Skip This
मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्त गरेकोमा कर्मचारी असन्तुष्ट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २ मंगलबार ११:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्त गरेकोमा कर्मचारी असन्तुष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार ११:५७:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झन्डै एक वर्षअघि ट्राफिक सल्लाहकारका रूपमा पूर्वप्रहरी जगतमान श्रेष्ठलाई तलब–सुविधासहित नियुक्ति गरेका थिए । तर, उनको काम हालसम्म एउटा पनि देखिएको छैन । उनले पुतलीसडक, कमलादी, सुन्धारा, रत्नपार्क क्षेत्रको केही सडक वान वे बनाउने सन्दर्भका काम गर्दै आएका छन् ।

बालेनले विभागैपिच्छे सल्लाहकार नियुक्ति गरेकामा कर्मचारी रुष्ट बनेका छन् । हाल महानगरमा मेयरकै इच्छाअनुसार २१ जना सल्लाहकार तलब–सुविधासहित राखिएको छ । अन्य आठजना अवैतनिक र अघोषित सल्लाहकारको टिम पनि छ । नियमअनुसार महानगरपालिकाले कुनै निर्णय वा सूचना जारी गर्नुअघि महानगरको सम्बन्धित शाखाबाट टिप्पणी उठाएर र छलफल गरेर निर्णयमा पुग्नुपर्छ । तर, मेयर साह यो नियमलाई मान्दैनन् । 

उनले कर्मचारीको राय–सुझाव नै लिँदैनन् । सरसल्लाहका लागि कर्मचारीले भेट्न खोज्दासमेत समय दिँदैनन् । ‘कार्यालयमा के–के भइरहेको छ भन्ने थाहा पाउन मेयरसापको फेसबुक हेर्नुपर्छ । मेयरसाप आउनुअघि टिप्पणी उठाउने, छलफल गर्ने र त्यसपछि मात्रै निर्णय हुन्थ्यो,’ महानगरका एक कर्मचारीले भने, ‘तर, मेयरसाप र उहाँका अघोषित सल्लाहकारलाई लाग्यो भने उहाँहरू कर्मचारीसँग सल्लाह नै नगरी निर्णय गरिहाल्नुहुन्छ । निर्णयमा मेयरसापले कर्मचारीलाई पनि हस्तक्षेप गर्नुभएको छ ।’ 

मेयर साहले आफूखुसी नियुक्ति गरेका सल्लाहकारदेखि कर्मचारी पनि चिढिएका छन् । सल्लाहकारले अनावश्यक फाइल माग्ने, फाइल अघि बढाउन दबाब दिने, समन्वय नगर्नेजस्ता समस्या झेल्नुपरेको महानगरका एक विभागीय प्रमुखले बताए । उनका अनुसार मेयर साहले एकलौटी ढंगले सल्लाहकार नियुक्ति गरिरहेका छन् । 

अहिले ती सल्लाहकारको शैक्षिक योग्यता र अनुभवमाथि नै शंका गर्न थालिएको छ । ‘मेयर साहले हामीसँग समन्वय नै नगरी सल्लाहकार नियुक्त गरिरहनुभएको छ, काम गर्नलाई सिनियर कर्मचारी पनि छन्,’ ती विभागीय प्रमुखले भने, ‘मेयरले नियुक्ति गरेका सल्लाहकार हाम्रो काममा हस्तक्षेप गर्न आइपुग्छन् ।’ मेयर साहले नियुक्ति गरेका स्वास्थ्य, राजस्व, कानुनी सल्लाहकारले कर्मचारीलाई दबाब दिएपछि यसअघि विवाद पनि भएको थियो । 

काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्य मेयर हुँदा राजनीतिक व्यक्तिको सचिवालयमा भिड हुन्थ्यो । सेवाग्राहीभन्दा बढी समय पार्टीका कार्यकर्ताले पाउँथे । तर, बालेन आएयता राजनीतिक पार्टीको नाम लिएर भेट्न जानेहरू शून्यप्रायः छन् । बालेनले विगतको योजना, नियम र कार्यलाई निरन्तरता दिने गरेका छन् । 

उनले आफू निर्वाचित भएयता विद्यासुन्दर शाक्यको पालामा पूरा हुन नसकेका केही काम गरेका छन् भने ट्राफिक प्रहरीलाई सिसिटिभी जडानलाई बजेट दिनेलगायत कार्यलाई निरन्तरता दिएका छन् । हाल शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका काम पहिलेकै योजनाअनुसार हो । विद्यासुन्दरको पालामा ०७४ र ०७७ मा बनेका शिक्षा र स्वास्थ्य निर्देशिका, नियमावली र कार्यविधिअनुसार बालेनले निर्णय गर्दै आएका छन् ।