१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुन तस्करीमा मुछिएका पोद्दार हुन्डी र क्रिप्टो कारोबारमा संलग्न, एकै समूहद्वारा दुई खर्बको क्रिप्टो र दुई अर्बको हुन्डी कारोबार

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२७:oo

३८ क्विन्टल सुन तस्करीमा मुछिएका भारतीय व्यापारी विमल पोद्दारले हुन्डी र क्रिप्टो कारोबारको ठूलो सञ्जाल चलाएको प्रहरीले पत्ता लगाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पोद्दारको समूहमाथि अनुसन्धान गर्दा अवैध खर्बौँको कारोबार गरेको खुलेको छ । 

गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रुपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा सो गिरोहका नाइकेमध्ये एक पोद्दार भएको पुष्टि भएको छ । सिआइबीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउपुर्जी लिइसकेको छ । श्रेष्ठ पक्राउ परेलगत्तै पोद्दार भागेका थिए । काठमाडौंको डिल्लीबजारमा एड्रेस लाउन्ज नामक रेस्टुरेन्ट चलाउँदै आएका पोद्दार पहिलेदेखि ठूला किसिमको आर्थिक अपराधमा मुछिँदै आएका व्यक्ति हुन् । 

किरण बज्राचार्य निर्देशक, सिआइबी
यो समूहले ठूलो मात्रामा हुन्डी र क्रिप्टोको कारोबार गरेको भेटिएको छ । केही व्यक्ति फरार छन्, क्रिप्टोको विषयमा विभिन्न पक्षसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौँ ।

सिआइबीले श्रेष्ठसहित सो गिरोहका मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको सिआइबीकी निर्देशक किरण बज्राचार्यले बताइन् । ‘यो समूहले ठूलो मात्रामा हुन्डी र क्रिप्टोको कारोबार गरेको भेटिएको छ,’ उनले भनिन्, ‘केही व्यक्ति फरार छन्, क्रिप्टोको विषयमा विभिन्न पक्षसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौँ ।’ हालसम्मको अनुसन्धानमा दुई अर्ब रुपैयाँबराबरको हुन्डी तथा दुई खर्ब रुपैयाँबराबरको क्रिप्टो कारोबार गरेको पुष्टि भइसकेको प्रहरी स्रोत बताउँछ । गिरोहमा संलग्न थप व्यक्तिहरूको पहिचान भइसकेको, तर उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । 

गिरोहका नाइकेमध्ये एक श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । बागबजारस्थित उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ । हुन्डीको कारोबार उनले क्रिप्टोमार्फत मिलाउँदै आएका थिए । 

भारत र दुबईमा हुन्डीको कारोबारमा पोद्दारको प्रमुख संलग्नता देखिएको प्रहरी स्रोत बताउँछ । श्रेष्ठसँगै पक्राउ परेका प्रभात अग्रवाल नियमितजसो पोद्दारको रेस्टुरेन्टमा बसेर यससम्बन्धी अवैध कारोबार गर्दथे । प्राविधिक अनुसन्धानमा समय लाग्ने भएकाले ढिला मात्र उनीहरूको मोबाइलको डिजिटल जाँचको रिपोर्ट आएको र श्रेष्ठ पक्राउ परेलगत्तै पोद्दार छोरासहित भागेको सिआइबी स्रोत बताउँछ । 

‘गोरे’ समूहसँग मिलेर सुन तस्करी 
लामो समयदेखि नेपालमा बस्दै आएका पोद्दार यसअघि चुडामणि उप्रेती ‘गोरे’ समूहसँग मिलेर सुन तस्करी गरेको आरोपमा ०७५ मा पक्राउ परेका थिए । सो गिरोहमा सुनमा लगानी गर्नेमध्ये उनी प्रमुख व्यक्ति भएको खुलेको थियो । तत्कालीन सुन अनुसन्धान विशेष समितिले उनलाई पक्राउ गरेकोमा सुन र हुन्डीको कारोबार गरेको स्वीकार गरेका थिए । जिल्ला अदालत मोरङले उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पछि उच्च अदालतबाट छुटे । तस्करीको सुन बरामद हुन नसकेको भन्दै अदालतले सुन तस्करीको मुद्दामा सबैलाई सफाइ दिएको थियो । जुन मुद्दा उच्च अदालत विराटनगरमा विचाराधीन छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि उनको सम्पत्तिमाथि छानबिन गरेको थियो । तर, पहुँचका आधारमा उनलाई जोगाइएको स्रोत बताउँछ । ‘अहिले पनि हुन्डीलगायत अवैध धन्दामा उनको संलग्नता निरन्तर देखिन्छ,’ सिआइबीका एक अधिकारी भन्छन्, ‘सुन तस्करीको घटनामा पनि संलग्नताका केही संकेत भेटिएको छ ।’ 

गत २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन तस्करीमा पक्राउ परेका चन्द्र घले र मीनकुमार घलेको समेत पोद्दारसँग निकटता छ । विगतमा पोद्दारसँगै मिलेर आफूहरूले सुन तस्करी गरेको घलेले सोधपुछमा बताएका छन् । तर, पछिल्लो तस्करीमा भने उनको प्रत्यक्ष संलग्नता देखिएको छैन । घले समूहले १० वर्षदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानमा आबद्ध भन्सार तथा प्रहरी अधिकारीहरू बताउँछन् । जसमा संलग्न दनबहादुर(डिबी) गुरुङ तथा जीवनकुमार गुरुङ (जोन)को पनि पोद्दारसँग सम्पर्क देखिएको छ । पोद्दार पक्राउ पर्न सकेमा हुन्डीमा संलग्न देशको प्रमुख गिरोह नै कारबाहीमा पर्ने प्रहरी अधिकारीहरू बताउँछन् । सुन तस्करीको पैसासमेत उनीहरूले हुन्डी र क्रिप्टोमार्फत विदेशमा लेनदेन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

ad
ad