मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २२ शुक्रबार
  • Friday, 11 April, 2025
२o८१ चैत २२ शुक्रबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्ने सडकखण्डमा सास्ती खेप्दै यात्रु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २२ शुक्रबार १८:२२:oo

पछिल्लो समय बुटवल–नारायणगढ सडक विस्तारको कामले तीव्रता पाएको छ। तर, दाउन्नेखण्डमा निर्माण कम्पनीले यात्रुको सहजतालाई ख्याल नै नगरी आफूलाई सजिलो हुने गरी मात्र काम गर्दा यात्रा गर्न कठिन भएको यात्रुहरूको गुनासो छ।

दाउन्नेको १४ किलोमिटर कच्ची सडक पार गर्न सामान्य अवस्थामा दुईदेखि चार घण्टा लाग्ने गरेको थियो। तर, विस्तारको काम सुरु भएपछि आठदेखि १० घण्टासम्म लाग्ने गरेको यात्रुले गुनासाे गरेका छन्। ठाउँठाउँमा ठुला खाल्डाखुल्डी, धुलाम्य सडक, त्यसमाथि कल्भर्ट निर्माणका लागि काम भएका अधिकांश ठाउँमा एकतर्फी यातायात सञ्चालनजस्ता कामले यात्रा कष्टपूर्ण बनेको हो। दुई दिनअघि कावासोतीबाट बुटवल गएका रामप्रसाद श्रेष्ठले आफू जाँदा नाै र आउँदा नाै गरी १८ घण्टा बाटोमै जाम परेको बताए।

यसैबिच दाउन्नेमा बालुवा बोकेको टिपरको पट्टा भाँचिँदा बिहीबार बिहान मात्रै तीन घण्टा सडक पूर्ण रूपमा अवरुद्ध भयो। विनयी त्रिवेणी गाउँपालिका– २ घिउखोलानजिकै लु.२ख ४२५ नम्बरको टिपर बिग्रिँदा तीन घण्टासम्म सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ।

सडक पूर्ण रूपमा जाम हुने र एकतर्फी रूपमा खुल्ने क्रम नियमितजस्तो भएकाले अहिले दाउन्नेमा २४ घण्टा नै ट्राफिक खटाउन परेको जिल्ला ट्राफिक कार्यालय नवलपुरका कार्यालय प्रमुख जनक बञ्जराले बताए। सडक विस्तारको क्रममा रहेको यस खण्डमा पहाड काट्ने, कल्भर्ट निर्माणजस्ता कामले हरेक दिन सवारी जाम हुने गरेको छ।

छुटाउनुभयो की ?