हेटौँडा उपमहानगरपालिका- ६ स्थित गौरीटार रंगशालाभित्र ११ करोड ७४ लाख रुपैयाँमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्यारापिटसहित पाँचवटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोरबोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए ।
त्रिकेट मैदानमा चारवटा ब्लकमा प्यारापिट निर्माण गर्ने डिपिआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । क्रिकेट मैदान निर्माणका लागि नाै करोड ४२ लाख ८२ हजार रुपैयाँमा २० चैत ०८ मा एसएनएसपिएलएचकेसी जेभीले ठेक्का लिएको थियो ।
उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उनले बताए । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुन्डा दुबो रहने लामाले बताए ।
गत आइतबार नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हेटौँडा- ६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउन्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट संघका पदाधिकारीले ग्राउन्ड अवलोकन गरेका थिए ।