देशका जम्मा पाँच अस्पतालमा मात्र जलनको उपचार हुन्छ । कीर्तिपुर, त्रिवि शिक्षण (टिचिङ), कान्ति, पाटन, वीर र सुष्मा कोइराला मेमोरियल अस्पतालमा जलनको उपचार सेवा छ । कीर्तिपुर अस्पताल ट्रस्टमा सञ्चालित छ, साँखुस्थित सुष्मा कोइराला मेमोरियल गैरसरकारी अस्पताल हो भने अन्य सबै सरकारी हुन् । यी सबै काठमाडौं उपत्यकाभित्रै छन् । त्यसैले, काठमाडौंबाहिर जलनका बिरामीलाई उपचार सेवा नहुँदा काठमाडौं पुग्नुको विकल्प छैन ।
यी अस्पतालमध्ये पनि जलनका ५० प्रतिशतभन्दा धेरै बिरामीको कीर्तिपुरमै उपचार हुन्छ । जाडोको समयमा जलनका बिरामीको चाप बढ्दा बेड पाउनसमेत समस्या भएको अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मीले बताए । बर्सेनि ६ सयदेखि सात सय जलनका बिरामी उपचारका लागि आउने कीर्तिपुर अस्पतालको तथ्यांक छ । २०२१ मा ६ सय २३ बिरामी भर्ना भएका थिए । त्यस्तै, २०२२ मा ६ सय ६० जलनका बिरामी भर्ना भएका थिए, जसमा तीन सय २७ महिला र तीन सय ३३ पुरुष थिए । २०२३ मा उपचारका लागि अस्पताल पुगेका सात सय ९० मध्ये तीन सय ६७ महिला र चार सय २४ पुरुष थिए । यीमध्ये १३ देखि २० प्रतिशतको मृत्यु भएको अस्पतालले जनाएको छ । सय शड्ढयामा चलिरहेको कीर्तिपुर अस्पतालले जलनबाहेकका सेवासमेत दिँदै आएको छ ।
सुष्मा कोइराला मेमोरियल अस्पतालले मात्रै जलनको उपचारमा पूर्ण सेवा दिइरहेको छ । जलनको समस्याले स्वास्थ्य संस्था पुग्ने बिरामीमध्ये १० प्रतिशत यो अस्पताल आउँछन् । स्वास्थ्य संस्था पुग्ने जलनका १५ सय बिरामीमध्ये नौ सयको कीर्तिपुर र सुष्मा कोइराला मेमोरियल अस्पतालमै उपचार हुन्छ । सुष्मा कोइरालामा सन् २०२३ मा जलनका एक सय १८३ बिरामीले उपचार गराएका थिए । त्यस्तै, २०२२ मा १७३, २०२१ मा २४४, २०२० मा २४२, २०१९ मा २४५ र २०१८ मा ५४२ बिरामी भर्ना भएका थिए । गम्भीर खालका बिरामीलाई कीर्तिपुर अस्पतालमै रेफर गरिने भएकाले सुष्मा कोइराला अस्पतालमा जलनका बिरामीको मृत्युदर कम रहेको अस्पतालका निर्देशक डा. सन्तोष मिश्रले बताए । ‘हामीले अस्पताल भर्ना भएकाहरूको तथ्यांक निकाल्दा २०२३ मा मृत्युदर २.७३ प्रतिशत भएको पाएका छौँ । ढिला गरी उपचार गर्न आउँदा मृत्यु हुने गरेको छ,’ उनले भने ।
वीर, टिचिङ र पाटन अस्पतालले जलनका सामान्य बिरामीलाई मात्रै सेवा दिन सक्छन् । हाल ११ बेडसहितको बर्न वार्ड बनिरहेकाले वीरले जलनका बिरामीको भर्ना नै लिँदैन । ओपिडी सेवा लिन जाडो महिनामा मासिक एकदेखि डेढ सयसम्म बिरामी आउने गरेको वीरका बर्न तथा प्लास्टिक सर्जन डा. पशुपति पोखरेलले बताए । ‘६ बेडको जनरल र पाँच बेडको आइसियू वार्ड बनिरहेकाले अहिले जलनका सामान्य बिरामीलाई ओपिडी सेवा मात्रै दिइएको छ । जलनका जटिल केस आउँदा राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार भइरहेको छ,’ उनले भने । तर, वीरअन्तर्गतकै ट्रमा सेन्टरले पनि आइसियूमा राख्नुपर्ने बिरामीलाई अन्यत्र रेफर गर्दै आएको छ । त्यसैले त्यहाँ पनि मृत्युदर देखिँदैन । ट्रमा सेन्टरका अनुसार महिनामा जलनका ५२ देखि ६० बिरामी उपचारका लागि आएको तथ्यांक छ ।
टिचिङले पनि नौवटा जनरल वार्डमा जलनका
बिरामीलाई उपचार दिँदै आएको छ । अस्पतालले वर्षभरिमा ३०–४० जनाको मात्रै उपचार गर्दै आएको जनाएको छ । यहाँ पनि आइसियू सेवा नभएकाले गम्भीर बिरामीलाई कीर्तिपुर वा सुष्मा कोइराला अस्पताल रेफर गरिन्छ । अस्पतालका वरिष्ठ जलन तथा प्लास्टिक सर्जन डा. ईश्वर लोहनी भन्छन्, ‘पहिले–पहिले टिचिङ अस्पतालमा जलनका बिरामी डेढदेखि दुई सयको हाराहारीमा उपचारका लागि पुग्थे, अहिले त्यो संख्या घटेको छ । गम्भीर बिरामीलाई अन्यत्र रेफर गरिने कारण यहाँ मृत्युदर पनि न्यून छ, तर यति नै छ भन्ने तथ्यांक छैन ।’ जलनका बिरामीलाई सात बेड छुट्याएको पाटन अस्पतालमा पनि आइसियूसहितको सुविधा भने छैन । त्यसैले त्यहाँ पनि सामान्य जलनका बिरामीको मात्र उपचार सम्भव छ ।