१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर, चिसोले बिरामी पर्न थाले वृद्धवृद्धा

Read Time : > 2 मिनेट
२o८१ बैशाख २२ शनिबार o८:१९:oo

बाक्लो हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि चिसो बढेपछि विपन्न, वृद्धवृद्धा, गर्भवती, सुत्केरी प्रभावित छन् । सिराहाको लहान नगरपालिका– १४ बस्तीपुरको मुसहर बस्तीका करिब ६५ वर्षीय भसन सदाय घरको आँगनछेउमा बनाएको परालको खोपडीमा सुत्नुपर्दा चिसोले थलिएका छन् ।

सानो झुपडीमा छोरा, बुहारी, स–साना नातिनी सुत्न पनि सकस हुँदा आँगनको छेउमा मागेर ल्याएको परालको खोपडीमा सुत्न थालेपछि चिसोले दमको समस्या बल्झिएको उनको गुनासो छ । ‘छोरोले मजदुरी गर्छ । बालबच्चा पाल्नै ठिक्क छ,’ भसनकी श्रीमती सम्तोलियाले भनिन्, ‘छोराले दुई छाक जसोतसो खुवाइरहे पनि बुढाबुढी परालमा रात काटिरहेका छौँ ।’ 

चिसोले बस्तीपुरकी ७५ वर्षीया बिन्दा पासवानको दम बढेको छ । ‘पिठ्युँ दुखेर हिँडडुल गर्न पनि लौरोको सहारा चाहिन्छ, मजदुरी गरेर जीविका चलाउने छोराहरूको अवस्था पनि राम्रो नभएकाले गाउँघरमा मागेर गुजारा गरिरहेकी छु,’ उनले भनिन् ।

बस्तीपुर गाउँकी करिब २३ वर्षीया मनीषा सदाय आठ महिनाकी गर्भवती छिन् । पहिलो सन्तान तीन वर्षका छोरा रहेकी उनको श्रीमान् जीवछ सदायले ट्र्याक्टर मजदुरी गरेर पाँचजनाको परिवारको जीविका चलाइरहेका छन् । ‘आठ महिनाकी गर्भवती छु, तर न जाडोमा न्यानो कपडा छ, न कुनै पोषिलो खानेकुरा,’ उनले भनिन्, ‘रातभरको कठ्यांग्रिने चिसोले ज्यान नै जालाजस्तो हुन्छ ।’ पछिलो हप्ता दिनदेखि घाम नलाग्ने हुनाले परालको घुर तापेर बस्ने गरेको उनले बताइन् । 

मीनकुमार अर्याल वरिष्ठ मौसमविद्
लेयर बनेर बस्दा जलवाष्पयुक्त हावा तल्लो वायुमण्डलमा घुमिरहेको छ । सूर्यको किरण पनि छिर्न नसकेपछि तराई–मधेसमा हुस्सु बढेको हो । आइतबारबाट पश्चिमी वायुको प्रभाव देखिन्छ । बादलसँगै हावाको गतिले लेयरलाई भत्काउँदा हुस्सु केही घट्न सक्छ । भिजिबिलिटी अपराह्नपछि सुधार हुन्छ ।

१५ दिनअघि छोरी जन्माएकी सुत्केरी हुन्, स्थानीय २७ वर्षीया ममतादेवी सदाय । गाउँनजिकैको इँटाभट्टामा मजदुरी गर्दै आएका श्रीमान् सञ्जय सदायको कमाइले सासू–ससुरासहित ६ जनाको परिवारको हातमुख जोड्नसमेत गाह्रो पर्ने भएकाले चिसोमा सुत्केरी अवस्थामा खानुपर्ने पोषिलो खानेकुरा त परको कुरा, न्यानो ओढ्नेसमेत नहुँदा चिसोमा अप्ठ्यारो झेलिरहेको उनले गुनासो गरिन् । 

त्यही गाउँका ६५ वर्षीय चुल्हाई सदाय तीन वर्षदेखि पक्षाघातले थलिएका छन् । करिब १० वर्षअघि श्रीमती गुमाएका उनका दुई भाइ छोराले मजदुरी गरेर आ–आफ्नो परिवारको लालनपालन गर्दै आएका छन् । दुईवटा झुपडीमा दुई भाइ छोराका परिवार बस्ने भएकाले पक्षाघातका बिरामी मुटु कमाउने चिसोमा बाटोछेउको परालको खोपडीमा बस्दै आएका छन् । ‘हामी गरिबलाई कुनै सरकारले पनि हेरेन, कम्तीमा दाउरा दिए पनि त्यही तापेर त ज्यान जोगाउँथ्यौँ,’ उनले गुनासो गरे ।

चिसोका कारण अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्न थालेका छन् । भेरी अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी र निमोनियाका बिरामी बढेको सूचना अधिकारीसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले जानकारी दिए । ‘चिसो बढेपछि एक सातायता बिरामी बढेका छन्,’ उनले भने ।

दाउरा बाँड्न थालियो, आगो ताप्ने व्यवस्था
चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेपछि वन कार्यालयले दाउरा वितरण गर्न थालेका छन् । डिभिजन वन कार्यालय धनगढीले धनगढीका विभिन्न ठाउँमा आगो बाल्ने व्यवस्थाका लागि दाउरा वितरण गरेको हो । भूमिहीन, सुकुम्बासीलाई प्राथमिकतामा राखेर सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्थाका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न निर्देशन दिइएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले बताए ।

त्यसैगरी, चिसोबाट जोगाउन नेपालगन्ज उपमहानगरपालिकाले नगरमा आगो ताप्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणको अत्यधिक चाप हुने नेपालगन्जका विभिन्न चोक र सडकमा आगो ताप्ने व्यवस्था मिलाइएको मेयर प्रशान्त विष्टले बताए । उनले आगो ताप्नका लागि उपमहानगरले दाउरा वितरण गरिएको जानकारी दिए । 

लहान नगरपालिकाले २४ वटै वडाका विपन्न बस्तीमा दाउरा बाँड्ने तयारी गरेको छ । लहान– १४ का वडाध्यक्ष धनिकलाल यादवले बस्तीपुरको मुसहर बस्तीसहित वडा क्षेत्रका अन्य गरिब, दलित बस्तीमा बाँड्ने तयारी रहेको बताए । 

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी पूर्व भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा बादल बहन सुरु गरेकाले केही दिन हिमापात हुन सक्छ । त्यसबाहेक पश्चिमबाट पश्चिमी वायुको प्रभाव पनि बढिरहेको छ । 

‘दुवै सिस्टम मर्ज हुँदा धेरै क्षेत्रमा हिमापात हुन सक्छ,’ उनले भने, ‘सिस्टम मर्ज नहुँदै कोशी र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने देखिन्छ ।’ हालको अवस्थमा पश्चिम नेपालमा वर्षा हुन सक्ने देखिए पनि कति क्षेत्रमा र कति ठूलो वर्षा हुन सक्छ भनेर यकिन भइसकेको छैन । आधा हिउँद घर्किसक्दा पनि यसपटक हिउँदे वर्षा भएको छैन ।

ad
ad