१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
लोकबन्धु घिमिरे
२o८१ चैत २९ शुक्रबार o७:१५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सगरमाथा संवाद र हिमनदीको चर्चा

मानिसले अब हिमाल र हिमनदीमाथि अत्याचार गर्न छोड्ने कि नछोड्ने भन्ने प्रश्न आगामी सगरमाथा संवादमा जोडदार रूपमा उठ्नुपर्छ

Read Time : > 5 मिनेट
लोकबन्धु घिमिरे
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o७:१५:oo

गत २१ मार्चमा संयुक्त राष्ट्र संघले वैश्विक पानी दिवसलाई हिमनदी संरक्षण अभियानका रूपमा मनायो । लगातार हरितगृह ग्यास उत्सर्जन बढिरहँदा पृथ्वीमा तापमान वृद्धि रोकिने छाँटकाँट देखिन्न । यतिवेला वैश्विक जलवायु कार्यसम्पादनसम्बन्धी पेरिस सहमतिबाट अमेरिका अलग भएको छ । सन् २०५० सम्म आशा गरिएको नेट जिरो कार्बन उत्सर्जन र १.५ डिग्री तापमानको लक्ष्य पूरा नहुने अवस्था छ ।

कोप–२९ पनि असफल भयो । यसले जलवायु वित्त कोष जुटाउन सकेन । धनी देशले तातिरहेको पृथ्वी, पग्लिँदै गरेको हिमालय, डुब्दै गएका टापु मुलुकको चिन्तै गरेनन्, उल्टो गम्भीर पर्यावरणीय विनाशप्रति हँसीमजाक गरे । सन् २०२५ जलवायु टिपिङ बिन्दुको संघारमा पुगेको छ, अब १.५ डिग्री तापमान कट्न सक्छ, किनकि वायुमण्डलमा कार्बनडाइअक्साइड यतिखेर ४२५ पिपिएम पुगेको छ, जुन लाखौँ वर्षयताको उत्कर्ष हो । यसैले जलवायु विनाशलीलाका प्रारम्भिक लक्षण देखिँदै छन् ।

वैश्विक नब्बे प्रतिशत हिउँ रहने अन्टार्कटिका तीव्र गतिमा पग्लिँदै छ, नौ प्रतिशत हिउँ भइरहने आर्कटिक–ग्रिनल्यान्ड त्यस्तै छ भने एक प्रतिशतभन्दा कमको थर्ड पोल (हिमालय क्षेत्र) र अन्य पहाडी हिमनदी पनि हराउन थालेका छन्, तापमान बढ्दा हुने पहिलो विनाश हाम्रो हिमनदी क्षेत्र (ग्लेसियर रिजन) मा गहिरिँदै छ ।

हिमालयमा एकातिर हिउँ कम पर्दै छ भने अर्कातिर सयौँ वर्षको सञ्चित आइस सिट पग्लिने दर ह्वात्तै बढेको छ । अहिले देखिएका समस्यामध्ये हिउँ पर्ने समय छोटो रहनु, हिउँको गहिराइ कम हुनु, शिखरमा हिउँभन्दा वर्षाको पानी बढेको देखिनु मुख्य हुन् । यसबाट निम्न प्रश्न बारम्बार उठिरहेका छन्– श्वेताम्बर हिमवत्खण्ड कतै अस्तित्व विलोपनतिर जाँदैै त छैन ? यहाँ कालो पत्थर मात्रै रहने पो हो कि ? अनि कसरी जोगाउने हाम्रा शैल्यशिखर हिमचुली र यी हिमगंगालाई ? हिमालय त हाम्रो सांस्कृतिक धरोहर पनि हो । यसको आध्यात्मिक मूल्यबोध आउँदो पुस्ताले कसरी गर्ला ?

