१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सन् २०२३ को अन्तर्राष्ट्रिय खेलकुद

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

फुटबल, क्रिकेट, टेनिस, बक्सिङसँगै गल्फलगायतले सन् २०२३ मा प्रमुख स्थान बनाए । फुटबल महिला विश्वकपमा स्पेन पहिलोपटक विश्वविजेता बन्यो । निर्धारित समयभन्दा एक वर्षपछि चीनले एसियाड आयोजना गर्‍यो । हाङझाउ एसियाडलाई अहिलेसम्मकै उत्कृष्ट आयोजनाका रूपमा हेरिएको छ । पुरुष टेनिसमा सर्बियाली खेलाडी नोभाक जोकोभिचले एकछत्र राज गरे । उनले अस्ट्रेलियन, फ्रेन्च तथा युएस ओपन जित्दै ग्रान्डस्लाम संख्या २४ पुर्‍याए । एजेन्सीको सहयोगमा सन् २०२३ मा भएका प्रमुख खेल यस्ता छन् । 

विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दबदबा
भारतले एकदिवसीय विश्वकप आयोजना गर्‍यो । राउन्ड रोबिन लिगदेखि सेमिफाइनलसम्म भारतले उत्कृष्ट जित निकाल्यो । विश्वकपमा भारतलाई उपाधिको दाबेदार टोलीका रूपमा हेरिएको थियो । अस्ट्रेलियाले भने लगातार दुई हारबाट विश्वकपको यात्रा सुरु गर्‍यो । पहिलो दुई खेलसम्म अस्ट्रेलियाले विश्वकपमाथि दाबेदारी प्रस्तुत गरेको थिएन । त्यसपछि अस्ट्रेलिया यसरी अगाडि बढ्यो, कीर्तिमानी रूपमा छैटौँपटक उपाधिसमेत जित्यो । फाइनलमा अस्ट्रेलियाले एकपक्षीय खेलमा भारतमाथि ६ विकेटको सानदार जित निकाल्यो ।

 सो विश्वकपमा अलराउन्डर ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्धको दोहोरो शतकीय इनिङ्स चामत्कारिक थियो । हारको मुखमा पुगेको अस्ट्रेलियालाई म्याक्सवेल एक्लैले जिततर्फ उन्मुख गराए । अफगानिस्तानले पूर्वविश्वकप विजेता पाकिस्तान, इंग्ल्यान्ड तथा श्रीलंकालाई हरायो । यसपटक पनि दक्षिण अफ्रिका सेमिफाइनलबाटै बाहिरियो । पाकिस्तान, इंग्ल्यान्ड र  श्रीलंका सेमिफाइनल स्थान बनाउन सकेनन् । एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले सबैलाई आश्चर्यमा राखेको थियो । एकदिवसीय विश्वकपमै भारतका पूर्वकप्तान विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको ४९औँ शतकको कीर्तिमान तोडेका थिए । भारतले एसिया कपको फाइनलमा श्रीलंकालाई सहजै हराएको थियो । 

विम्बल्डनमा कार्लोसको सान
टेनिस स्पर्धामा सबैभन्दा प्रतिष्ठित प्रतियोतिगा विम्बल्डन हो । वर्षभर आयोजना हुने चार ग्रान्डस्लाममध्ये विम्बल्डन उपाधि हात पार्न सबै खेलाडी आतुर हुन्छन् । गत वर्ष स्पेनिस युवा खेलाडी कार्लोस अल्काराज र सर्बियाली नम्बर एक खेलाडी नोभाक जोकोभिचबीच उपाधि भिडन्त भएको थियो । नोभाक कीर्तिमानी रूपमा विम्बल्डन उपाधि जित्ने तयारीमा थिए । तर, फाइनलमा कार्लोसको उत्कृष्ट खेलसँग जोकोभिचको केही सीप चलेन । 

यद्यपि, एटिपी टेनिसमा कार्लोसको प्रदर्शन सधैँ सानदार हुने गर्छन् । तर, उनलाई विश्व टेनिसमा चिनाउने काम विम्बल्डनको फाइनलले गरेको थियो । उपाधि भिडन्तमा जोकोभिचमाथि सानदार जित निकाल्न उनी सफल भए । यससँगै कार्लोस युवा खेलाडीकै नम्बर १ बने । लगातार चारपटकको विजेता जोकोभिच १–६, ७–६, ६–१, ३–६ र ६–४ ले पराजित भए । 

गत वर्ष जोकोभिच युएस ओपन, अस्ट्रेलियन ओपन तथा फ्रेन्च ओपनको समेत फाइनलमा पुगेका थिए । यी तीनवटै ग्रान्डस्लामको फाइनलमा उनले विपक्षीमाथि एकपक्षीय जित निकाले । तर, विम्बल्डन उपाधि भिडन्तको हारले उनलाई ठूलै पीडा दिएको थियो ।  गत वर्ष नै जोकोभिचले टेनिस इतिहासमा सर्वाधिक ३४ ग्रान्डस्लाम जित्ने रेकर्ड बनाए । महिलातर्फ चारैवटा ग्रान्डस्लाममा फरक विजेता बने । युएस ओपनको फाइनलमा कोका गाफ विजयी भइन् ।

हाङझाउमा आयोजक चीनको सान
गत वर्षको सेप्टेम्बरमा चीनको हाङझाउ सहरमा १९औँ एसियाली खेलकुद प्रतियोगिता आयोजना भएको थियो । चीनले १३ वर्षको अन्तरमा दोस्रोपटक एसियन खेलकुद आयोजना गरेको थियो । यसपटक चीनले एसियाडलाई भव्य बनाउन केही बाँकी राखेन । चीनले खेलाडीदेखि पाहुनालाई विश्वस्तरीय रंगशालादेखि प्रविधि देखाएर मोहित बनाएको थियो ।

