेछैनौँ’ भने । गठबन्धनका दलबीच आगामी राष्ट्रपति, राष्ट्रिय सभा (संसद्)का सभामुख, सिनेट अध्यक्ष र चार गभर्नरलगायत शीर्ष संवैधानिक निकायको प्रमुखका विषयमा पनि सहमति हुने उनले बताए ।