यक्ष प्रश्न यही हो । नेपाल सरकारले आगामी जेठमा सगरमाथा संवाद गर्ने भएकाले यसै सेरोफेरोमा पर्यावरणीय र सांस्कृतिक चेतनाको सम्मिश्रण गर्दै हामी पनि बृहत् हिमालय संवादतर्फ लागौँ । यसलाई नागरिकस्तरबाट हिमवत्खण्ड संवाद पनि बनाउन सकिन्छ ।

धनी देशले तातिरहेको पृथ्वी, पग्लिँदै गरेको हिमालय र डुब्दै गएका टापु मुलुकको चिन्ता गर्नुको साटो गम्भीर पर्यावरणीय विनाशप्रति हँसीमजाक गरिरहेका छन् 
 

संसारभर हिमनदी हराउँदै, जलभण्डार घट्दै :  अन्टार्कटिका र आर्कटिक–ग्रिनल्यान्ड क्षेत्रबाहेक संसारमा करिब दुई लाख हिमाल र हिमनदी रहेको बताइन्छ । अष्ट्रेलियाबाहेक ६ महादेशमा यस्ता हिमनदी (हिमभण्डार) रहेको र ती हिमनदी बढ्दो तापमानका कारण जोखिममा परेको भन्दै युनेस्कोको ‘माउन्टेन एन्ड ग्लेसियर वाटर टावर रिपोर्ट–२०२५ ले सन् १९६० यता मात्रै संसारबाट सात हजार हिमनदी हराएको देखाएको छ । यही अवधिमा बचेका हिमनदीको क्षेत्रफल २६ प्रतिशतले कम भएको बताइएको छ ।

यस प्रतिवेदनअनुसार यी हिमनदीबाटै १.५ बिलियन जनसंख्यालाई दैनिक पिउने पानीको ७० प्रतिशत आपूर्ति भइरहेको छ । भर्खरै भेनेजुएलाको हम्बोल्ट ग्लेसियर सदाका लागि हरायो, यो ४९ सय मिटर उचाइमा थियो । अहिले ग्रिनल्यान्डमा पानी प¥यो, जहाँ हिमनदीको थुप्रोबाहेक केही हुन्नथ्यो । जलवायु परिवर्तनका यस्ता घटनाबाट हिमनदी हराउने जोखिम अफ्रिकामा बढी देखिन्छ, त्यहाँ युगान्डा, कंगोलगायत पूर्वी भागबाट सन् २०३० पछि सबै ग्लेसियर सकिनेछन् भनिएको छ । क्यानडा र न्युजिल्यान्डमा पनि अबको ५० बर्षभन्दा बढी हिमनदी रहन्नन् भनिएको छ ।

तापमान वृद्धि नरोक्ने हो भने एसिया, लेटिना, आल्पससहित पहाडी ग्लेसियर र हिमालयमा पनि त्यस्तै हिउँक्षेत्र नरहने संवेदनशील स्थिति छ । हाम्रो हिमालयमा रहने शेर्पा–तामाङ संस्कृति एवं चोमोलोङमामा धेरै देवीदेवताको स्थान रहेजस्तै अफ्रिकी हिमशिखरमा कितासाम्बा देवीको वासस्थान जोखिममा पर्दा यसको सांस्कृतिक र आध्यामिक मूल्य क्षतिभरणको चिन्ता थपिएको छ । हिमनदी हराउँदा यस्ता विकासशील देशमा पर्ने आर्थिक र गैरआर्थिक नोक्सानी (लस एन्ड डेमेज) बापत जलवायु न्याय कसरी उपलब्ध गराउने भन्ने पनि चिन्ता छँदै छ । बाढी, पहिरो, वनडढेलो, सुक्खाका अतिरिक्त समुद्री डुबानसमेत यही हिमसञ्चिति पग्लिँदा भएको मानिन्छ ।

धु्रवीय हिउँ र अन्य हिमच्यादर पग्लिँदा सन् २०००–२३ सम्म १८ मिमि समुद्र तह बढेको छ । यसले तीन बिलियन जनसंख्यालाई जोखिममा पार्दै छ, किनकि प्रतिएक मिमि उचाइ बढ्दा तीन लाख मानिस समुद्रछेउबाट विस्थापन हुन्छन् । यो पीडा टुभालु, फिजी, सोलोमन आइलेन्ड, सामोआ, मार्सल आइलेन्ड र मालदिभ्सजस्ता साना टापु देशलाई थपिँदै छ । विश्व मौसम संगठन (डब्लुएमओ रिपोर्ट २०२५) अनुसार संसारले विगत पचास वर्षमा नौ हजार गिगाटन ग्लेसियर हिउँसञ्चिति गुमाएको छ, जुन २५ मिटर बाक्लो जर्मनीजत्रै क्षेत्रफल हो ।

यति हिउँबाट आठ अर्ब मानिसलाई तीस वर्षसम्म खानेपानी पुग्ने थियो । वैज्ञानिकहरूका अनुसार सबभन्दा धेरै हिउँ पग्लिएको वर्ष सन् २०२२–२४ लाई मानिन्छ, २०२४ मा मात्रै ४५० गिगाटन हिउँ नोक्सान भएको छ, किनकि यो वर्ष जमिनको तापमान विगत सय वर्षयताको उच्च बिन्दु (१.४६ डिग्री से) मा गएको थियो । आर्कटिक क्षेत्रले मात्रै विगत ५० वर्षयता १.३४ मिलियन वर्गकिमि हिमक्षेत्र गुमाएको छ । भारतीय जलसंसाधन आयोगको प्रतिवेदन–२०२५ अनुसार त्यहाँका प्रमुख १५५ बृहत् जलाधारीय बेसिनबाट ४५ प्रतिशत भूमिगत जलभण्डार घटेको छ । यी जलभण्डार उत्तर प्रदेश, बिहार, हिमाञ्चल र उत्तराखण्डमा बढी छन्, जो नेपालसँग जोडिएका छन् ।

यसरी नै संसारका तीन बृहत् ग्लेसियर कम्प्लेक्स (मालास्पिना, विक्हम र बेरिङ) सहित १९ वटा ग्लेसियर रिजनमध्ये माउन्टेन ग्लेसियर रिजन जलवायु परिवर्तन र तापक्रम वृद्धिको बढी जोखिममा छन् । जसमा युरोपीय आल्पस, एसियन पहाडी हिमनदी र लेटिना क्षेत्रको एन्डिज ग्लेसियर क्षेत्र उच्चतर संवेदनशील अवस्थामा देखिन्छन् । प्रकृतिमाथि मानव सिर्जित (एन्थ्रोपोजेनिक) अत्याचारका कारण पैदा भएको जलभण्डार संकुचन र हराउँदै गरेका हिमनदीको विलौना, दुखान्त, पीडा, वेदना र सुस्केराले धर्तीको हृदयमा कम्पन ल्याइरहेको छ । के मानिसले हिमालमाथि अत्याचार गर्न छोड्लान् ? यो प्रश्न आगामी सगरमाथा संवादमा उठ्ने नै छ । यसको समाधान नभएमा मानवजातिले प्रलयको ठुलो मूल्य चुकाउनेछ, किनकि ध्रुवीय क्षेत्र, क्रायोस्फेयर, आल्पस, एन्डिस, रकी, ककेसस तथा हिमालय पर्वतमालाको हिउँ र यी दुई लाख हिमनदीको मूल योगदान पृथ्वीलाई चिसो बनाइराख्ने र यस ग्रहका प्राणीको जीवन रक्षार्थ सबैलाई खानेपानी उपलब्ध गराउनु हो । अब यो नै जलसंकट भएर आउनेछ ।

माउन्टेन ग्लेसियर र हाम्रो हिमालय : हिमनदी र पहाडी जलवायु विज्ञानका अध्येता प्रा. रिचार्ड आम्र्सट्रङको चेरिस ऐकेडेमीले एसियन माउन्टेन ग्लेसियर रिपोर्ट–२०२३ निकालेकोे छ । यसमा सन् २०१२–१९ सम्म सेटेलाइट डाटाका आधारमा नेपाललगायत एसियाली पहाडी देशको क्रायोस्फेर (हिमच्यादर), स्नोटावर÷स्नोफल, हिमस्टक/माससञ्चिति र यसलाई जलवायु परिवर्तन तथा बढेको तापमानले पारेको प्रभावबारे भएका अध्ययन विवरण समेटिएका छन् ।

एसियामा उच्च पहाडी भूबनोट भई हिउँ पर्ने पाँच पहाडी श्रेणी रहेका छन्, जसमा हिमालय, काराकोरम (के २), हिन्दकुश, पामिर र तिआन्जिन पर्वतशृंखला हुन् । यी पर्वत भुटान, नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र कजाकिस्तान गरी नौ मुलुकमा पर्छन् । यिनै पर्वतीय हिमच्यादरमा बनेका पन्ध्र हजार हिमनदीमा सयौँ वर्षदेखि थुप्रिएको ६ हजार ३४५ गिगाटन हिउसञ्चिति क्रमशः जलप्रवाहमा परिवर्तन हुँदा सञ्चालित हुन पुगेका पाँचवटा भीमकाय नदी प्रणाली (गंगा, ब्रह्मपुत्र, इन्दुस, अर्मदा र सिर्दया) ले एसियाका करोडौँ मानिसलाई खानेपानी, सिँचाइ र जलविद्युत् सेवा दिइरहेछन् ।

यस अध्ययनले टेम्परेचर इन्डेक्स र इनर्जी ब्यालेन्स (आइस सिट ब्यालेन्स) विधिबाट गरेको विश्लेषणमा यी हिमनदीको मास ब्यालेन्स घटेको (नेगेटिभ मास ब्यालेन्स) देखाएको छ । अर्थात् एसियाका यी हिमनदी लगातार नोक्सानीको जोखिममा परेको देखिन्छ । यसले नदी प्रणालीमा पिक फ्लो अर्ली (स्प्रिङ राइज) हुने अर्थात् फागुन–चैतमा पानीप्रवाह बढी हुने समस्या देखाएको छ, जसले गर्दा वर्षा र शरद् ऋतुमा पानीको आयतन घटछ, फलतः समग्र जलचर एवं रिभर इकोलोजी र परम्परागत सिँचाइ पद्धतिमा प्रतिकूल प्रभाव ल्याउँछ । अनि जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज पनि प्रभावित गर्छ ।

नेपालको चांग्री–खुम्बु हिमनदीआसपास भएको अर्को अध्ययनले हिमनदीहरूको ‘एकुमुलेसन जोन’मा ‘आइस मास’ घट्नुको कारण शिखरबाट हुत्तिएर आउने धारिलो–चिसो हावा (काटाबाइटिक विन्ड) ले उत्पन्न गर्ने लोकल कुलिङ इफेक्टले गर्दा हिमपातीय थुप्रो तल्लो (एब्लेसन जोन) क्षेत्रतर्फ सर्नु हो भनेको छ । यो धारिलो बेगवान हावा चुचुरो क्षेत्र र ‘टिबेटन ल्यान्डमास’मा तापमान बढ्दा उत्पन्न हुने गरेको भनिएको छ । किनकि, नेपालको हिमालय क्षेत्र अन्यत्रभन्दा वार्षिक ०.३–०.७ डिग्रीले बढी तातेको छ, (नेचर जिओसाइन्स, २०२३) ।

पहाडी टोपोग्राफी, डाइपोलर मनसुनलगायत धेरै कारण हिउँ सञ्चिति कम हुनुमा जिम्मेवार रहे पनि ‘स्नो अबलेडो’ घट्नु, ब्लेक कार्बन, धुलो र अर्धजलन कोइला÷कार्बनसुट पार्टिकल हिउँभित्र बढ्दा हिम पग्लिने दर (स्नो÷आइस मेल्टिङ) बढ्नुको प्रमुख कारण हो भनी जनाएको छ । नेपालमा रहेका तीन हजार हिमनदीमध्ये मध्यक्षेत्र र पूर्वीभेगमा हिउँको पग्लाइ बढी देखिएको छ, जसले गर्दा यहाँका हिमनदीको लम्बाइ प्रतिवर्ष ४० सेमि घट्दै गएको छ । यस्ता अध्ययनमा उत्तरको हिमालय पग्लिँदा दक्षिणमा ०.३२ मिमि समुद्र सतह बढेको देखिन्छ । यसले गर्दा नेपाललगायत हिमालय मुलुक र टापु मुलुकको सहकार्यमा जलवायु संवाद बढाउनु आवश्यक देखिएको हो । 

सगरमाथा संवादका ऐजेन्डा :  नेपालका प्रधानमन्त्रीबाटै अग्रसरता लिइएको सगरमाथा संवादलाई एउटा ‘मल्टिल्याटरिज्म’ र ‘ग्रिन डिप्लोमेसी’को राम्रो प्रयास मान्नुपर्छ । यो बृहत्तर हिमवत्खण्ड संवाद पनि हो । सगरमाथा संवाद सचिवालयका अनुसार आगामी २–४ जेठ, २०८२ मा काठमाडौंमा हुने यस ‘इभेन्ट’ले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य भन्ने नारा तय गर्दै हाम्रो हिमालय क्षेत्रमा बढिरहेको तापमानले समस्त मानवतामै चिन्ताजन्य अवस्था सिर्जित गरेकाले विश्व समुदायलाई यसको सम्बोधनार्थ ध्यानाकर्षण गराउन चाहेको छ ।

साथै संसारभरकै पर्वतीय ऐजेन्डा, हिमनदी/हिमच्यादर, टापु देश डुबान, मानव विस्थापन, लस एन्ड डेमेज, कम सिँचाइ, खानेपानी अभाव र घट्दो जलभण्डारका समस्यासहित हिमालयको अस्तित्व, पारिस्थितिकीय महत्व, पर्वतीय आर्थिक–समाजिक र सांस्कृतिक सौन्र्दयबोध गराउने जमर्को यसले गर्नेछ । यस फोरमले कार्बनडाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्यास उत्सर्जन नगर्दा पनि हामी जलवायु परिवर्तनबाट पीडित भइरहेको र यसले अर्थतन्त्र र जनजीविकामा ‘लस एन्ड ड्यामेज’ बढाइरहँदा हाम्रो गरिबी बढेर जीवनको गुणस्तरीयतासमेत घट्दै गएकाले नेपाललाई जलवायु न्याय र हरित वित्तीय क्षतिपूरण चाहिएको विषयमा बहसपैरवी गर्नेसमेत ठाउँ दिनेछ ।

तीन दिनसम्म चल्ने यस संवादमा एसियाली पहाडी जलवायुपीडित मुलुक, साना समुद्री देशलगायत पर्यावरणीय अभियन्ता र जलवायु वैज्ञानिक एवं सबै दाता सहभागी रहनेछन् । यसमा पाँच ‘थिम’, बाह्र ‘सेसन’ र तीन ‘प्लेनरी’ रहेका छन् । यसले काठमाडौं घोषणापत्र पनि जारी गर्नेछ । मुख्यतः यस संवादमार्फत नेपाललाई संयुक्त राष्ट्र संघलगायत विश्वमञ्चमा जलवायुपीडित हिमाली–पर्वतीय मुलुकको नेतृत्व गर्ने अवसरसमेत दिन सक्ने गहिरो आशा राखिएको छ । यसर्थ, यो जलवायु परिचर्चामा नेपालको उत्कृष्ट भूमिकाको अपेक्षा गर्दै सगरमाथा संवादलाई शुभकामना दिनु राम्रै हुनेछ । 

(घिमिरे सामाजिक न्याय, जलवायु र वातावरणीय विषयमा कलम चलाउँछन्)