१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लुम्बिनीमा झन्डै ८० प्रतिशत स्वास्थ्य बिमाको पहुँचबाहिर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५४:oo

स्वास्थ्य बिमा लागू भएका लुम्बिनीका अस्पतालमा सेवाग्राहीको भिड बढ्दो, तर व्यवस्थापनमा चुनौती

स्वास्थ्य बिमा लागू भएका लुम्बिनीका अस्पतालहरूमा सेवाग्राहीको भिड बढ्दो रहे पनि व्यवस्थापनमा चुनौती थपिँदा सेवा सहज बन्न सकेको छैन । प्रदेशका स्वास्थ्यमन्त्रीदेखि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसम्मले बिमाका कारण सरकारी अस्पतालहरूमा सेवाग्राही बढ्दो रहे पनि सेवा सहज बनाउन चुनौती रहेको बताएका छन् । 

बुधबार बुटवलमा स्वास्थ्य बिमा बोर्डले गरेको कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले बिमाका कारण बिमा कार्यक्रम लागू भएका अस्पतालहरूमा आकर्षण बढ्दो रहे पनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, आर्थिक स्रोतको अभावले नि:शुल्क वितरण हुने औषधि पनि पर्याप्त मात्रामा दिन सकिने अवस्था नरहेको बताए । बिमा गरेकाले सहज सेवा लिन नीतिगत सुधारदेखि अन्य सुधारको खाँचो रहेको उनले औँल्याए । उनले बिमा गरेको तीन महिनापछि मात्रै बिमाको सेवा लिन पाउने व्यवस्थालाई हटाएर बिमा गरेकै दिनदेखि सेवा लागू हुनुगर्ने प्रावधान राख्न सुझाव दिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुदर्शन थापाले अस्पतालमा बिमा कार्यक्रम लागू भएपछि सेवाग्राही ह्वात्तै बढेको, ओपिडी, ल्याब तथा फार्मेसी व्यवस्थापनमा चुनौती थपिएको बताए । स्वास्थ्य समाज निर्माण गर्न बिमा कार्यक्रमले ठूलो योगदान गरेको भन्दै कार्यक्रमपछि अस्पतालमा देखिएका चुनौती व्यवस्थित गर्दै अगाडि बढेमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै मद्दत मिल्ने उनको भनाइ थियो । प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले बिमालाई सफल बनाउन प्रदेश सरकार लागिपर्ने बताए । 

बिमालाई माया गरौँ : अध्यक्ष लोहनी
स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बिमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बिमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए । बिमालाई माया गर्नुपर्ने र सकारात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बिमा क्षेत्रमा समस्या भए अप्ठ्याराे फुकाउँदै अघि बढ्न सकिने बताए । उनले अस्पतालहरूले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ कि छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए ।

बिमा बाेर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समीक्षा गरिने र समीक्षापछि आएकाे निचोडका आधारमा अगाडि बढिने धारणा राखे । उनले बिमाको सीमा बढाउनेबारे अध्ययन भइरहेको बताए । 

बिमा बोर्डको कार्यक्रममा स्थानीय सरकारको बेवास्ता
बिमा बोर्डले लुम्बिनी प्रदेशमा बिमा कार्यक्रमको अवस्थाबारे बुधबार गरेको कार्यक्रममा प्रदेश सरकारका अतिरिक्त स्थानीय तहका सरकार प्रमुखहरूलाई पनि खबर गरेको थियो । तर,  कुनै पनि  पालिकाका प्रमुख तथा उपप्रमुख सहभागी भएनन् । 

कुनै–कुनै पालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी तथा कर्मचारी मात्रै कार्यक्रममा सहभागी भए । बिमा बाेर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले स्थानीय सरकारका जनप्रतिनिधि कार्यक्रममा उपस्थित भएर अपनत्व लिनुपर्नेमा त्यस्तो नभएको गुनासो गरे । तीनै तहका सरकारको साझा कार्यक्रम रहेकाले सबैले अपनत्व लिनुपर्नेमा उनले जोड दिए । 

लुम्बिनीमा झन्डै ८० प्रतिशत स्वास्थ्य बिमाको पहुँचबाहिर
लुम्बिनी प्रदेशमा अझै पनि झन्डै ८० प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँचबाहिर रहेको पाइएको छ । प्रदेशमा स्वास्थ्य बिमाको कार्यक्रम सुरुमा पाल्पाबाट लागू भएको थियो । पाल्पामा लागू भएको सात वर्ष भएको छ । हाल सबै जिल्लामा लागू छ । हालसम्म लुम्बिनीमा जम्मा २१.३३ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बिमाको पहुँचमा पुगेको छ । 

प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । बिमितहरूमध्ये पाँच लाख २४ हजार सात सय ७० पुरुष, पाँच लाख ६७ हजार सात सय ८७ महिला, अन्य एक सय १७ जना समावेश छन् । 

स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले प्रदेशमा सबैभन्दा पहिला यस कार्यक्रम २०७३ सालमा पाल्पाबाट सुरु भएको र ०७७ फागुनसम्म आइपुग्दा सबै जिल्लामा लागू भएको बताए ।  

स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि पाल्पामा दुई लाख ३६ हजार सात सय १७ र रूपन्देहीमा एक लाख ६१ हजार पाँच सय ८१, बर्दियामा एक लाख २८ हजार नाै सय ९६, गुल्मीमा एक लाख ७ हजार तीन सय १२, कपिलवस्तुमा एक लाख चार हजार ४८, अर्घाखाँचीमा ८२ हजार एक सय १६, बाँकेमा ७१ हजार दुई सय ५, प्युठानमा ६३ हजार आठ सय ८६, दाङमा ४५ हजार तीन, नवलपरासी पश्चिममा ४४ हजार एक सय ६८ रोल्पामा ३८ हजार नाै सय ३९ र सबैभन्दा कम रुकुम पूर्वमा आठ हजार ७ सय दुईजना बिमित भएका छन् ।

ad
ad