काठमाडौं महानगरपालिका–२३ ले ३० जना सामुदायिक उद्धारकर्ता स्वयंसेवक तयार गरेको छ । वडा नम्बर ३० ले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकालगायतलाई उद्धारसम्बन्धी तालिम दिएर स्वयंसेवक उद्धारकर्ताका रूपमा तयार पारेको हो ।
वडा नम्बर ३० का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले विपत् जोखिम क्षति न्यूनीकरणसम्बन्धी दुईदिने तालिमका अवसरमा यस विषयमा जानकारी दिएका हुन् । ‘हामीले झोँछे र ओमबहाल गरी दुईवटा टोल विकास संस्था गठन गरेका छौँ । एउटा संस्थाबाट १५ जनालाई सहभागी गराएर ३० जना उद्धार स्वयंसेवक बनाएका छौँ । उनीहरूले आपत्विपत् परेका वेला खोज, उद्धार, सहजीकरण र समन्वयनका लागि स्वयंसेवकले काम गर्नेछन्,’ महर्जनले भने, ‘वडाभित्र करिब सात सय ५५ घरधुरी छन् । यीमध्ये अधिकांश घर पुराना छन् । साँघुरा सडक, साँघुरा गल्ली वडाको अवस्थिति हो ।
सामान्य समयमा व्यवस्थापन राम्रो छ । विपत्का समयमा यस्तो अवस्थितिमा काम गर्न चुनौतीपूर्ण हुन सक्छ । यसकारण अवस्थितिअनुसारको क्षति व्यवस्थापन पूर्वतयारीमा लागेका छौँ ।’ काठमाडौं मुख्य गरी पाँचवटा विपत् (भूकम्प, बाढी, आगलागी, सडक दुर्घटना र महामारी)बाट सधैँ जोखिमपूर्ण मानिन्छ । तालिम शुक्रबार र शनिबार सञ्चालन भएको थियो ।