मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २० शनिबार
  • Monday, 06 January, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८१ पौष २० शनिबार o९:३२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

८५ कम्पनीद्वारा ५१ अर्ब ७४ करोडको आइपिओ ल्याउन आवेदन

सेयर लगानीकर्ताको पर्खाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २० शनिबार o९:३२:oo

नयाँ अध्यक्ष नियुक्त भएको डेढ महिना बितिसक्दा पनि आइपिओ स्वीकृतिले गति लिन सकेन

धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आइपिओ)को स्वीकृतिको पर्खाइमा रहेका कम्पनीको संख्या ८५ पुगेको छ । बोर्डका अनुसार बिहीबारसम्म यी कम्पनीहरूले कुल ५१ अर्ब ७४ करोड २४ लाख एक हजार ६ सय ३२ रुपैयाँबराबर आइपिओ निष्कासनको आवेदन दिएका छन् । 

लामो समयदेखि बोर्डको अध्यक्ष नियुक्ति नहुँदा पाइपलाइनमा आवेदनहरू थुप्रिएर बसेका छन् । गत १० मंसिरको मन्त्रिपरिषद्ले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेयता पनि आइपिओ स्वीकृति प्रक्रिया अघि बढ्न सकेको छैन । 

संख्यात्मक रूपमा सबैभन्दा बढी ४३ जलविद्युत् कम्पनीहरू आइपिओ अनुमतिको पर्खाइमा छन् । यी कम्पनीहरूको प्रस्तावित कुल आइपिओ १८ अर्ब ४० करोड ८४ लाख रुपैयाँ छ । जलविद्युत् क्षेत्रमा सबैभन्दा ठुलो आइपिओ सोलु हाइड्रोपावरले ल्याउने तयारी गरेको छ । यो कम्पनीले दुई अर्ब रुपैयाँको आइपिओ ल्याउने प्रस्ताव गरेको छ । 

कालिञ्चोक हाइड्रोपावरले सबैभन्दा कम सात करोड ५० लाख रुपैयाँको आइपिओ निष्कासन अनुमति मागेको छ । उद्योग क्षेत्रबाट १६ कम्पनीले आइपिओ निष्कासनको अनुमति मागेका छन् । जसमा सबैभन्दा धेरै जगदम्बा स्टिलले प्रतिकित्ता तीन सय रुपैयाँको प्रिमियम मूल्यमा ६ अर्ब दुई करोड १० लाख रुपैयाँबराबर सेयर निष्कासन गर्न चाहेको छ । सबैभन्दा कम परिमाणमा आइपिओको अनुमति माग्नेमा स्मार्ट डोर्स लिमिटेड छ । यस कम्पनीले तीन करोड ६ लाख रुपैयाँको आइपिओ ल्याउने तयारी गरेको छ । 

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले ८० लाख रुपैयाँको आइपिओका लागि स्वीकृति माग गरेको छ । पाँच लघु बिमा कम्पनीले एक अर्ब १२ करोड ५० लाख रुपैयाँको आइपिओ ल्याउन आवेदन दिएका छन् । 

अन्य १० कम्पनीले कुल तीन अर्ब ३२ करोड २८ लाख ४३ हजार पाँच सय रुपैयाँबराबरको आइपिओ ल्याउन बोर्डमा आवेदन दिएका छन् । यसमध्ये डिस मिडिया नेटवर्कले एक अर्ब ३५ करोड ८४ लाख ९५ हजार पाँच सय रुपैयाँको आइपिओ ल्याउन अनुमति मागेको छ ।