
युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालसहित अडियो–भिडियो सर्भिसबाट चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो आठ महिनामा सवा दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा नेपालमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालू आवबाट सामाजिक सञ्जाल, अडियो भिडियो सर्भिसलगायतबाट नेपाल भित्रिएको रकमको पनि अभिलेख राख्न सुरु गरको हो । राष्ट्र बैंकको पछिल्लो तथ्यांकले साउनदेखि फागुनसम्म दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ यस्तो माध्यमबाट नेपाल भित्रिएको देखिएको छ । नेपालमा पहिलादेखि नै यस्तो माध्यमबाट विदेशी मुद्रा भित्रिने गरेको भए पनि त्यससम्बन्धी छुट्टै अभिलेख नभएका कारण यकिन तथ्यांक हुने गरेको थिएन ।
नेपाल राष्ट्र बैंकका कायममुकायम निर्देशक वीरेन्द्रबहादुर बुढाले अडियो–भिडियोसम्बन्धी सेवाबाट आठ महिनामा दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ विदेशी मुद्रा नेपाल भित्रिएको बताए । ‘त्यसमा अधिकांश युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट आउने रकम रहेको छ,’ उनले भने, ‘यससम्बन्धी तथ्यांकलाई अझै परिष्कृत गर्नुपर्नेछ ।’
तोकिएका विभिन्न मापदण्ड पुगेपछि युट्युब च्यानल, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालका खाता ‘मोनिटाइज’ हुन्छन् । त्यसपछि सम्बन्धित खातामा राखिने अडियो–भिडियोमा देखिने विज्ञापन र त्यसको भ्युजका आधारमा निश्चित रकम आम्दानी हुन्छ । यसैगरी फेसबुक, टिकटकमा एक प्रयोगकर्ताले अर्काे प्रयोगकर्तालाई दिइने गिफ्ट तथा स्टारका आधारमा पैसा पनि आउँछ । युट्युबजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले विज्ञापन परिचालन गरिरहेका हुन्छन् । त्यो विज्ञापन परिचालन गरिदिएबापत खातावाला उनीहरूले निश्चित रकम दिन्छन् । त्यसरी कमाइने पैसा बैंकिङ च्यानलमार्फत भित्रिन्छ । हरेक महिना यसबापतको रकम खातावालाको बैंक खातामा आउँछ ।
पछिल्लो समय नेपालमा विभिन्न प्रकृतिका भिडियो कन्टेन्ट राख्ने प्रवृत्ति बढ्दै गएको छ । फिल्म, म्युजिक भिडियो, भिडियो अन्तर्वार्ता, समाचारलगायतका कन्टेन्ट पनि युट्युबमा राखिन्छ । त्यसमा एडसेन्समार्फत भिडियोमा देखिएको विज्ञापनले आम्दानी गर्न सकिन्छ । यसैगरी टिकटक, फेसबुकमा ‘लाइभ’ बस्ने प्रयोगकर्ता पनि बढ्दै छन् । त्यसरी बसिने लाइभमा अरू प्रयोगकर्ताले गिफ्ट तथा स्टार दिन सक्छन्, त्यसबाट लाइभ बस्ने प्रयोगकर्ताले पैसा कमाउन सक्छ । यस्तो अभ्यास नेपालमा पनि बढ्दै गएको छ । कैयौँ प्रयोगकर्ताले यसमार्फत आम्दानी गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । ‘कुनै पनि माध्यमबाट आम्दानी गरिने विदेशी मुद्रा बैंकिङ च्यानलबाट भित्रिन्छ भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यसलाई अन्यथा लिनुहुन्न । यसले सम्बन्धित व्यक्तिको आर्थिकस्थिति पनि बलियो हुन्छ,’ उनले भने, ‘तर, यसलाई प्राथमिकतामा भने राख्नुहुन्न । सबै मानिस ल्यापटप र मोबाइल लिएर त्यसबाटै पैसा कमाउन थाले भने गर्नुपर्ने काम कसले गर्ने ? पहिलो कुरा हामी उत्पादन प्रणालीमै जोडिनुपर्छ । तसर्थ, सामाजिक सञ्जालबाट हुने आम्दानीलाई प्राथमिकतामा भने राख्नुहुँदैन । यसलाई यथास्थितिमा खुला छाड्नुपर्छ । सरकारले मानिसलाई उत्पादन प्रणालीमै जोडिन प्रोत्साहन गर्नुपर्छ । निर्यात, पर्यटन, विदेशी लगानीलगायतका माध्यमबाटै विदेशी मुद्रा भित्र्याउन जोड दिनुपर्छ ।’
तर, डलर कमाउने नाममा विकृति पनि
राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा सामाजिक सञ्जालबाट गरिने आम्दानी बढ्दै गएको छ । यस्तो रकम नेपालमा डलरमै भित्रिन्छ । प्रयोगकर्ताले त्यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गरेर आफ्नो बैंक खातामा जम्मा गर्छन् । तर, पैसा कमाउने नाममा सामाजिक सञ्जाल विकृति पनि देखिने गरेका छन् । भ्युजका लागि तथ्य तोडमोड गरेर कन्टेन्ट बनाउने, अस्वाभाविक कन्टेन्ट प्रकाशित गर्ने, मासिनको व्यक्तिगत गोपनीयतासम्बन्धी विवरण सार्वजनिक गर्नेलगायतका प्रवृत्ति पनि मौलाइरहेका छन् । त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
अहिले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । त्यसमार्फत पनि सामाजिक सञ्जालमा हुने यस्ता गलत प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले बताए । यस्ता गलत प्रवृत्तिलाई साइबर ब्युरोमार्फत नियन्त्रण गर्ने गरेको उनले जानकारी दिए । ‘अश्लीललगायतका कतिपय कन्टेन्ट युट्युबलगायतका सामाजिक सञ्जाल आफैँले पनि ब्लक गर्छ । कसैले गुनासो गरेको अवस्थामा नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कारबाही अघि बढाइन्छ । त्यसरी आउने उजुरीमा हामीले साइबर ब्युरोमार्फत आवश्यक कारबाही गर्दै आएका छौँ,’ उनले भने, ‘तर, कतिपय अवस्थामा नेपालभन्दा बाहिरको लोकेसनमा बसेर पनि सामाजिक सञ्जालमा कन्टेन्ट राखिएको पाइन्छ । त्यसलाई नियन्त्रण गर्न भने हामीलाई गाह्रो भइरहेको अवस्था छ ।’
मासिक ३५ करोड रुपैयाँसम्म आम्दानी
सामाजिक सञ्जालबाट महिनामा ३५ करोड रुपैयाँसम्म नेपाल भित्रिएको देखिन्छ । यो वर्ष पुस महिनामा ३४ करोड ९८ लाख भित्रिएको छ । जुन अन्य महिनाको तुलनामा बढी हो । समीक्षा वर्षमा साउनमा २३ करोड आठ लाख रुपैयाँ, भदौमा २६ करोड ८९ लाख रुपैयाँ, असोजमा २७ करोड १८ लाख रुपैयाँ, कात्तिकमा २६ करोड १५ लाख रुपैयाँ र मंसिरमा ३० करोड ८० लाख रुपैयाँ रकम नेपाल भित्रिएको छ । यसैगरी, माघमा २९ करोड १९ लाख रुपैयाँ र फागुनमा २५ करोड ४७ लाख रुपैयाँ रकम यसमार्फत भित्रिएको तथ्यांकमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका कामु निर्देशकवीरेन्द्रबहादुर बुढा भन्छन्–अडियो–भिडियोसम्बन्धी सेवाबाट आठ महिनामा सवा दुई अर्ब रुपैैयाँ विदेशी मुद्रा भित्रिएको छ । त्यसमा अधिकांश युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट आउने रकम रहेको छ, यससम्बन्धी तथ्यांकलाई अझै परिष्कृत गर्नुपर्नेछ ।
नेपाल प्रहरीका प्रवक्तादिनेशकुमार आचार्य भन्छन्–डलर कमाउने लोभमा कतिपयले अपलोड गर्ने अश्लील कन्टेन्ट युट्युबलगायतका सामाजिक सञ्जाल आफैँले पनि ब्लक गर्छ । कसैले गुनासो गरेको अवस्थामा नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कारबाही अघि बढाइन्छ । त्यसरी आउने उजुरीमा हामीले साइबर ब्युरोमार्फत आवश्यक कारबाही गर्दै आएका छौँ ।