लामो समयदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका विकास आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पैदल यात्रा गर्ने भएका छन् । रास्वपाका २१ सांसदले समयमा काम सम्पन्न नभएर अलपत्र रहेका र नागरिकले सास्ती व्यहोरिरहेका २१ आयोजनामा सरकारलाई दबाब दिने उद्देश्यले पैदल यात्रा गर्ने भएको हो ।
रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालका अनुसार कुन–कुन आयोजनामा दबाब यात्रा गर्ने भन्ने विषयमा विस्तृत अध्ययनको जिम्मेवारी पार्टीको पूर्वाधार विकास अनुगमन विभागलाई दिइएको छ । विभागकी संयोजक रहेकी सांसद निशा डाँगी संसद्को पूर्वाधार विकास समितिको समेत सदस्य छिन् ।
‘कुन–कुन आयोजनालाई प्राथमिकतामा राखेर सुरु गर्ने भन्ने जिम्मा पूर्वाधार विभागलाई दिएका छौँ,’ उपसभापति अर्यालले भने, ‘सडकमा मात्रै नभएर पटक–पटक म्याद थप हुँदा पनि सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका साना–ठूला आयोजनामा पैदल यात्रा गर्ने तयारी छ । सरकारलाई खबरदारी गरेर समयमै ती आयोजना सम्पन्न गराउन दबाब दिने हिसाबले यो पैदल यात्राको तयारी भएको हो ।’ अर्यालका अनुसार ३ माघमा तोकिएको रास्वपाको केन्द्रीय समितिको बैठकले यसबारे विस्तृत निर्णय गर्ने तयारी छ । ‘पार्टीको पूर्वाधार विभागले विस्तृत अध्ययन गरेर बैठकमा सुझाव पेस गर्नेछ । त्यसकै आधारमा यसलाई टुंग्याएर यात्रा अघि बढाउनेछौँ,’ अर्यालले भने ।
शनिबार रास्वपाका सांसद विराजभक्त श्रेष्ठले आफू निर्वाचित काठमाडौं– ८ मा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेले पहिलोपटक पार्टीको यो तयारीबारे जानकारी गराएका थिए । रास्वपाले यसअघि ९–११ पुसमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय दबाब यात्रा गरेको थियो ।
रास्वपा उपसभापति डोलप्रसाद अर्याल भन्छन् ‘पार्टीको पूर्वाधार विभागले विस्तृत अध्ययन गरेर बैठकमा सुझाव पेस गर्नेछ । त्यसकै आधारमा यसलाई टुंग्याएर यात्रा अघि बढाउनेछौँ ।’
लामिछानेको नेतृत्वमा रास्वपाका सांसदले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी चोकबाट दबाबमूलक पदयात्रा सुरु गर्दै बुटवलमा पुगेर टुंग्याएको थियो । तर, त्यतिवेला पैदल यात्रालाई नै ओझेलमा पार्ने आफूमाथि सहकारीको रकम ठगी गरेको आरोप लागेको भन्दै लामिछानेले दुःख पोखे । ‘हाम्रा साथीहरूसँगै जोडिएर बुटवल–नारायणगढको पैदल यात्रा गरेको थिएँ,’ लामिछानेले सार्वजनिक सुनुवाइ कार्यक्रममा भने, ‘त्यो पैदल यात्रा गर्दा खुट्टामा फोका उठेर जति घाउ बन्दा पनि त्यति दुखेन, जति गलत समाचारको हेडलाइनले दुख्यो । त्यसैले अघि मैले भनेजस्तै हामी हावा टन्न भएको भलिबलजस्ता हौँ, ड्याङ हान्नेबित्तिकै झन् माथि उफ्रने !’
लामिछानेले रास्वपाका २१ सांसदले लामो समयदेखि अलपत्र रहेका २१ वटै विकास आयोजनामा दबाबमूलक पैदल यात्रा गरेर त्यसको समाधानपत्र सरकारलाई बुझाउने बताए । ‘रास्वपाका २१ सांसदले २१ वटै अलपत्र आयोजनामा, दबाब यात्रा गरेर ज्ञापनपत्र होइन, त्यसको समाधानसहित समाधानपत्र सरकारलाई दिनेछौँ । नबनेसम्म खबरदारी गर्नेछौँ । यो हाम्रो मिसन– ०८४ को एउटा अभियान पनि हो । यसको मोडलबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेरै दिनेछौँ ।’
रास्वपाकी पूर्वाधार अनुगमन विभागकी संयोजक रहेकी सांसद निशा डाँगीले अलपत्र राष्ट्रिय गौरवका २१ वटै आयोजनामा यात्रा प्रारम्भ गर्ने गरी तयारी भइरहेको बताइन् । नारायण–बुटवल दबाब यात्राको प्रभावकारिताले थप यात्राका लागि प्रोत्साहित गरेको उनको भनाइ छ । ‘हाम्रो नारायणघाट–बुटवल दबाब यात्रा प्रभावकारी रह्यो,’ रास्वपाकी सचेतकसमेत रहेकी डाँगीले भनिन्, ‘हामी बाटोमा हिँड्दै गर्दा प्रधानमन्त्रीले देशका नाममा गरेको सम्बोधनमा नारायणगढ–बुटवल सडकखण्डको काम छिटो सम्पन्न गर्न डबल सिफ्टमा काम गर्न निर्देशन दिनुभएको थियो । सबै सुस्त र अलपत्र आयोजनामा यस्तो निर्देशन र दबाब पुर्याउन थप पैदल यात्राको तयारी गरेका हौँ ।’