
१५ चैतको राजावादी आन्दोलनसँग कुनै साइनो नभए पनि प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी आफ्नी साथी रेविका खत्रीको उपचारमा कुनै कमी नगर्न र उनी पूर्ण रूपमा निको हुने स्थिति नभएमा उनलाई आजीवन खर्च राज्यले व्यहोर्नुपर्ने भन्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन्।
कोटेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीको नेतृत्वमा विद्यार्थीले शुक्रबार गृहमन्त्री लेखकलाई गृह मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन्। विज्ञप्तिमा घर फर्किरहेकी रेविकालाई विनाकारण गोली हान्नु राज्यको ठुलो गल्ती भएको उल्लेख गर्दै रेविकाको उपचार निःशुल्क हुनुपर्ने, उपचारमा कुनै लापरबाही हुन नहुने र उनी पूर्ण रूपमा निको नभएर अपांग भएको अवस्थामा उनका लागि आजीवन जीवनयापन खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ।
रेविकाको उपचारमा सघाइरहेका परिवारका कुरुवा सदस्यको खर्च पनि राज्यले व्यहोर्नुपर्ने विज्ञप्तिमार्फत विद्यार्थीले माग गरेका छन्। रेविकालाई १५ गते साँझ बालकुमारीनजिक भित्री गल्ली हुँदै घर फर्किरहेको वेला गोली लागेको थियो। गोली लागेर उनको घुँडामाथिको भाग क्षतविक्षत भएको छ। उनको मीनभवनस्थित सिभिल हस्पिटलमा सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ। दुईपटक शल्यक्रिया गर्दासमेत उनको खुट्टा पूर्ण रूपमा चल्छ वा चल्दैन अझै भन्न सकिने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
रेविका कोटेश्वर क्याम्पस स्नातक तह व्यवस्थापन संकाय तेस्राे वर्षकी छात्रा हुन्। उनको उपचारका लागि हिजो मात्र कोटेश्वर क्याम्पसले ३५ हजार रुपैयाँ सहयोग गरेको क्याम्पसका प्रन्सिपल डा. प्रकाश पोखरेलले जानकारी दिएका छन्। रेविकोको न्यायका लागि कोटेश्वर क्याम्पसका विद्यार्थीले दैनिकजसो प्रदर्शन गरिरहेका छन्।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले घाइतेको उपचार सरकारले निःशुल्क गर्ने र उपचारमा कुनै लापरबाही नहुने आश्वासन दिएका छन्।