वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका- १० का २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका- ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुलसीपुर उपमहानगरपालिका- ५ की ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राकेशलाई काठमाडौं महानगरपालिका- ९ बाट शुक्रबार, दुधराजलाई ललितपुर महालक्ष्मी नगरपालिका- ९ बाट र प्रभालाई ललितपुर महानगरपालिका- १० बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये राकेशले मौरिसस पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. ६ लाख ४५ हजार, दुधराजले क्यानडा पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. सात लाख ५० हजार र प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै एकजना पीडितबाट रु. सात लाख आठ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएकाे छ ।