Skip This
दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर कमजोर : विश्व बैंक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २६ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २६ बिहीबार o६:२o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर कमजोर : विश्व बैंक

नेपालको आर्थिक वृद्धिदर विश्वको औसतभन्दा बढी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २६ बिहीबार o६:२o:oo

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर विश्वको औसतभन्दा बढी तथा दक्षिण एसियामा औसतभन्दा निकै कम हुने देखिएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालले चालू आवमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ । जब कि यस वर्ष विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । 

विश्व बैंकका अनुसार विगतमा आयातमा गरिएको नियन्त्रण र कसिलो मौद्रिक नीतिको प्रभाव अहिले पनि देखिएको छ । यद्यपि, यसमा गरिएको सुधारले आर्थिक वृद्धिदरमा समेत केही सुधार देखिएको हो । विश्व बैंकले गत आवमा नेपालले १.९ प्रतिशतको वृद्धिदर हासिल गरेको अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण छ । 

मूल्यृवृद्धि तथा कर्जा प्रवाह नियन्त्रणका लागि लिइएको कसिलो मौद्रिक नीति तथा लगानी एवं व्यापारमा देखिएको शिथिलताले यस वर्ष पनि विश्वको आर्थिक वृद्धिदर खुम्चने विश्व बैंकको विश्लेषण छ । विगत तीन आर्थिक वर्षयता विश्वको आर्थिक वृद्धिदर निरन्तर ओरालो लागिरहेको छ । विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा २.६ प्रतिशत र २०२२ मा ३ प्रतिशत रहेको थियो । दक्षिण एसियाको वृद्धिदर पनि तीन वर्षयता निरन्तर घटिरहेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२३मा ५.७ प्रतिशत र सन् २०२२ मा ५.९ प्रतिशत रहेको थियो । 

 दक्षिण एसियामा भारत र बंगलादेश अघि 
दक्षिण एसियामा यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धिदर भारतमा हुने विश्व बैंकको अनुमान छ । भारतमा यस वर्ष ६.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । गत आवमा भारतले ६.३ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो । आगामी वर्ष पनि भारतको आर्थिक वृद्धिदर बढेर ६.५ प्रतिशत पुग्ने प्रक्षेपण छ । भारतपछि सबैभन्दा बढी बंगलादेशमा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । गत वर्ष बंगलादेशमा ६ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो । आगामी वर्षमा भने ५.६ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । 

दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धि पाकिस्तान र श्रीलंकामा समान १.७ प्रतिशतको दरमा हुने अनुमान गरिएको छ । गत आवमा श्रीलंकाको आर्थिक वृद्धिदर ३.८ प्रतिशतले ऋणात्मक रहेको थियो । आगामी आवमा भने श्रीलंकाको वृद्धिदर २.४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, गएको आवमा पाकिस्तानको वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । आगामी आवमा पाकिस्तानको वृद्धिदर २.४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । यस वर्ष भुटानले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । अघिल्लो आवमा भने भुटानले ४.६ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।