मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २१ आइतबार
  • Saturday, 04 January, 2025
२o८o माघ २१ आइतबार १५:५६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पूर्वऊर्जामन्त्री पुनद्वारा घोराही–खुंग्री १३२ केभी प्रसारणलाइनको निरीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २१ आइतबार १५:५६:oo

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन घोराही–खुंग्री एक सय ३२ केभी प्रसारणलाइनको निरीक्षण गरेका छन् । 

रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले आइतबार खुंग्रीस्थित आयोजना स्थल पुगेर आयोजनाका कर्मचारी र  निर्माण कम्पनीका प्रतिनिधिसँग कामको प्रगतिबारे जानकारी लिए । 

आयोजनाको हालसम्मको प्रगति सन्तोषजनक रहेको भन्दै पुनले यही रफ्तारमा काम भए पूर्वनिर्धारित समयसीमाभित्रै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । आयोजनाका कर्मचारी तथा निर्माण पक्षका प्रतिनिधिसँग पुनले जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधि र पूर्वविभागीय मन्त्रीका हैसियतले आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए । 

‘ऊर्जामन्त्री भएका वेला मैले नै अघि बढाएको योजना भएकाले पनि मेरो यसमा चासो छ,’ उनले भने, ‘प्रसारणलाइन निर्माणका क्रममा कुनै समस्या आइपरे मलाई जानकारी गराउनुस्, सबै प्रकारको सहयोगका लागि तयार छु ।’

रोल्पा, रुकुम र प्युठान हालसम्म पनि केन्द्रीय प्रसारणलाइनमा नजोडिएका कारण उक्त आयोजनाबाट यी तीन जिल्लाले लाभ लिने उनको भनाइ थियो । 
प्रसारणलाइन निर्माणपछि सो क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली लान राष्ट्रिय प्रसारणमा जोडिने र राष्ट्रिय प्रसारणको बिजुली ती जिल्लामा ल्याउन सकिने भएका कारण आयोजना महत्वपूर्ण रहेको पुनले बताए । 

हाल घोराही–खुंग्री एक सय ३२ केभीको प्रसारणलाइन निर्माणको काम धमाधम भइरहेको छ । घोराहीदेखि खुंग्रीसम्म ४० किलोमिटर लामो प्रसारणलाइन निर्माण हुन्छ । एसियाली विकास बैंकको दुई अर्ब लगानीमा निर्माण निर्माण हुन लागेको उक्त प्रसारणलाइनसम्बन्धी निर्माण सम्झौतामा २४ पुस ०७९ मा हस्ताक्षर भएको थियो ।  

भारतीय कम्पनी केइसी इन्टरप्राइजेजले सम्झौताअनुसार १ फागुन ०७९ बाट काम थालेको हो । ३० महिना अर्थात् १५ भदौ ०८२ मा प्रसारणलाइन निर्माणको काम सम्पन्न गरी बिजुली चार्ज गर्ने सम्झौतामा उल्लेख छ । 

हालसम्म १५ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त प्रसारणलाइन आयोजनाका इन्जिनियर प्रदीप खत्रीले जानकारी दिए । रोल्पामा जग्गा अधिग्रहणको काम सकिएको तथा दाङ र प्युठानको पनि जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएर प्रक्रिया अघि बढेको खत्रीले बताए । 

खुंग्री–बाफीकोट एक सय ३२ केभीको ठेक्का सम्झौता हुँदै 
खत्रीका अनुसार ७५ किलोमिटर लामो खुंग्री–बाफीकोट एक सय ३२ केभी प्रसारणलाइन निर्माणको पनि छिट्टै टेन्डर हुँदै छ । 

टेन्डरका लागि प्रारम्भिक सूचना प्रकाशित भइसकेको र इच्छुक कम्पनीले आवेदन दिइरहेको जानकारी उनले दिए । उक्त प्रसारणलाइन निर्माणपछि रुकुम पश्चिमको भेडाखेतमा निर्माण हुन लागेको दुई सय मेगावाटको जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिनेछ । 

यस्तै, रोल्पाको खुंग्री र लुंग्रीमा दुई जलविद्युत् आयोजना निर्माणको सम्भाव्यता अध्ययन सकिएको छ । उक्त प्रसारणलाइन निर्माणपछि रोल्पा, प्युठान र दुवै रुकुमका हजारौँ सर्वसाधारण दिगो विद्युत् सेवाबाट लाभान्वित हुने विश्वास नेपाल विद्युत् प्राधिकरणको छ । 

राष्ट्रिय प्रसारणलाइन नजोडिएका कारण रोल्पा र रुकुममा प्युठानको झिमरुक सबस्टेसनबाट ल्याइएको ३३ केभी प्रसारणलाइनको बिजुली मात्र उपलब्ध हुँदै आएको थियो । जसका कारण ती क्षेत्रमा मझौला तथा ठूला उद्योग सञ्चालनको सम्भावना थिएन ।