१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ २८ आइतबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बैंकको ब्याजदर एकल विन्दुमा झर्ने अर्थमन्त्रीकाे दाबी 

Read Time : < 1 मिनेट
२०८० माघ २८ आइतबार १७:४२:००

अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा सहजता आएको बताएका छन्। अर्थतन्त्रमा केही समस्या भए पनि क्रमशः समाधान हुँदै जाने बताए। 

आइतबार दमक महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले सरकारले अर्थतन्त्रमा देखिएको समस्या क्रमशः समाधान गर्दै गरेको बताएका हुन्। 'अर्थतन्त्रको राजमार्गलाई सफाइ गर्दै सरकार अघि बढिरहेको छ। अर्थतन्त्रमा विगतमा समस्या थिए। अहिले पनि छन्,' उनले भने, 'एउटा समाधान हुन्छ। नयाँ समस्या देखा पर्दै जान्छ। समाधान गर्दै अघि बढ्ने हो।' 

उनले अर्थतन्त्रको राजमार्गले दिशा लिएको बताए। कोरोना महामारीमा जग्गाको कारोबार र सेयर बजार धेरै हुँदा अहिले यसमा समस्या आएको बताए। अहिले क्रमशः जग्गाको कारोबार बढेको र सेयर बजार पनि तीन सयको अंकमा वृद्धि भएको बताए। उनले देशमा एक वर्षलाई पुग्ने मुद्रा सञ्चितीकरण पनि रहेको बताए।

'अहिले अर्थतन्त्र चलायमान हुँदै छ। विदेशी मुद्रा एक वर्षलाई पुग्ने गरी सञ्चय छ,' उनले भने, '६/७ महिना पुग्ने भयो भने त्यसलाई स्वस्थ मानिन्छ। विगतमा जग्गा कारोबार ठप्प थियो। सेयर कारोबार गिरेको थियो। शोधनान्तर घटेको थियो। अहिले सकारात्मक छ।'

उनले बैंकको ब्याजदर एकल विन्दुमा आउने दाबी गरे। मन्त्री महतले सहकारी क्षेत्रमा भने समस्या विकराल बनेको र नियमनका लागि सरकार लागिपरेकाे बताए।  

अर्थमन्त्री महतले केपी शर्मा ओली नेतृत्वको सरकारले स्रोत सुनिश्चितताविना जथाभावी आयोजना घोषणा गर्दा अहिले समस्या आएको बताए। उनले अब आउने आर्थिक वर्षदेखि संघीय सरकारले तीन करोडमुनिका आयोजनामा लगानी नगर्ने स्पष्ट पारे। 

'राजस्व तीनै तहका सरकारमा बाँडफाँट हुन्छ। केन्द्रलाई प्रशासनिक खर्चमा धेरै बजेट लाग्छ। तसर्थ, विकास बजेट कम हुन्छ,' उनले भने, 'प्रदेश र स्थानीय तहले विकास निर्माणमा बढी लगानी गर्नुपर्छ।' उनले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए।