
राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार भएको दुई सातापछि भारतको आसाम राज्यमा भेटिएका छन् । भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ । प्रसाईले आफैँ भारतीय प्रहरीको सम्पर्कमा पुगी आफूलाई नेपाल पठाइदिन आग्रह गरेको राजसंस्था पुनस्थार्पनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरेको उल्लेख गरेका छन् ।
नेपाल प्रहरीले भने प्रसाईंको विषयमा अनविज्ञता प्रकट गरेको छ । केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले बिहीबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रसाईं पक्राउ परेको समाचार भ्रामक भएको भनेर खण्डन गरेका छन् । एक उच्च प्रहरी अधिकारी भने भारतीय सुरक्षा निकायसँग समन्वय गरी प्रसाईंलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
नेपाल नल्याउँदासम्म कानुनी रूपमा पक्राउ भन्न नमिल्ने भएकाले पनि प्रहरीले पक्राउको विषयलाई खण्डन गरेको हो । ‘पक्राउ परेको नभनौँ, उनी ट्र्याक भएका छन्, भारतीय अधिकारीसँग समन्वय गरी नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ती प्रहरी अधिकारीले बताए । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनलाई उनै प्रसाईंले हिंसात्मक बनाएको प्रहरीको निष्कर्ष छ । सोही दिन बेलुकादेखि उनी फरार भएका थिए । आन्दोलनको कमान्डर उनै प्रसाईं थिए । आन्दोलनमा दुईजनाले ज्यान गुमाएका थिए ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । राज्यविरुद्धको कसुर तथा संगठित अपराधको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । प्रसाईंविरुद्ध यसअघि पनि दुईपटक प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ । साइबर अपराध आपराधिक लाभ मुद्दामा यसअघि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।