
गोरखाका राजाले सुरु गरेको नेपाल एकीकरण अभियानमा सशक्त सहयोग पुर्याएको ऐतिहासिक जाजरकोट राज्यको प्रतीक ‘सेतो दरबार’ संकटको डिलमा पुगेको छ । १७ कात्तिक ०८० मा आएको भूकम्पले पुर्याएको क्षति मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो । जीर्ण बनेको दरबारमा बुधबार साँझ परेको वर्षा र हावाहुरीले थप क्षति पुर्याएको छ ।
विसंं १८५२ मा १६औँ राजा इन्द्रनारायण शाहले सुरु गरेका दरबार निर्माणको कामलाई २०औँ राजा नरेन्द्रविक्रम शाहले १९२६ मा भव्य स्वरूप दिएका थिए । करिब दुई शताब्दीदेखि जाजरकोटको गौरव बनेको दरबार अहिले टुटफुट र बेवास्ताको अवस्थामा छ ।
अविरल वर्षाले दरबारका बाँकी रहेका भागमा थप क्षति पुर्याएको छ । ढोका, झ्याल, ढलान र भित्ता भत्किन थालेका छन् । केही भाग भत्किसकेको छ भने बाँकी भत्किने संघारमा छन् । स्थानीय खेमराज रोकाय भन्छन्, ‘५० वर्षअघि दरबार हेर्न टाढाबाट मान्छे आउँथे । अहिले त सरकारकै बेवास्ताले पहिचान मेटिँदै छ ।’ ०२५ मा दक्षिणी नाल भत्काएपछि अहिले दरबार तीन नालमा सीमित छ । पुनर्निर्माणका लागि अहिलेसम्म न त कुनै सरकारी योजना आएको छ, न त बजेट नै विनियोजन भएको छ । ‘भूकम्प गएको १७ महिना बितिसक्यो, तर सरकारले एउटा इँटासमेत लगाएको छैन,’ स्थानीय नरबहादुर शाहको गुनासो छ ।
सय पर्यटकीय गन्तव्यमध्ये एक जाजरकोट दरबार
सरकारले जाजरकोट दरबारलाई केही वर्षअघि मुलुकका सय प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूचीकृत गरेको थियो । साथै, यो दरबार पुरातत्व विभागको सम्पदा सूचीमा पनि पर्छ । तर, सूचीमा राखेर मात्र संरक्षण नहुने स्थानीयको भनाइ छ । उनीहरू भन्छन्, ‘कागजमा दरबार बाँच्छ, तर भित्री संरचना जोगाउन त सरकारको इच्छा र पहल चाहिन्छ ।’
दरबारको संरक्षणका लागि स्थानीयले पटक–पटक जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय तहसम्म ध्यानाकर्षण गराइसकेका छन् । तर, कुनै पनि निकायबाट ठोस पहल नहुनु उनीहरूका लागि झन् पीडादायक बनेको छ । ‘हाम्रो इतिहास, हाम्रो गौरव र हाम्रो पर्यटन सम्भावना सँगसँगै लोप हुँदै छ,’ जाजरकोट सम्पदा संरक्षणका अध्यक्ष जनक केसी भन्छन्, ‘अब पनि सरकार चुप बस्यो भने चाँडै दरबार नभएको जाजरकोट भन्छौँ ।’ इतिहासका पानामा महत्वपूर्ण योगदान बोकेको यो दरबारको संरक्षण, पुनर्निर्माण र प्रचारप्रसार गरिनु आजको आवश्यकता रहेको अध्यक्ष केसीले बताए ।
मञ्चले दरबारपरिसरमा ऐतिहासिक संग्रहालय निर्माण गरी जाजरकोटको गौरवशाली अतीतलाई सजीव बनाउने प्रस्तावसमेत गरेको छ । तर, सरकारी चासो अभावकै कारण सपना अधुरो छ । सेतो दरबार जोगाउने कि गुमाउने भन्ने निर्णय अब राज्यको हातमा छ । बुधबार रातिको हावाहुरीका कारण भवनको एकतर्फको छाना खसेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताए ।
भूकम्पका कारण चर्किएको भवन २२ चैतमा गएको भूकम्पले थप जीर्ण बनेको थियो । हावाहुरीसहितको पानीका कारण भवन भत्किएको छ । भवन तत्काल मर्मत वा पुनर्निर्माणका लागि पुरातत्व विभागसँग समन्वय गर्दा आर्थिक अभाव भएको जवाफ आएको उनको भनाइ छ । भूकम्प जानुअघिसम्म दरबारबाटै प्रशासन कार्यालयको काम सञ्चालन हुँदै आएको थियो । भूकम्पका कारण पूर्ण क्षति भएपछि कार्यालयको काम अस्थायी आवासबाट हुँदै आएको छ ।