प्रतियोगिता आयोजना गर्न चीनले सबै क्षेत्रमा उत्तिकै विकास गरेको थियो । आयोजक चीनले हाङझाउलाई हरियाली एसियाड नाम दिएको थियो । एसियाडको इतिहासमै चीनले पहिलोपटक स्वर्ण संख्यामा दुई सय कटाएको थियो । चीनले सर्वाधिक दुई सय एक स्वर्ण जित्यो । आयोजकले एक सय ११ रजत तथा ७१ कांस्य जित्यो । जापानले अहिलेसम्म कमजोर प्रदर्शन गरी ५२ स्वर्ण, ६७ रजत तथा ६९ कांस्य जिती दोस्रो स्थान रक्षा गर्‍यो । चीन र जापानलाई पछ्याइरहेको दक्षिण कोरिया तेस्रो भयो । दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्य हात पार्‍यो । इतिहासमै पहिलोपटक भारतले एसियाडमा उत्कृष्ट प्रदर्शन गरेको थियो । भारत पहिलोपटक शीर्ष चारभित्र रह्यो । भारतले २८ स्वर्ण, ३८ रजत तथा ४१ कांस्य हात पार्‍यो । 

उद्घाटन दिनमा चीनले डिजिटल लाइट प्रयोग गरी एसियाडको दीप प्रज्वलित गरेको थियो । चीनले प्रतियोगिता सफल बनाउन १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरेको थियो । प्रतियोगितामा ४५ राष्ट्रका १२ हजार खेलाडीले लगातार १६ दिनसम्म प्रतिस्पर्धा गरेका थिए । चीनले सन् १९९० मा बेइजिङ र सन् २०१० मा ग्वाङझाउमा एसियाड गरेको थियो । 

मेसी र रोनाल्डोले युरोप छाडे
विश्वकप च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल करिअर छाडे । दुवैले पहिलोपटक युरोपियन भूमि त्याग्दै फरक महादेशमा आफ्नो  करिअरको सुरुवात गरे । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग राम्रो सम्बन्ध बनाउन नसक्दा विश्वलाई आश्चर्य बनाउँदै रोनाल्डो साउदी अरेबियाको प्रो लिगमा आबद्ध भए ।

उनी अल नासेरमा कीर्तिमानी रकममा अनुबन्धित भए । गत वर्षको जनवरीमा उनले अल नासेरबाट डेब्यु गरे । पाँचपटकको बालोन डि’अर विजेता रोनाल्डोले आफू फुटबलको प्रोमोसन गर्न एसिया आएको बताएका छन् । गत वर्ष फुटबलको हटकेक नै साउदी अरेबियाको प्रो लिग रह्यो । रोनाल्डोको आगमनसँगै यहाँ विश्व फुटबलकै स्टार खेलाडी क्रमिक रूपमा आए । प्रो लिग रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जमा, ब्राजिलियन नेमार जुनियर र साडिओ मानेजस्ता खेलाडीलाई लोभ्याउन सफल भयो ।

अर्कोतिर तीन दशकपछि अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता तोडी इंग्लिसम्यान डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीसँग सम्बन्ध गाँसे । डेढ दशकको युरोपियन लिगबाट बिदा भएका मेसीको आगमनसँगै अमेरिकामा फुटबलको क्रेज ह्वात्तै बढ्यो । इन्टर मियामीले मेसीको कप्तानीमा ऐतिहासिक रूपमा उपाधिसमेत हात पार्‍यो । मेजर सकर लिगमा मेसीको जादुमयी खेल हेर्न रंगशाला भरिन्छ । गत वर्ष उनले कीर्तिमानी रूपमा आठौँपटक बालोन डि’अर उपािध जिते ।

महिला विश्वकप फुटबलमा स्पेनको उदय
न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना गरेका थिए । जापान, स्विडेन, जर्मनी र अमेरिकालाई प्रमुख उपाधि दाबेदार मानिएको थियो । अझ लगातारको विजेता अमेरिका उपाधि जित्ने लिस्टको शीर्ष स्थानमा  थियो । यी चारमध्ये एक राष्ट्रले पनि विश्वकप ट्रफी उचाल्न सकेन ।

फिफा महिला विश्वकपले नयाँ विजेताका रूपमा स्पेनलाई पायो । अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकाली पहिलोपटक उपाधि उचाल्यो । आयोजक अस्ट्रेलियालाई २–० ले हराउँदै स्विडेनले तेस्रो स्थान रक्षा गर्‍यो । स्पेनले पहिलोपटक उपाधि जित्दाको क्षणभन्दा स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुविलेसले मिडफिल्डर जेनी हर्मोसोलाई सार्वजनिक रूपमा गरेको चुम्बनले चर्चा खुबै पायो ।

खेलाडीलाई ट्रफी र मेडल वितरणमा लुइसले खेलाडी जेनीमाथि चुम्बन गरेका थिए । सुरुमा यस घटनालाई सामान्य रूपमा लिइएको थियो । तर, सार्वजनिक रूपमा अनुमतिविना चुम्बन लिन नपाउने भनी महिला मानव अधिकारकर्मीले चर्को विरोध गरेका थिए । यस घटनाको एक दिनपछि संघका अध्यक्ष लुइसले सार्वजनिक रूपमै माफी मागे । उनलाई फिफा र युरोपियन फुटबलले समेत कारबाही गर्‍यो । तत्कालै लुइसले पदबाट राजीनामा दिए । 
(एजेन्सीको सहयोगमा)
 

ad
ad