१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ २ मंगलबार ११:४३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् मेयर साह 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बिहान ९–१० बजेतिर कार्यालय पुगिसक्छन् भने बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ २ मंगलबार ११:४३:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बिहान ९–१० बजेसम्म कार्यालय पुगिसक्छन् । बेलुकी ६–७ बजेसम्म कार्यालयमै बस्छन् । अनावश्यक बाहिरी कार्यक्रममा नहिँड्ने भएकाले पनि उनको धेरै समय कार्यालयमै बित्ने गरेको हो । महानगरका सबै विभाग काठमाडौं प्लाजाको एउटै छानामुनि सरेपछि समन्वय तथा निर्णयमा समेत सहजता भएको छ ।

यस अवधिमा उनी आफ्नो एजेन्डा तथा निर्णयका सवालमा कर्मचारी, वडाध्यक्ष, विभागीय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा बैठक बस्छन् । तर, उनी कर्मचारीसँग नियमित मिटिङ बस्न आवश्यक ठान्दैनन् । उनी साताको एकपटक विभागीय प्रमुखसँग बैठक बस्छन् । यसबाहेक प्रमुख प्रशासकीय अधिकृतले हरेक एसएमटी मिटिङ भनेर आइतबार राख्छन् । बैठकमा विभागीय प्रमुखहरू सहभागी हुन्छन् । 

‘मेयरसापले विभागलाई जिम्मेवार बनाउन विभाग प्रमुखलाई नै आफूअन्तर्गतका कर्मचारीसँग बैठक बस्ने, कामकारबाही व्यवस्थित पार्ने, कार्यान्वयन गर्ने, निर्णय गर्ने जिम्मेवारी दिनुभएको छ । अत्यावश्यक परे मात्रै उहाँ कर्मचारीसँग बैठक बस्नुहुन्छ, अन्यथा उहाँले सामान्य भेटघाटका लागि मात्रै कर्मचारीलाई समय दिनुहुन्न, बरु पढेर र योजनामा काम गरेर बस्नुहुन्छ,’ बालेनका सारथि कुमार व्यञ्जनकारले भने, ‘मेयरसाप एउटा सेलेब्रिटी पनि भएकाले उहाँलाई यत्तिकै भेटौँ, फोटो खिचाऔँ, खादा लगाइदिऊँ भन्नेहरू धेरै आउँछन् । तर, उहाँ त्यसरी समय खेर फाल्न खोज्नुहुन्न । विशेष काम, योजना र निर्णय बोकेर आएका व्यक्तिलाई भेट्नुहुन्छ । उहाँले पक्षपाती व्यवहार गर्नुभएको छैन ।’ 

बालेनलाई दैनिक भेट्न आउनेको संख्या दुई सयभन्दा धेरै हुन्छ । चुनाव जितेलगत्तै आफूलाई खादा, माला, टीकालगायत सम्मान दिन नआउनु भनी अनुरोध गरेका उनले त्यसलाई हालसम्म पनि कायम राखेका छन् । उनी अनावश्यक व्यक्तिलाई भेट्दैनन् । फोटो खिच्न, दोसल्ला ओढाउन, फूलको गुच्छा दिन आएकालाई फर्काइदिने गरेका छन् । तर, कंक्रिट योजना बोकेर आउने विज्ञ, कूटनीतिक व्यक्तिलगायतलाई भने भेट दिन्छन् । पछिल्ला दिनमा उनले दैनिक ८–१० जनासँग भेट गर्छन् ।