१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रामबहादुर बम्जनलाई जिल्ला अदालतमा उपस्थित गराउँदै सर्लाही प्रहरी । तस्बिर : श्रवण थापा/नयाँ पत्रिका
श्रवण थापा सर्लाही
२०८० पौष २६ बिहीबार १२:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही जिल्ला अदालतमा बम्जनको बयान सुरु, दिउँसो थुनछेक बहस

बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकमाथि जबरजस्ती करणी तथा बाल यौन शोषणको मुद्दा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० पौष २६ बिहीबार १२:५६:००

मंगलबार राति काठमाडौंमा पक्राउ गरिएका रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरु भएको छ ।

बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो । 

अहिले जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा बयान चलिरहेको छ । आजै दिउँसो थुनछेक बहस हुने जिल्ला अदालत सर्लाहीले जनाएको छ । 

बहसपछि उनलाई कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउनेछ । 

मंगलबार साँझ काठमाडाैंको बुढानीलकण्ठ नगरपालिका- ६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो । 

बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

आफ्नै बाल अनुयायीमाथि यौनशोषण गरेको आरोपमा २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडितहरूले जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान सम्पन्न गरेर १८ असार ०७७ मा जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल दर्ता गरेको थियो ।

२० साउन ०७३ को राति ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जबर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर, धाक, धम्की देखाइएको दायर गरिएको मुद्दामा उल्लेख छ । 

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बम्जनले सर्लाहीको लालबन्दी नगरपालिका–१२ स्थित आश्रममा रहेको वेला नाबालिका अनुयायीहरूमाथि यौनशोषण गरेको आरोप छ । बाराको निजगढ नगरपालिका– १२ घर भएका रामबहादुर बम्जन भनिने रामलाल बम्जनविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीले १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मिसिल सरकारी वकिलको कार्यालयमा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।