काठमाडौं महानगरको सुलभ फार्मेसी सञ्चालनसम्बन्धी योजना अन्योलमा परेको छ । यही पुस पहिलो सातादेखि सुलभ फार्मेसी सञ्चालन योजना अघि सारेको महानगरले फार्मेसी सञ्चालनका लागि थप गृहकार्य नगर्दा योजना अन्योलमा परेको हो ।
महानगरपालिकालले औषधि पसल (फार्मेसी) सञ्चालन गर्ने ठाउँ नपाएकाले योजना अन्योलमा परेको बहाना बनाउँदै आएको छ । साथै, महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल विवादमा तानिएपछि योजना थप अन्योल बनेको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तत्काल फार्मेसी सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । ‘हामीले योजना त बनाएका छौँ, कतिपय काम अघि बढेको थियो, तर यसको अगुवा गर्ने व्यक्ति अहिले घरमा बस्नुभएको छ, यसबारे के टुंगो हुने हो थाहा छैन, अर्को कुरा ठाउँको पनि अभाव भइरहेको छ,’ उनले भने, ‘तर, बजेट र योजना त हामीले छुट्याएका छौँ ।’ सुलभ फार्मेसी सञ्चालनका लागि बबरमहलस्थित महानगरपालिका–११ को वडा कार्यालय रहेको भवनको एक तलामा सुलभ फार्मेसी राख्ने ठाउँ भेटिएको छ । तर, अन्य चार ठाउँमा सुलभ फार्मेसी राख्न ठाउँ भेटिएको छैन । ठाउँ नभेटिएपछि महानगरले घर भाडामा दिन इन्छुक घरबेटीका लागि सूचना जारी पनि गरिसकेको छ ।
हाल महानगरपालिकाले महाराजगन्ज, कालीमाटी, वीर अस्पतालआसपास र लैनचौर क्षेत्रमा सुलभ फार्मेसी खोल्न ठाउँ खोजिरहेको छ । फार्मेसी सञ्चालनका लागि औषधि सप्लायर्स कम्पनीहरूसँग समन्वय गर्ने, सफ्टवेयर निर्माण गर्नेलगायत काम भइरहेका छन् ।