१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० माघ ५ शुक्रबार १६:५२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बलिदानी दिवसमा सहिद परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक राहत

Read Time : < 1 मिनेट
२०८० माघ ५ शुक्रबार १६:५२:००

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ।

वीरगन्जको नगर सभागृहमा छैटौँ बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारले सहिदका परिवारलाई तीन–तीन लाखका दरले रकम हस्तान्तरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उक्त रकम सहिद परिवारलाई हस्तान्तरण गरेका थिए।

विभिन्न समयमा भएका मधेश आन्दोलनमा सहिद भएका ६३ जनाका परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गरिएको मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए। मधेश आन्दोलनको बलमा स्थापित भएको मधेश प्रदेश सरकारले उनीहरूलाई सम्मानस्वरूप राहत रकम उपलब्ध गराएको उनले बताए।

उनका अनुसार मधेश आन्दोलन ०६३ र ०७२ मा घाइते भएका एक सय ३० जनालाई एक लाखदेखि दुई लाख रुपैयाँसम्म हस्तान्तरण गरिएको छ। मधेश आन्दोलनमा सहिद र घाइते भएका परिवारलाई सम्झन र सम्मानस्वरूप यो कार्यक्रम आयोजना गरिएको उनले बताए।

मुख्यमन्त्री यादवले आन्दोलनमा सहिद भएका र घाइते भएकालाई सरकारले विभेद नगरी सधैँ सम्मान गर्ने उल्लेख गरे। उनले आन्दोलनमा सहिद भएका परिवारका व्यक्तिलाई रोजगारी पनि दिँदै आएको र अगामी दिनमा पनि यसलाई निरन्तरता दिने आश्वासन दिए।

छैटौँ बलिदानी दिवस मधेश प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो।