१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २७ शुक्रबार
  • Sunday, 29 September, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o पौष २७ शुक्रबार o७:३१:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

विश्वास गरेकै कर्मचारीबाट मेयर बालेनलाई धोका

प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला, छानबिन नसकिँदासम्म कार्यालय प्रवेशमा रोक 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २७ शुक्रबार o७:३१:oo

कार्यपालिकाको निर्णयविपरीत तथा मेयर बालेन्द्र साहलाई समेत झुक्याएर नयाँ कर्मचारी थप गरेको विवादित विषयमा मुछिएका काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । यति मात्रै होइन, मेयरको सचिवालय टिमले काठमाडौं प्लाजा र सभागृहस्थित प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा समेत मंगलबार ताला लगाइदिएको छ ।

मेयर साहका स्वकीय सचिव भूपदेव साहले प्रमुख प्रशासकीय अधिकृत अधिकारी कार्यालयमा नआउने भएकाले ताला लगाइएको बताए । ‘मान्छे नभएको कार्यकक्ष किन खुला राख्ने ? त्यही भएर ताला लगाइएको हो,’ उनले भने, ‘ताला लगाउनुको अर्थ त्यहाँ भएका सामानको सुरक्षा पनि गर्नु हो, बाँकी विषय छानबिन समितिको प्रतिवेदन आएपछि थाहा हुन्छ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारी चार दिनदेखि बिदामा छन् । मेयर साहले कार्यालय नआउन निर्देशन दिएपछि उनी बिदा बसेका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ । 

विवादमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारी कार्यालय आउन सक्ने भन्दै मेयरको सचिवालयले उनको कार्यकक्षमा ताला लगाएको एक कर्मचारीले बताए । मेयर सचिवालयले कार्यकारीलाई कार्यालय प्रवेश गर्न नदिन नगर प्रहरीलाई समेत निर्देशन दिएको छ । मंगलबार अधिकारी कार्यालयमा आउन सक्ने सूचना पाएपछि महानगर कार्यालयको गेटमा समेत नगर प्रहरी परिचालन गरिएको थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने अधिकारीको कार्यकक्षमा ताला लगाइएकोबारे जानकारी नभएको बताए । ‘ताला लगाउनु ठूलो कुरा होइन, तर मंगलबार दिउँसो म काठमाडौं प्लाजामा हुँदा कार्यकक्ष खुला नै थियो । सभागृहमा भने ताला लगाइएको छ,’ उनले भने, ‘अब कार्यकारीलाई कस्तो र कसरी कारबाही हुँदै छ भन्ने मलाई थाहा छैन, यसबारे मेयरसाबसँग मैले सोधिखोजी गरेको पनि छैन ।’ हाल काठमाडौं महानगरको सबै प्रशासनिक कार्य काठमाडौं प्लाजाबाट भइरहेको छ । सभागृहलाई अनअफिसियल कार्यालयका रूपमा राखिएको छ । तर, कहिलेकाहीँ भेटघाट वा कार्यालयसँग सम्बन्धित काम गर्न मेयर, प्रशासकीय अधिकृत, उपमेयरलगायत सभागृहमा बस्ने गर्छन् । 

कर्मचारी भर्नामा चलखेलको छानबिन प्रतिवेदन यसै साता आउने
कर्मचारी भर्नामा चलखेल गरेको थाहा पाएपछि मेयर साहले छानबिनका लागि सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन राजभण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । छानबिन समितिले यसै साता प्रतिवेदन तयार पारेर मेयर साहलाई पेस गर्ने बताइएको छ । त्यसपछि कर्मचारीमाथि थप कारबाही गर्ने वा नगर्ने थाहा हुनेछ । तर, प्रमुख प्रशासकीय अधिकृतलाई भने अब महानगरबाट फिर्ता पठाइएकाले पुनः महानगरमा नपठाउन महानगरले सामान्य प्रशासन मन्त्रालयलाई जानकारीसमेत गराएको छ । मेयर साहले आफूले बढी विश्वास गरेका व्यक्तिबाट कार्यपालिका निर्णयविपरीत काम भएको भन्दै प्रशासकीय अधिकृतसँग असन्तुष्टि व्यक्त गरेका छन् । 

यसकारण भयो कारबाही 
महानगरको १९ वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँचजना कर्मचारी छन् । उनीहरूलाई एक वर्षअघि नै नियुक्ति दिइएको थियो । त्यसमध्ये एकजना ल्याब टेक्निसियन, एकजना एमबिबिएस डाक्टर, एकजना फर्मासिस्ट र दुईजना स्टाफ नर्स छन् । यिनै कर्मचारीले वडा क्लिनिक चलाउँदै आएका छन् । यसपटक पनि उनीहरूलाई नै निरन्तरता दिने र थप कर्मचारी नराख्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको थियो । तर, कर्मचारी राख्ने निर्णय प्रमाणीकरण गर्दा महानगरकै वरिष्ठ शाखा अधिकृत भगवती बिडारीकी छोरीलाई जागिर खुवाउन ६ जनाको नाम उल्लेख गरेको थाहा पाएपछि मेयर साहले कारबाही गरेका थिए । सो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत अधिकारी, मेयर साहको सचिवालय प्रमुख नूरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी मुछिएका छन् । महानगरकै कर्मचारी बिडारीकी छोरीलाई जागिर खुवाउन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले टिप्पणी उठाएर प्रशासकीय अधिकृतकहाँ पु¥याएका थिए । त्यहाँबाट सो फाइल मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेकहाँ पुगेको थियो । सो जानकारी पाएपछि मेयर साहले छानबिन नसकिँदासम्म चारैजनालाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् । 

महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ । मेयर बालेन्द्र साहको सचिवालयको निर्देशनमा बुधबार साँझ अधिकारीको घरबाट उक्त गाडी ल्याएको हो । महानगरले उक्त गाडी काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखेको एक कर्मचारीले बताए । महानगरका कर्मचारी नियुक्ति र नगरसभाको निर्णय प्रमाणीकरणमा अनियमितता गरेको आरोपमा उनीमाथि छानबिन चलिरहेको छ । स्रोतका अनुसार मेयर साहले अधिकारीलाई १६ दिन बिदामा बस्न निर्देशन दिएका छन् । अधिकारी नौ दिनदेखि कार्यालय गएका छैनन् । महानगरले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको छ । 

विश्वास गरेकाले झुक्याएपछि मेयर साह असन्तुष्ट
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र बालेन साहबीच निर्वाचित भएयता समन्वय र सहकार्य प्रभावकारी थियो । दुईबीच कुनै मनमुटाव र विवाद थिएन । मेयर साहका कारण प्रमुख प्रशासकीय अधिृकत अधिकारीलाई काम गर्न पनि सहज थियो । मेयर साहले पनि आफ्नो भावना बुझ्ने प्रशासकीय अधिकृत पाएको अनुभूति गरेका थिए । तर, कार्यपालिका बैठकमै नराखेको विषयमा झुक्याएपछि प्रशासकीय अधिकृतसँग मेयर साह असन्तुष्ट बने । 

त्यस्तै, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन् । उनकै सक्रियतामा महानगर सुलभ फार्मेसी सञ्चालनको तयारी पनि अघि बढिरहेको छ । तर, वडा नम्बर १९ मा करारका कर्मचारी राख्न झुक्याएर टिप्पणी उठाएपछि उनीप्रति पनि बालेन रुष्ट बनेका छन् । प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य विभाग प्रमुखसँग मिलेमतो गरेर नियमविपरीत काम गर्न लागेको थाहा पाएपछि नूरनिधि न्यौपाने र भगवती बिडारीलाई पनि मेयर साहले छानबिन नसकिँदासम्म बिदामा बस्न निर्देशन दिएका छन् ।